
काठमाडौं : मानवीय सेवामा क्रियाशील लायन्स अन्तर्राष्ट्रियले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि एक करोडभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख ११ हजार १ सय ११ जम्मा गरेको संस्थाका मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर बहादुर भण्डारीले जानकारी दिए।
लायन्स अन्तर्राष्ट्रियले बाढीपीडितका लागि तत्काल राहत कार्यसमेत सुरु गरिसकेको जनाएको छ। प्रभावित क्षेत्रमा स्थानीय संयन्त्रसँग समन्वय गर्दै खाना वितरण, उद्धार, अस्थायी आवासका लागि त्रिपाल तथा लत्ताकपडाको व्यवस्थापन भइरहेको संस्थाले जनाएको छ।
यसका साथै, लायन्स अन्तर्राष्ट्रियले राहत तथा पुनर्निर्माणका लागि २ लाख अमेरिकी डलर पनि स्वीकृत गरिसकेको छ। आगामी दिनमा विद्यालय, स्वास्थ्य चौकीलगायतका संरचना निर्माणका लागि नेपाल सरकारले क्षेत्र निर्धारण गरिदिएमा सहकार्य गरेर काम गर्न तयार रहेको संस्थाले उल्लेख गरेको छ।

सन् १९१७ मा स्थापना भएको लायन्स अन्तर्राष्ट्रियले १०८ वर्षदेखि विश्वभर स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा योगदान दिँदै आएको छ। नेपालमा भने यस संस्थाले विगत ५५ वर्षदेखि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपालमा लायन्सले अन्धोपन निवारण, स्वास्थ्य सेवा विस्तार तथा विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेको छ। संस्थाका अनुसार अधिकांश आँखा अस्पतालमा उपकरण सहयोग तथा स्तरोन्नति, करिब १ करोड बालबालिकामा दादुरा–रुबेला खोप अभियानमा सहकार्य, कोरोना महामारीमा अक्सिजन, पीपीई, मास्क वितरण र आइसोलेसन केन्द्र सञ्चालन, अत्याधुनिक ब्लड बैंक स्थापना, २०७२ सालको भूकम्पपछि ४५ करोड लागतमा १८ विद्यालय पुनर्निर्माण, जाजरकोट भूकम्पपछि विद्यालय पुनर्निर्माण कार्य जारी रहेको छ ।
नेपाल सरकारले अन्धोपन निवारणमा पुर्याएको योगदानका लागि लायन्सलाई सम्मानसमेत गरिसकेको छ।

लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन चाहेको जनाएको छ। विशेषगरी विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य विस्तार गर्न संस्थाले आग्रह गरेको छ।
संस्थाका मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर बहादुर भण्डारीले आगामी दिनमा सरकारसँग समन्वय गरेर सामाजिक सेवामा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
रसुवा : भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ । नेपाली...
चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र...
काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...