छिमेकी मुलुकका राष्ट्र प्रमुख आउँदा स्वागत सत्कारमा कमीकमजोरी हुन नदिने नेपालको परम्परा नै हो – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

छिमेकी मुलुकका राष्ट्र प्रमुख आउँदा स्वागत सत्कारमा कमीकमजोरी हुन नदिने नेपालको परम्परा नै हो

भेष बहादुर थापा– परराष्ट्रविद एवम् पूर्व परराष्ट्र मन्त्री

भातीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका अवसरमा जनकपुरको जानकी मन्दिरमा पुजाआजा तथा नागरिक अभिनन्दन सकेर शुक्रबारै काठमाडौं आउनुभयो । राजकीय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका राजनीतिक तहका उच्च व्यक्तिसँग भेटघाट पनि शुक्रबारै सकेर उहाँ तीर्थाटनको लागि शनिबार मुक्तिनाथ दर्शनका लागि जानुभएको थियो ।

नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका प्रधानमन्त्री नेपाल आउँदा जनमानसबाट विभिन्न अड्कलवाजीहरु भएरहने गर्दछ । तर जे–जस्तो अड्कलवाजी भएपनि उच्चस्तरीय राजकीय भ्रमणले भने नेपाल भारत सम्बन्ध प्रगाढ बनाउन निकै महत्वपूर्ण हुने गरेको विश्लेषकहरुको भनाइ छ । यिनै विषयमा केन्द्रीत रहेर पत्रकार ऋषि धमलाले परराष्ट्रविद एवम् पूर्व परराष्ट्र मन्त्री भेष बहादुर थापासँग गर्नुभएको कुराकानीको सम्पादीत अशं ः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपालको राजकीय भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने राजकीय भ्रमण पूर्ण रुपमा सफल रहेको भन्ने मलाई लाग्छ । नेपालको परम्परा नै छ, आफ्ना छिमेकी मुलुकका राष्ट्र प्रमुख आउँदा स्वागत सत्कारमा कमीकमजोरी हुन नदिने नेपालको पुरानो चलन नै हो ।

यो कही कतैबाट कमीकमजोरी भयो भन्ने लाग्दैन । नेपालको हितको कुरामा दुई देशको सम्बन्ध राम्रो हुनु तपाई हामी सबैको लागि राम्रो हो । त्यसैले सरकारले पनि त्यही अनुसारको तयारी गरिरहेको थियो । त्यसैले मलाई लाग्छ सानातिना, झिनामसिना कुरा भन्दा पनि दुई देशको सम्बन्धमा कही कतैबाट पनि आँच आउन नदिने प्रयास सुरकारले गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपालको राजकीय भ्रमणबारेनेपाली जनता अलि विभाजित जस्तो देखियो नि किन होला ?
यहाँको जनमत त्यति धेरै विभाजित भयो भन्ने त होइन । तर हाम्रो देशको राजनतिक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा जनमानसबाट जुन किसिमको अभिमतहरु प्रकट भए पक्कै पनि नेपाल र भारतबीच सम्बन्ध सुधार गर्नुपर्नेतर्फ बढी नेपालीहरुले जोड दिएको बुझिन्छ ।

जस्तो हाम्रो देशमा नयाँ संविधानको प्रक्रिया शुरु भएपछि नेपाल भारत सम्बन्धमा जुन किसिमका झिनामसिना असहमति देखा परेका थिए त्यो पनि बुझाइमा गलत थियो । हामीले बुझाउन नसकेका कारण नेपाल भारत सम्बन्धमा केही चिसोपन आएको हो त्यो संक्रमणकालको व्यवस्थापनलाई हामीले व्यवस्थापन गर्न नसकेको हुनुपर्छ । अरु देशहरुको दाँजोमा हेर्ने हो भने यो ‘ट्रान्जीसन पियिड’ चाहिँ धेरै लामो भएको पनि इतिहास छ । भारतको नै कुरा गर्ने हो भने पनि कतिवटा राज्य बढेका थिए स्वतन्त्र भएपछि त्यसले एउटा प्राकृतिक नियमसँग मिल्न गयो । ज्यादै ढिला भएको पनि होइन ।

समस्या उठ्नु कुरा स्वभाविक हो । समस्या समाधान गर्दै जाने कुरामा चाहिँ हामीहरु प्रतिबद्ध हुनुप¥यो र राष्ट्रिय दृष्टिकोणमा जुन संविधानले निर्देशित गरेको छ । त्यो भित्र सबै जना मिलेर अगाडी बढ्न सक्नुप¥यो ।

नेपाल भारत असल छिमेकी राष्ट्र मानिन्छ तर पनि नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका प्रधानमन्त्री नेपाल आउँदा किन यति धेरै विवादहरु उत्पन्न हुन्छन् ?
त्यसो भनिरहँदा नेपाल अझै संक्रमणकालमै छ । वर्तमान अवस्थामा स्थायी सरकारको निर्माण भएकोले बल्ल जनताले परिवर्तनलाई आत्मसाथ गर्न थालेका छन् । यसभन्दा अगाडि सरकार परिवर्तन भैरहने, राजनीतिक अस्थिरताको कारणले गहन विषयमा हाम्रो ध्यान जान सकेको थिएन । यसैबीचमा भारतको प्रधानमन्त्री नेपालमा चार वर्षमा झण्डै तीन पटक नेपाल आइसक्नु भएको छ र हाम्रा प्रधानमन्त्रीजीहरु पनि सबै भारतमा जानुभएको छ । त्यसैले यसरी दुईपक्षीय भेटघाटले गर्दा नेपाल भारतबीच सामिप्य र सद्भाव बढ्दै गएको छ । दुई देशबीचका राष्ट्र प्रमुखहरुको यसरी बीचबीचमा भेटघाट तथा गम्भिर छलफल हुनु राम्रो कुरा हो ।

यसभन्दा अगाडी १६÷१७ वर्षसम्म भारतको प्रधानमन्त्री नेपाल नआउने र नेपालको प्रधानमन्त्री भारत मात्रै गइरहने परम्परा तोडिएको छ । यसैबीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यो तीन चार वर्षको बीचमा तीन पटक आफैं आइसक्नुभयो । त्यसैले उच्चस्तरीय भ्रमणले नयाँ तरंग ल्याइदिएको छ । यस्तो खालको भ्रमणले नयाँ सम्भावनाका ढोकाहरु खुल्दै जानेछन् र दुई देशबीचको सानातिना मतभेदहरु पनि कम हुँदै जान्छन् भन्ने लाग्छ । त्यसैले यस्ता उच्चस्तरीय भ्रमणलाई हामीले उच्च सम्मान दिँदा राष्ट्रलाई फाइदा हुन्छ भन्ने लाग्छ ।

म पनि भारतका लागि राजदुत भइसकेको व्यक्ति भएको हुँदा मैले दुई पक्षीय भ्रमण गराउन निकै प्रयास गर्थे तर तत्कालीन सरकारले त्यसै टारिदिन्थ्ये । कुरा भइरहेको छ, उताबाट आइरहने, यताबाट गइरहने भनेर टारिदिन्थ्ये । तर अहिले निकै सामित्य बढेको छ । विभिन्न कुराहरुलाई सकारात्मक सोंचबाट हेरिरहेको हुँदा हामीले गर्ने स्वागत सत्कारमा कहिकतैबाट कमीकमजोरी गर्नुहुँदैन भन्ने मलाई लाग्छ । त्यसैले वास्तविकता के हो भने हाम्रो सोंचाइ नकारात्मक हुनुभएन । वार्ताको सम्भावनालाई अगाडी बढाउँदै जाँदा उच्चस्तरमा गएर एउटा सहज परिस्थितिको सिर्जना निर्माण हुन्छ भन्ने मलाई लाग्छ । अहिले नेपाल भारत सम्बन्धमा भने निकै सुधार भएको देखिन्छ । कसैले छेक्न चाहेर पनि छेकिहाल्न सक्दैनन् भन्ने लाग्छ । यी कुराहरुलाई पनि ध्यानमा राखेर अहिलेको परिस्थितिमा सद्भाव बढेको हुनुपर्छ ।

केही दिन अगाडी परराष्ट्रमन्त्रीले सदनमा नागरिक अभिनन्दनको बारेमा बताइरहँदा जनमानसबाट विरोध किन आएको होला ?
अभिनन्दनको कुरालाई लिएर वादविवाद गर्नुपर्ने कुरै थिएन । भ्रमणलाई सकारात्मक दृष्टिकोणबाट हेरेर सबैले सहयोग गर्नुपर्ने, सद्भाव बढाउनुपर्ने हुन्छ । हामीले पाएको सहयोगलाई घटाउनु छैन । जतिसक्दो बढाउनुनै राम्रो हुन्छ । यो झिना मसिना कुरालाई लिएर केही कुरा आएका होलान । त्यसलाई धेरै अगाडी बढाइरहनु उचित होला भन्ने मलाई लाग्दैन । जतिसक्दो हामीले भ्रमणलाई सहयोग गरेर सफल बनाउनु नै दुई देशबीचको सम्बन्धलाई सकारात्मक सोंचमा परिणत गर्नुपर्छ भन्ने लाग्छ । हामी नेपाली कामभन्दा कुरा बढी गर्छौ । सकारात्मक सोंचको खडेरी हामीमा छदैछ । यो संक्रमणकालको तुष रहेको हुनुपर्छ ।

विगत केही समयदेखि नेपाल भारतको सम्बन्धमा केही चिसोपन छ भन्छन नी यहाँलाई कस्तो लाग्छ ?
यो संक्रमणकालमा चाहिँ वादविवादको कुरा उठ्नु भनेको स्वभाविक होला । तर यो संक्रमण काललाई हामीले कहिले पन्छाउने ? यदी हामीले यो संक्रमणकाललाई सधै सोचिरह्यौ भने विवाद बढ्न सक्छ । त्यसैले नेपाल भारत सम्बन्ध सुधार गर्नका लागि बिर्सन सक्नुपर्छ । आन्तरिक विवादमा अल्झिएर दुई देशको सद्भाव भ्रमणमा आँच आउने कुरा गर्नुहुन्न भन्ने लाग्छ, यसले राष्ट्रिय हितलाई संरक्षण गर्न सक्दैन । त्यसैले सबैको चासो सद्भाव भ्रमणलाई सफल पार्नुनै उचित हुन्छ जस्तो लाग्छ ।

वर्तमान अवस्थामा पहिले भारतसँग भएको सन्धि सम्झौताहरु अलिहेसम्म कार्यान्वयन भएन भन्न गुनासो पनि छ नि ?
यस्तो कुरा विज्ञहरुले पनि बताइरहेका छन् । स्वय प्रधानमन्त्री आफैंले पनि गुनासो गरिरहनु भएको छ । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली भारतको राजकीय भ्रमण गर्दा पनि भारतसँग त्यही कुरालाई सही ट्रयाकमा ल्याउनको लागि कुरा राख्नुभएको हो । सद्भाव भ्रमण र उच्चस्तरको समझदारीको अभिवृद्धी भनेको चाहिँ महत्वपूर्ण कुरा हो । त्यो भयो भने धेरै ढोकाहरु खुल्छन् । ती ढोकाहरु खोल्नको लागि एउटा अवसरको रुपमा सबभन्दा माथिल्लो तहको भ्रमणको आदानप्रदान चाहिँ महत्वपूर्ण भूमिका हुन सक्छ ।

जहिले पनि १९५० को सन्धिदेखि सिमा विवादको कुरा उठ्छ तर त्यसबारेमा ठोस निर्णय चाहिँ आउन सकिरहेको छैन नि यहाँ के भन्नुहुन्छ ?
यी सबै कुराहरु विभिन्न समयमा बाहिर नआएका होइनन् । जनगुनासोको रुपमा पनि आएको छ । हाम्रो सोंचाइमा हेरफेर आएको छैन । जबसम्म हाम्रो सोंचाईमा गलत प्रवाह भैइरहन्छ तबसम्म समस्या आइरहन्छ । समस्या उठेपछि मात्रै संवादको ढोकाहरु खुल्छ । संवादको ढोका खुल्नु भनेको एक प्रकारले सम्बन्धलाई अगाडी बढाउने महत्वपूर्ण खुड्किला हो भन्ने लाग्छ । त्यसैले हाम्रा प्रधानमन्त्री के.पी शर्मा ओली भारत भ्रमण जानुभएको बेलामा यी विविध कुराहरुमा छलफल भएका छन् ।

विभिन्न कानुनी अड्चन तथा समस्याहरु देखा परेका कारणले गर्दा नेपाली जनताहरु निरास भएका छन् भन्ने कुराको सन्देश माथिल्लो तहमा पनि संवाद भएको छ । तल्लो तहले हेलचेक्रयाई ढिलासुस्ति ग¥यो भने त्यो अवस्थाबाट पार गर्नको लागि माथिल्लो तह महत्वपूर्ण हुन्छ । त्यसबाट उत्रिएको सद्भावले गर्दाखेरी अन्य कुराहरु सहज हुन्छ । यिनै दुई जना प्रधानमन्त्री भएका बेलादेखि प्रभुत्व समुहको संरचनाले प्रवेश पाएको हो । त्यो प्रक्रिया अन्तिमतिर पुग्ने अवस्थामा छ । म र सहयोगी साथीहरु पनि लागिरहनु भएको छ । भारतीय पक्ष पनि सहमती नजिक आइपुगेको छ । हामीहरुले जुन लक्ष्य लिएर यो तहको समझदारी कायम गरेका छौं ।

सितिमिति टुंगोमा नपुगी यथास्थितिमा त्यसलाई हामी छोड्दैनौ । कहाँसम्म पुग्छौं भन्ने कुरा समयले बताउने कुरा हो तर वार्ताले सकारात्मक मोड लिएको छ । तर भारत सरकार सरकार स्तरबाट मात्र नभइ बौद्धिक स्तरमा पनि निकै छलफल अध्ययन अुनसन्धान भएको छ । त्यसैले अहिले तपाइहरुको लोकप्रिय पत्रपत्रिका मार्फत पनि सकारात्मक सोंचलाई अगाडी बढाउने प्रयास गरिहरहनु भएको मैले बुझेको छु । भारतीय पक्षमा पनि सोंचाइको परिवर्तन आएको छ । हामीहरु जुन प्रकारबाट अगाडी बढिरहेका छौं, यथास्थितिबाट धेरै टाढा पुग्ने हाम्रो अपेक्षा छ । अब टुंगोमा नपुगुञ्जेल धेरै कुरा गर्न चाहदैनौं । तर गम्भिर प्रकारबाट यो प्रक्रिया अगाडी बढिरहेको छ । यसमा ढुक्क हुनुहोस् ।

त्यसोभए अहिलेको अवस्थामा नेपाल भारत सम्बन्धमा देखिएका समस्याहरु समाधान हुन्छन् त ?
जुन उद्देश्य राखेर कार्य तालिकालाई अगाडी बढाएका छौं, त्यो कार्यतालिकाई दुवै पक्षले उद्देश्य प्राप्त नगरुञ्जेल अंगिकार गर्ने प्रण गरेको छौं । अहिलेसम्म हामीले ७० वर्षदेखि गुनासो मात्र गरेर बस्यौं, समस्या समाधान गर्ने पट्टि लाग्न सकेनौं । त्यसैले यी सम्पूर्ण समस्याहरुलाई समाधान गर्न मुल बाटोमा पु¥याएका छौं  । यो संघारमा पुगेको बेलामा वादविवाद भन्दा पनि सहज वातावरणको खोजी गरेर अन्तिम टुंगोमा पुग्ने प्रयासमा हामी जानुपर्छ । त्यसैले नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थको संरक्षण हुन्छ भन्ने कुरामा तपाईको लोकप्रिय पत्रिका मार्फत लक्ष्मण रेखाभित्र बसेर सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमण एजेण्डा विहिन भयो भन्छन् नी, यहाँलाई के लाग्छ ?
अब एजेण्डा विहिन भयो भनेर पक्ष विपक्षलाई तानेर हाम्रो विज्ञ समूहरुलाई कृपया तान्ने प्रयास नगर्दिनुहुन अनुरोध गर्दछु । राष्ट्रिय हितको परिधिभित्र रहेर लक्ष्मण रेखा कोर्नुपर्ने आवश्यकता छ । वर्तमान अवस्थामा नेपालको परिवर्तित अवस्थालाई विश्वमा नेपालको कुन उचाईमा, कुन ठाउँमा पुगेको छ भन्ने कुरा बुझ्नुपर्छ, त्यसैले विश्वमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै नेपालमा भएका प्रगतिलाई एउटा नयाँ आयाममा प्रवेश गर्ने हाम्रो लक्ष्य छ । त्यसप्रति सबैको सहयोग भएमा राष्ट्रिय हितले संरक्षण पाउँछ भन्ने मलाई लाग्छ । जुन कुरा ६० वर्षसम्म नभएको संवाद हामीले थालेका छौं । हामीलाई विश्वास छ यो टुंगोमा लाग्छ ।

उसोभए यो प्रभुत्य समूहले नै नेपाल भारत सम्बन्ध प्रगाढ बनाउन सक्नुहुन्छ भन्ने लाग्छ यहाँलाई ?
नेपाल र भारतका दुई प्रधानमन्त्रीहरुले के–के कुरा गर्नुहुन्छ भन्ने कुराको अड्कल वाजी गर्ने कुरा त भएन । तर दुवै प्रधानमन्त्रीको उपस्थितिमा प्रभुत्य समूह गठन गरेर नयाँ आयाम सुरु गर्ने कुराको सहमति भएको हुँदा यो प्रक्रियाले असल नियत राख्छ भन्ने विश्वास लाग्छ । त्यसैले यो परिवर्तित अवस्थालाई ध्यानमा राखेरै दुवै प्रधानमन्त्रीले यो प्रक्रियाको थालनी गर्नुभएको हो भन्ने लाग्छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमण गर्दा यी सबै समस्याको समाधान गर्ने भन्ने थियो तर नेपाल सरकारले त्यतिबेला एजेण्डा प्रस्तुत गर्न सकेन भन्ने कुरालाई यहाँले कसरी हेर्नुभएको थियो ?
तत्कालीन अवस्थामा जसले जे भनेपनि विविध विषयमा भारतसँग छलफल र संवाद गर्नुपर्ने भएकोले प्रभुत्य समूहले विभिन्न तहमा सञ्चार, सद्भाव र संवाद गरेको थियो । त्यसैको आधारमा नयाँ आयामको थालनी भएको हो भन्ने लाग्छ । त्यो नयाँ आयामको सुरुवाती नै अहिलेको परिस्थितिलाई सामना गर्छ भन्ने हो ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०७५ बैशाख ३१, ०८: १२

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०७५ बैशाख ३१, ०८: १२

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०७५ बैशाख ३१, ०८: १२

tc-check https://test.com