देउवा र पौडेलबीच छेड हानाहान, कलह मिलाउन सशांकको सुझाव – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देउवा र पौडेलबीच छेड हानाहान, कलह मिलाउन सशांकको सुझाव

सरकारको सय दिन सुस्त र उपलब्धिबिहिनः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले आफ्नो हनिमुन पिरियड अर्थात एक सय दिनमा केही गर्न नसकी उपलब्धिबिहिन भएको निचोड निकालेको छ । वाम सरकारको एक सय दिन पुगेको सन्दर्भमा कांग्रेसले आफ्नो आधिकारिक धारणा अघि सार्दै ओली सरकारको कामको गतिलाई सुस्त र सामान्य भनि टिप्पणी गरेको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले एक सय दिनमा संघीयता, समावेसीता र संविधान कार्यान्वयनको लागि केही नगरी पार्टी एकताको लागि मात्र समय खर्च गरेको वताएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको एक सय दिनको अध्ययन गर्दा सरकारमा अहंकारको संकेत देखिएको वताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले ओली सरकारको सय दिनमा दर्जन भन्दा धेरै विसंगति र गल्ती गरेको बताएका छन् । पार्टीको तर्फबाट सरकारको एक सय दिनको मुल्याङ्कन गर्दै प्रवक्ता शर्माले सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ खाने कामबाटै ओली सरकारले विसंगतिको सुरुवात गरेको आरोप लगाएका छन् ।

कांग्रेसले संविधान संशोधनबारे पनि ओली सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । कांग्रेसले आफ्नो सरकारको समयमा राष्ट्रियसभा सदस्यमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन नगर्नु वाम सरकारकै हात रहेको भन्दै यसलाई पनि अर्को गल्ती भनेको छ । देश संघीयतामा गइसकेको अवस्थामा अधिकारको बिनियोजन गर्ने निर्णयलाई लत्याउँदै सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागसहितलाई प्रधानमन्त्रीको कार्यालय मातहतमा राख्नु गल्ती भएको कांग्रेसले जनाएको छ ।

देशको वास्तविक आर्थिक अवस्था देखाउनुपर्ने श्वेतपत्र नकारात्मक सूचांकसहित प्रस्तुत गरिएको, सर्वोच्च अदालत ३ महिनादेखि नेतृत्वविहीन बनाइएको, कर्णाली प्रदेशबाहेक अरु प्रदेशको अझैसम्म नामाकरण नभएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारले देखाएको व्यवहारले उग्र राष्ट्रवादको खण्डन गरेको, कर्मचारीहरुमाथि जथाभावी प्रहार गर्ने काम भएको र सबै नेपालीलाई कम्युनिस्ट देख्नु सरकारको अर्को गल्ती भएको कांग्रेसले औल्याएको छ ।

उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकार संघीयता, समावेसिता र संविधानप्रति अनुदार रहेको वताए । ओली नेतृत्वको सरकारले आफ्नो एक सय दिनमा संघीयता, समावेसीता र संविधान कार्यान्वयनको लागि केही पनि काम नगरेको वताएका हुन् ।

नेपाल प्रेस यूनियनको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा निधिले यस अवधिमा वर्तमान सरकारले दुई पार्टीको एकताको लागि मात्र समय खर्चिएको बताए । देश र जनताको पक्षमा एउटै काम नगरेको सरकारले दक्षिण छिमेकी देश भारतसँग लम्पसारवादको नीति लिएको आरोप लगाए ।

त्यस्तै, कांग्रेसका नेताहरुले पनि सरकारको सय दिनको मुल्याङ्कन गर्दा संविधान, संघीयता र समावेसीताको कार्यान्वयनको लागि कुनै ठोस काम गर्न नसकेको भनी आलोचना गरेका छन् । उनीहरुले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतामाथि सत्ताबाट नियन्त्रण गर्न खोजिए प्रतिवाद गर्ने समेत बताए । लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनले आफ्नो २७औं बार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा सभापति शेरबहादुर देउवाले कांग्रेस सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको वताए । सोअवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि महामन्त्री डा. शशांक कोइराला लगायतले स्वतन्त्र र व्यवसायिक प्रेसको पक्षमा कांग्रेस रहेको वताएका थिए ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नेपाल प्रेस युनियनको कार्यक्रममा समेत छेड हाना हान भयो । श्रमजीवि सञ्चारकर्मीहरुको साझा संस्था प्रेस युनियनको भूमिका, महत्व, प्रभावकारिता र प्रेसमाथि देखिएका चुनौतिका बारेमा खासै मत नराखेका नेताहरुले एक अर्कालाई पार्टी एकताको उपदेश दिँनमै सीमित भए । देउवाले पार्टीलाई एक ढिक्का बनाउनु नै आफ्नो एकमात्रै स्वार्थ रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामपछि पार्र्टीभित्र उठेको नेतृत्वको राजीनामाको विषयले ठोस दिशा लिन नसकिरहेकै अवस्थामा उनले कसैले सभापति पद छोड भन्दैमा आफूले पद त्याग नगर्ने स्पष्ट पारे ।

‘पार्टी सभापतिको स्वार्थ के हुन्छ ? पार्र्टीलाई एक गराउने । म पार्टी सभापति हुँ । मेरो इच्छा नै पार्टी एक गराउने हो ।’ देउवाले भने, ‘‘तर गेटआउट भन्दैमा म पद छोड्नेवाला छैन ।’ आगामी तीन वर्षपछि कांग्रेसको १४ औं महाधिवेशन हुने स्पष्ट पार्दै उनले चुनावमा जीत–हार स्वाभाविक रहेकोले दुई पार्टी मिलेर चुनाव लड्दा कांग्रेसले हार्नुपरेको बताए । दुई पार्र्टी नमिल्दा पनि कांगे्रस यसअघि पनि दुई पटक चुनाव हारेको स्मरण गर्दै देउवाले संविधानको कार्यान्वयन गराउन आफूलाई तीनै तहको निर्वाचन गराउनैपर्ने बाध्यात्मक अवस्था आएको वताए ।

संविधानको कार्यान्वयन नभएको भए आज के हुन्थ्यो ? भनेर प्रश्न गर्दै देउवाले संविधान बनेको अवस्थामा कार्यान्वयन भनेकै चुनाव भएको वताए । कांग्रेस अहिले निर्वाचन हारे पनि आगामी निर्वाचन जित्ने गरी अगाडि बढ्न अहिलेबाट नै सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्ने भन्दै हार हुँदैमा नआत्तिन मञ्चमा बसेका नेता पौडेललाई आग्रह गरे । उनले पार्टी बलियो बनाउन एक भएर जान आवश्यक भएको भन्दै एमाले र माओवादी एक हुन सक्ने, हामी किन नहुने ? भन्दै पौडेललाई कटाक्ष गरे ।

बरिष्ठ नेता पौडेलले पार्टी भित्र न्याय, पारदर्शीता र मुल्याङ्कनको पद्धति विकास गरे मात्र सार्थक एकता हुने वताए । उनले एकता मुखले मात्र भन्नु सट्टामा व्यवहारमा उतारेर देखाउनु पर्नेमा जोड दिए । महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति र वरिष्ठ नेतालाई आपसी मनमुटावको भित्री कारणबारे प्रश्न उठाए । उनले सभापति र वरिष्ठ नेतामा रहेको आपसी तिक्तताका बारेमा प्रश्न उठाउँदै बामपन्थी एकता भएको अवस्थामा हाम्रा बीचमा के दरार छ ? सत्ताको दरार हो कि एक आपसको भेदभाव हो ? भनी प्रश्न गरेका थिए ।

उनले नेताहरुले अव सम्पूर्ण आपसी तिक्तता बिर्सिएर एकतावद्ध भएर १४ औं महाधिवेशनमा जान सुझाव दिँदै राजनीतिक जीवन प्रारम्भ गर्दा विपी कोइरालाको सपना साकार पार्छु भनेर उभिएको स्मरण गर्न आग्रह गरे । उनले आफ्नो एकमात्र एजेण्डा कांग्रेस पार्टीलाई एक बनाएर गुट–उपगुट अन्त्य गर्नु रहेको बताए ।

विसं २०४८ जेठ १३ गतेका दिन प्रजातन्त्रबादी पत्रकारहरुको भेलाले लोकतन्त्र र श्रमजीवि पत्रकारको पक्षमा सङ्गठितरुपमा अगाडि बढ्ने अठोट सहित नेपाल प्रेस युनियनको स्थापना गरेका थिए । देशभरिका सवै जिल्लामा शाखा स्थापना गरेको युनियनले कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी दुई वटा उपशाखा विस्तार गरेको छ । अहिले युनियनका सात वटा प्रतिष्ठान शाखा छन । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । देशभर करिब आठ हजार पत्रकार युनियनमा आबद्ध छन् ।

श्रमजीवी पत्रकारको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । तदर्थ समितिमा गुप्ता सहित हरि अधिकारी, रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरी सत्र जना सदस्य थिए ।

२०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि २०५१ सालमा पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशनले रमेश तुफान, पर्षाको बीरगन्जमा २०५३ सालमा भएको तेस्रो महाधिवेशनले तारा बराल, २०५६ सालमा घोराही र सुनसरीको इटहरीमा भएको चौथो महाधिवेशनले कुलचन्द्र वाग्लेको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।

सिरहाको लाहानमा २०६० सालमा भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई, कास्कीको पोखरामा २०६४ सालमा भएको छैठौँ महाधिवेशनले समिरजङ्ग शाहलाई र २०६७ सालमा सुनसरीको इटहरीमा भएको सातौ महाधिवेशनले किरण पोखरेललाई केन्द्रीय अध्यक्ष चयन गरेको थियो । बद्री सिग्देलको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गतेसम्म भएको महाधिवेशनले गठन गरेको हो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ १४, ०९: ००

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ १४, ०९: ००

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ १४, ०९: ००

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...