सरकारबिरुद्ध झन् कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी
काठमाडौं । शान्तिपूर्ण आन्दोललनमा प्रहरीको हस्तक्षेप र दमन एकपछि अर्को गर्दै बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केपी ओली नेतृत्वको सरकारबिरुद्ध कडा आन्दोलनमा जाने तयारी गरेको छ ।
गत बिहीबार जुम्ला अस्पतालमा भएको नेपाली प्रहरीको गैरकानुनी हस्तक्षेप र शनिबार नयाँ बानेश्वरमा भएको प्रहरी दमन र हस्तक्षेपबाट निकै आक्रोसित बनेको नेपाली कांग्रेसले देशब्यापी आन्दोलनको घोषणा गरेको हो ।
नयाँ बानेश्वरमा निशस्त्र र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरी नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन प्रदर्शनकारी घाईतेभए पछि निकै आक्रोसित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरी प्रहरी दमनप्रति घोर आपत्ति जनाएका छन् ।
सभापति देउवाले प्रहरीलाई तरुण दल र उसका समर्थकलाई दमन गर्न प्रहरी उतारिएको हो भने त्यसको मूल्य सरकारले चुकाउनु पर्ने चेतावनी समेत दिएका थिए ।
नयाँ वानेश्वरमा शनिबार नेपाल तरुण दलको प्रदर्शन माथि अधिनायकवाद उन्मुख सरकारले अन्धाधुन्ध आक्रमण गरेको भन्दै देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार साँझ सोझै बालुवाटार पुगेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए । देउवाले आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका थिए । देउवाले यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी दिएका थिए ।
नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएका थिए । प्रहरी दमनको लगतै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरुको हौसला बढाएका थिए ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता महसुस गरेको बताएका छन् । कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्दै प्रवक्ता शर्माले त्यसलाई हुबहु विधेयकका रुपमा ल्याए मात्र केसीको माग पुरा हुने बताए ।
विगत २२ दिनदेखि आमरण अनसन बसेका चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोबिन्द केसीले चिकित्सा शिक्षा सुधारको माग गरेका छन् । उनले विगत सरकारले माथेमा आयोगको प्रतिवेदनको आधारमा ल्याएको अध्यादेशलाई तोडमोड गरी माफिया पोस्ने किसिमले सरकारले नयाँ विधेयक ल्याउन लागेको भन्दै अनसन बसेका हुन् ।
वार्ता मार्फत समाधान खोज्न र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैरजिम्मेवार प्रवृत्ति ठहर गर्दै कांग्रेस घोर भत्र्सना गरेको छ भने शनिबारबाट देशब्यापी आन्दोलन घोषणा गरेको थियो । डा. गोबिन्द केसीमो जीवन रक्षा गर्न उनको माग पुरा गर्न पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु संसदमा ल्याउन चर्को मूल्य बृद्धि नियन्त्रण गर्न र संविधानको धारा ९१ को उपधारा २ बमोजिम सबै संसदको सभामुख र उपभामुख फरक दलको हुने प्रावधानको कार्यान्वयन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेस र उसका भातृ संस्थाले निषेधाज्ञा लगाउने सरकारको निर्णय फिर्ता लिनु पर्ने र इन्टरनेटको सुविधामा थप १३ प्रतिशत शुल्क लिने निर्णय फिर्ता गर्नु पर्ने माग गरेको छ । नयाँ बानेश्वरको सभामा तरुण दलका पूर्वअध्यक्ष समेत रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, तरुण दलका पूर्वउपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे, तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संवोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम हुन नपाए पछि कोणसभामा सहभागीहरु घाईते बोकेर अस्पताल पुगेका थिए ।
नयाँ बानेश्वर किन बन्यो रणमैदान ?
सरकारले पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुमा गरेको मूल्यबृद्धि, इन्टरनेट सेवामा सरकाले चालु आर्थिक बर्षदेखि लागू हुने गरी थप १३ प्रतिशत बृद्धि गरेको बिरोधमा नेपाल तरुण दलले माइतिघरदेखि नयाँ बानेश्वरसम्म ¥यालीको आयोजना गरेको थियो । संविधान बमोजिम सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग पुरा नभएको भन्दै त्यो मागलाई समेत लिएर आन्दोलनमा उत्रिएको नेपाल तरुण दलको जुलुस नयाँ बानेश्वर पुगेपछि नेपाल प्रहरीले रोक्न खोजेको थियो । तरुण दलको हजारौंको जुलुस प्रहरीको ब्यारीकेड नदेखेपछि नयाँबानेश्वर चोकतर्फ अघि बढेको थियो ।
नयाँ बानेश्वरको मूल सडकबाट अघि बढ्न खोजेको जुलुस उत्तरतर्फको सर्भिस ट्रयाकबाट अघि बढ्न खोज्दा प्रहरीले तारबारले छेक्न खोजेको थियो । तर जुलुसलाई रोक्न सक्ने तागत प्रहरीको भएन । प्रहरीलाई छल्दै तरुण दलको जुलुस नयाँबानेश्वर चोकमा पुग्नै लाग्दा नेपाल प्रहरीका नायव उपरिक्षकको नेतृत्वमा रहेको टोलीले तरुण दल र नेविसंघका नेतालाई लक्षित गरी टाउकोमा प्रहार गरेका थिए । तरुण दल र नेविसंघका अध्यक्षलाई छानी छानी ताकेर लौरो हान्ने प्रहरीको प्रबृत्ति देखिएको थियो । त्यही क्रममा आक्रोसित भीडले प्रहरी निरीक्षक खेम नेपालमाथि जाइलागेको थियो ।
प्रहरीको दमन र ज्यादतिले सीमा नाघेको थियो । सडक पेटीमा हिँडेका सर्बसाधरणलाई समेत प्रहरीले अन्धाधुन्द लाठी हानेका थिए । रिसाहा प्रहरीले पार्किङमा राखिएका मोटरसाईकललाई लडाउने, पत्रकारहरुलाई खेदाउने र कुट्ने काम समेत गरेका थिए । नयाँ बानेश्वरको प्रदर्शनमा भएको झडपलाई लिएर प्रहरीले बुद्धनगर, बिजुलीबजार र बबरमहलसम्म सर्बसाधरण नागरिकलाई हिँड्न दिएको थिएन । घरबाट निस्किएकालाई प्रदर्शनकारी भनेर कुटेका थिए भने बुद्धनगर क्षेत्रमा टियर ग्याँसले स्थानियबासी नै निसासिएका थिए ।
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...