राजसंस्थालाई लिएर दुई राप्रपाको वार्ता भाँडियो – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

राजसंस्थालाई लिएर दुई राप्रपाको वार्ता भाँडियो

काठमाडौं– राजसंस्थालाई पार्टीको बिचार, सिद्धान्त र आदर्श मान्ने कि नमान्ने भन्ने बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको वार्ता भाँडिएको छ ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर जवरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यले समान विचारधारा भएका शक्तिबीच एकताको सम्भावना बारे छलफल अघि बढाउन वार्ता समिति गठन गरेका थिए । राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार पार्टीको वार्ता समितिलाई ‘हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा एवम् प्रतिबद्धता नआएसम्म’ राप्रपा प्रजातान्त्रिकसंग वार्ता स्थगन गर्न निर्देशन दिएपछि वार्ता भंग भएको हो ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा वार्ता समिति संयोजक सुनिल थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दा पार्टीका सांसदहरुले हस्ताक्षर गरी प्रतिवद्धता व्यक्त गरेकोले त्यसबाट पछि नहट्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिए पछि राप्रपा अध्यक्ष थापाले चरम असन्तुष्टी जनाएका थिए । थापाले राप्रपा प्रजातान्त्रिकसँग वार्ता नगर्न वार्ता समितिका संयोजक बुद्धिमान तामाङलाई निर्देशन दिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपालको भूधरातलिय यथार्थता भएकोले नेपालको संविधान र यहि यथार्थतालाई आत्मासाथ गर्दै राप्रपा प्रजातान्त्रिकले अर्को बिकल्प नरोज्ने राप्रपा प्रजातान्त्रिकका नेता किरण गिरीले जनाए । राप्रपा प्रजातान्त्रिकले गत बर्ष राप्रपाबाट अलग भइ निर्वाचन आयोगमा दल दर्ता गर्दा विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाएको थियो ।

यता राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले महामन्त्री सुनिलबहादुर थापाको साउन १७ मा हिमालयन टेलिभिजनको समय सन्दर्भ मार्फत अन्तरवार्तामा व्यक्त बिचार पार्टीको आधिकारिक धारणा नभएको बताएका छन् । उनले राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठकबाट सर्वधर्म सम्भाव सहितको सनातन हिन्दूराष्ट्र एवं सर्वद्र्धनवादी उदारवादको राजनीतिक सिद्धान्त प्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको जनाएका थिए ।

पार्टीको केन्द्र देखि स्थानीय तहसम्मका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरू उपरोक्त घोषित उद्देश्य र लक्ष्य प्राप्तिमा आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा आएको उक्त अन्तरवार्ताबाट अनावश्यक भ्रममा नपर्न भनेका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल संघीय लोकतात्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षताप्रति प्रतिवद्ध भए पनि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जवरासहित नेताहरु हिन्दु राज्यको पक्षमा खुलेर लागेका छन् ।

तीन राप्रपालाई एकै ठाउँमा ल्याउने उदेश्यले तीन चार महिनाअघि पूर्वराजा ज्ञानेन्द्रले तीन पार्टीका यूवा र दोश्रो तहका नेतालाई झापाको चिया बगानमा बोलाएर सुझाव र दबाब दिएका थिए । राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग भने कमल थापाले वार्ता समिति मार्फत पटक पटक वार्ता गरिसकेका छन् ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०७५ श्रावण २१, ११: ४१

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०७५ श्रावण २१, ११: ४१

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०७५ श्रावण २१, ११: ४१

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...