
आइतबार तीन वटा संघीय निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको प्रारम्भिक मत परिणामले राजनीतिक बृत्तमा निकै खैलाबैला मच्चाएको छ। सामाजिक सञ्जालमा राजनीतिक दलका नेता, कार्यकर्ता भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी र नेता केहीमा मात्रै उत्साह होला नत्र धेरैमा निरासा, असन्तुष्टिका राग, टिप्पणी, विरोध र आरोप–प्रत्यारोपका अभिव्यक्ति छरपस्ट हुन थालेका छन्।
तनहुँ क्षेत्र नम्वर १, बारा क्षेत्र नम्वर २ र चितवन क्षेत्र नम्वर २बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि र रबी लामिछानेको नागरिकता नै खारेज भएपछि आइतबार उपनिर्वाचन भएको हो। उपनिर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा जनमत नयाँ दलतर्फ आकर्षित भएको देखिन्छ।
राजनीतिक दलहरुले गत मंसिर ४मा भएको निर्वाचनलाई आधार मानेर गरेको जोड घटाउको हिसाव मेल नखाने स्पष्ट छ। ठूला र पुराना राजनीतिक दलप्रतिको बितृष्णा चार महिनामा ‘दिन दुई गुना रात चौगुना’ बढेको छ। विशेष गरी पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा बृद्ध र नीति पुरानै तथा परम्परागत भएका कारण आमनागरिकको आकर्षण त परै जाओस बिकर्षण झन बढी रहेको छ।
नेतृत्वको दृष्टिकोणले हेर्ने हो भने कांग्रेसका सभापति शेरबहादुर देउवा ७८ बसन्त पार गरिसकेका नेता हुन भने नेकपा एमालेका अध्यक्ष ओली औषधि सेवा गरिरहेका ७२ वर्षे बृद्ध नागरिक हुन् । दुबै नेताको उमेरअनुसारको व्यवहार र जीवनशैलीमा धेरै समानता छ। प्रस्तुतिमा ओली निकै तिलस्मी र जादुगरी स्वभाव प्रस्तुत गर्छन भने देउवा शान्त र शालिनता देखाउँछन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादव सदावहार पार्टी अध्यक्ष हुन, जो कहिल्यै पार्टी फुटाउन वा पार्टीबाट आकांक्षीलाई पाखा लगाउँछन र नेतृत्वबाट वाहिर बस्न सक्दैनन्।
आफ्नो गुट, परिवारका सदस्य, नाता–गोता वा अनुयायी र भजन मण्डलीको हितमा मात्रै काम गर्ने र आर्थिक पक्षबाट सँधै प्रभावित हुने गर्दा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकमा ठूलो बितृष्णा व्यप्त छ।
पुराना दलमा न नेता परिवर्तन सहज छ नत नीति परिवर्तन नै सम्भव छ। कांग्रेस सभापति देउवाको काम गर्ने शैलीमा परिवर्तनको गुञ्जायस देखिँदैन। एमाले अध्यक्ष ओली पार्टीका सहकर्मी र सहधर्मीलाई कहिल्यै टिक्न दिँदैनन्, आफ्ना मातहतका, जुनियर वा अनुचरप्रति मात्र उनी अनुग्रहित हुन्छन्, बिरोधीलाई कुनै न कुनै पाराले पाखा लगाउनु उनको खास लक्ष्य नै हो।
कांग्रेसका संस्थापक नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला वा सुशील कोइरालामा जस्तो निडरपन, निश्वार्थी, जुझारुपना र त्यागको भावना कांग्रेसको वर्तमान नेतृत्वमा पाइँदैन । पार्टी कार्यकर्तालाई परिवारको सदस्य ठान्ने, मान्ने र उनीहरुबाट प्रत्यक्ष पार्टी संगठनको बस्तुस्थिति बुझ्ने वा सुन्ने धैर्यता र चाहना पाइँदैन।
आज कांग्रेस नेतृत्वले जनताबाट मत मात्र प्राप्त गर्न चाहन्छ। तर, नागरिकका हितमा कुनै कदम चाल्न नेतृत्वले तत्पराता देखाउन सकेको छैन। आफ्नो गुट, परिवारका सदस्य, नाता–गोता वा अनुयायी र भजन मण्डलीको हितमा मात्रै काम गर्ने र आर्थिक पक्षबाट सँधै प्रभावित हुने गर्दा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकमा ठूलो बितृष्णा व्यप्त छ।
संघीय संसद, प्रदेश र स्थानीय तहका्े प्रमुख र उपप्रमुख बन्न आर्थिक रुपमा सम्पन्न हुनुपर्ने वा पार्टीलाई आर्थिक सहयोग गर्नुपर्ने, मनोनित सांसद बन्न पार्टीको संस्थापन पक्षप्रति अन्धोभक्तिपन प्रस्तुत गर्नुपर्ने परम्पराबाट कांग्रेस वा एमाले जस्ता ठूला पार्टीमा ‘भूइँमान्छे’को प्रतिनिधित्व सम्भव छैन।
राजनीतिक नियुक्ति वा अन्य अवसर प्राप्त गर्न शीर्ष नेता वा प्रभावशाली नेताको नातागोता, परिवारको सदस्य वा निर्वाचन क्षेत्रकै हुनुपर्ने नेताको निजात्मक स्वार्थले कार्यकर्ता र शुभेच्छुकमा ठूला दल कांग्रेस र एमालेका शीर्ष नेता र दलप्रतिको आमनागरिकको बितृष्ण र बिकर्षण बढ्दो छ।
राजनीतिक दलका नेताले व्यापारी, व्यवसायी र पैशावाललाई मात्रै राजनीतिक अवसर दिने हो भने आमनेपाली जनता ती दलका कार्यकर्ता बनेर किन हिँड्ने?
कांग्रेस र एमालेले विगत ३५ वर्षदेखि तथा माओबादी केन्द्र र जसपाले १५ वर्षदेखि कुनै न कुनै रुपमा सत्तामा बसेर नागरिकलाई राज्यबाट पाउने सेवा वा सुविधामा तात्विक परिवर्तन ल्याउन सकेनन्।
साधारण परिवर्तन वा संशोधनले आमनेपालीको परिवर्तन र समृद्धिको तीब्र उत्कठ चाहनालाई अहिलेको नेतृत्वले संवोधन गर्न सक्दैन। राजनीतिक दलका नेताले व्यापारी, व्यवसायी र पैशावाललाई मात्रै राजनीतिक अवसर दिने हो भने आमनेपाली जनता ती दलका कार्यकर्ता बनेर किन हिँड्ने?
दलभित्रै असन्तुष्ट पक्ष वा फरक धारणा राख्नासाथ अन्यायमा पार्ने दलिय निरंकुसताको ज्वलन्त उदाहरण देखिरहेका आम नागरिकले आफूले पुराना दलका पुराना नेताबाट न्याय पाउने आशा, विश्वास र भरोस नगर्नु स्वभाविक नै हो।
नागरिकको जीवनस्तर सुधार्न, निशुल्क शिक्षा र स्वास्थ्यको नीति व्यवहारमा कार्यान्वयन गर्न नसक्ने, कमिसन नबुझाई वा नेता तथा मन्त्रीको सोर्स फोर्स नलगाइ एउटा नागरिकले राज्यबाट सेवा पाउनु एकादेशको कथा हुन थालेको छ।
ठूला दलका शीर्ष नेताले बेरोजगार युवाको पक्षमा, किसानको पक्षमा र निमुखाको पक्षमा न आय बृद्धि गर्न सके न न्याय। सँधैको दलका नेताको निजी स्वार्थमा सत्ता घुमेको छ। राजनीतिक दल र तिनका नेताले कार्यकर्तालाई आन्दोलन, हड्ताल, चुनावी सभामा सडकमा उतार्ने र चुनावको बेला मतदान गर्न लगाउने भन्दा खास जिम्मेवारी दिएको पाइँदैन।
ठूला दलका शीर्ष नेताहरु परिवारका सदस्य, श्रीमती, घरबेटी, आफ्ना अनुयायी र र द्रब्यदाताको भक्तिमा लिप्त हुँदा नागरिकले बैकल्पिक शक्तिको खोजि गरिरहेको छन् ।
दलका नेतामा मौलाएको दलिय एकाधिकार र निरंकुसता, नेता र दलको अपारदर्शी क्रियाकलाप, नेतृत्वले ग्रामिण भेगको किशान, मजदुर वा तल्लो तहका नागरिकसँग प्रत्यक्ष सम्पर्क गर्न नसक्दा खास यथार्थ विषयमा जानकारी पाउन सकेका छैनन् । नागरिकको समस्या र आवश्यकता के हो भन्ने कुरा आज देउवा, ओली, दाहाल र यादबले न बुझेका छन् नत देखेका छन् ।
ठूला दलका शीर्ष नेताहरु परिवारका सदस्य, श्रीमती, घरबेटी, आफ्ना अनुयायी र र द्रब्यदाताको भक्तिमा लिप्त हुँदा नागरिकले बैकल्पिक शक्तिको खोजि गरिरहेको छन् ।
२०३६ को विद्यार्थी आन्दोलनपछिको जनमत संग्रह, २०४६ को संसदीय निर्वाचन र २०६२-०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनमा आन्दोलनको नेतृत्व गरेको दलले जनताको बिश्वास जितेका छन्। जनताको विश्वासलाई व्यहारमा परिणत गर्न नसक्दा कांग्रेस र एमाले कमजोर हुँदै गएका पनि छन्।
तर नेतृत्व तहमा त्यो चेतना वा गल्तीबाट पाठ सिक्ने इच्छाशक्ति नहुँदा २०७९ सालबाट उदाएको नयाँ राजनीतिक दल रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठुला राजनीतिक विरासत भएका दललाई धुलीसात बनाउँदैछ।
जनसम्पर्क र मतदाताको सुखदुःखमा साथ दिन नसक्दा, कर्मचारीतन्त्रको पराम्परागत शैलीमा सेवा दिने प्रणाली, नेतामा नागरिकका समस्या समाधानका लागि खास योजना बन्न नसक्दा स्वतन्त्र पार्टीले नागरिकका पक्षमा निकालेको आवाजलाई यतिवेला प्रत्येक नेपाली नागरिकले समर्थन गरेका छन् ।
अब पनि राजनीति भनेको कमाई खाने भाँडो हो, हामी शासक र नागरिक वा कार्यकर्ता रैती हुन भन्ने भावनाबाट प्रेरित भएका नेताले दललाई नेतृत्व दिन खोज्नु भनेको ‘भिरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न’ भने झैं हो। यही गति र मतिले सनै सनै ठुला दलको प्रभाव खुम्चदै रास्वपा वा मधेशबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव बढ्दै जाने देखिन्छ।
नेपाली नागरिक आर्थिक रुपमा धेरै सम्पन्न नहोलान तर साक्षर र शिक्षित हुँदै चेतनाको स्तर भने आजको भूमण्डलीकरणले ह्वात्तै बढाएको छ। सूचना प्रबृधिको युग’मा यसको भरपुर प्रयोग रास्वपाले गरिरहँदा पुराना दलका बृद्ध नेताहरु ‘मेरा बाउले चार पाथी घिउ खाएका थिए, हात सुँग त…’ भने झैं कसैले पत्याउनेवाला छैन् ।
अहिलेको युवामा चेतनाको स्तर कति छ भनेर नजरअन्दाज गर्दा पुराना दल धुलिसात हुँदै जाने र नयाँ दलको पक्षमा जनमत उक्लिरहने देखिन्छ। निर्वाचनको यो प्रबृत्ति हेर्ने हो भने कांग्रेसलाई युवा नेता, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले प्रजा परिषद हुनबाट कसरी जोगाउँछन्, त्यो भने हेर्न वाँकी छ।
नत्र अब ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन’, भने झैं कांग्रेसका कार्यकर्ता र स्थानीय तहका नेता बैठक र भेलामा कांग्रेस हुने अनि मतदान गर्दा घण्टीमा छाप लगाउने प्रबृत्तिलाई नियन्त्रण गर्न निकै सकस हुने देखिन्छ ।
त्यसैले कांग्रेसलाई घण्टी कांग्रेस वा प्रजापरिषद् हुनबाट बचाउन नेतृत्व परिवर्तन वा नेतृत्वको कार्यशैलीमा परिवर्तनको विकल्प छैन् ।
२०४६को जनआन्दोलनपछि राजनीतिक परिवर्तन त भयो तर आर्थिक क्रान्तिले निरन्तरता पाउन सकेन । त्यसैले ०४८मा बहुमत ल्याएको कांग्रेस आन्तरिक कलहमा फसेपछि २०५१ को मध्यवधिपछि पूर्वपञ्चहरुको दल २० सिटे राप्रपाले कांग्रेस र एमालेको बैशाखी टेकेर २ जना प्रधानमन्त्री बन्न सफल भए।
गरिबी, अशिक्षा र विभेदलाई टेकेर शसस्त्र आन्दोलन गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओबादीले २०६४ को संविधानसभा निर्वाचनमा एक सय २२ सिट जितेर सरकार बनायो । सोही निर्वाचनमा ७० सिट पाएको मधेश केन्द्रीत दलहरु २०७० आउँदा ६ दल भए र आधाभन्दा कम हैसियतमा खुम्चिए। बहुमत नजिक भएको माओबादीले सरकार चलाउन र संविधान बनाउन नसक्दा गणतन्त्रबिरोधी दल कमल थापा नेतृत्वको राप्रपा नेपाल २०७० मा ४ बाट २५ सिटमा उक्लियो।
२०७४मा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रेबीच मोर्चाबन्दी हुँदा करिव दुई तिहाई बहुमत पाए तर स्थिरता दिन सकेनन् र अहिले नयाँ दलप्रति नागरिकको आशा बढेको देखिन्छ तर विश्वास र भर परेको भने पाइँदैन।
१. निर्वाचनको मेसो २०८२सालको फागुन २१गते हुन लागेको आम निर्वाचन अब हप्ता दिनको नजिकैजस्तो आई सकेको छ । निर्वाचन सफलताका...
मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...
काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको प्रत्यासी उम्मेदवार महिला नेता नानु बास्तोला यतिबेला घरघरमा आफ्नो पक्षमा मत...