
काठमाडौं । बहुराष्ट्रिय कम्पनीको लगानी भन्दै नेपालमा संचालनमा रहेको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर गैरकानूनी रुपमा बिक्री वितरण भएको छ ।
एनसेलको सबैजसो सेयर कारोबारमा नेपालको कानुन र सरकारका नीतिको उल्लङ्घन गर्ने गरिएको छ । हालै मात्र एनसेलमा मलेसियन कम्पनी आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा नेपालको कानूनविपरित दूरसंचार प्राधिकरणलाई थाहा दिइएको छैन ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनु पर्छ ।
तर, आजियाटाले स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडलाई सेयर बिक्री गर्दा कुनै अनुमति लिएको छैन । आजियाटाले स्पेक्ट्रलाइट कम्पनीलाई सेयर बिक्री गर्दा नेपाल सरकारलाई अर्बौं रुपियाँ राजस्व नोक्सानी समेत भएको छ ।
सन् २०१६ मा स्विडेनको टेलिया सोनेरा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटालाई १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोड रुपियाँमा बिक्री गरेको थियो ।
तर, सन् २०२३ मा उक्त सेयरको मूल्य ९६ दशमलव ३४ प्रतिशतले घटाएर जम्मा ५ करोड डलर अर्थात् ६ अर्ब ६६ करोड रुपियाँमा बिक्री गर्ने सम्झौता भएको भनिएको छ । वार्षिक करिब ४० अर्ब रुपियाँ नाफा गर्ने कम्पनीले १ खर्ब ३८ अर्ब रुपियाँ घाटा खाएर बिक्री शेयर कसरी र किन बेच्यो भनने विषय रहस्यमय छ ।
अर्बौं रुपियाँको कम्पनी खरिद गर्न तयार रहेको स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेड दुई महिनाअगाडि मात्रै दर्ता भएको हो । अत्यन्तै न्यून मूल्यमा सेयर खरिद गर्दा कर छली गर्ने योजना रहेको स्पष्ट देखिन्छ । एनसेल घाटा गएको वा टाट पल्टिएको कम्पनि होइन, टाट पल्टिए पनि उसको अर्वौंको सम्पति छ ।
यो शेयर किनबेच गर्दा कम्पनीको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) गरिएको छैन । नेपालको कानून बमोजिम पूर्वस्वीकृति, कर चुक्ता प्रमाणपत्र, डीडीएबिना नै खरिद बिक्रीको सम्झौता भएको छ ।
टेलियासोनेराले ८ वर्षअघि शेयर आजियाटानलाई बेच्दा पुँजीगत लाभकर नतिरी हिँडेको थियो । टेलियाका सीईओलगायतका कर्मचारी पुँजीगत लाभ कर नतिरी स्थलमार्ग हुँदै नेपाल छोडेका थिए ।
पछि अन्तर्राष्ट्रिय अदालत, नेपालको अदालत हुँदै आजियाटाले पुँजीगत लाभकर किस्ताबन्दीमा तिर्न बाध्य भएको थियो । यो पटक पनि यस्तै षडयन्त्र भएको देखिन्छ । एनसेलको २५ वर्षे लाइसेन्स २०८६ भदौ १६ भदौ गते समाप्त हुँदै छ ।
केही महिनापछि अन्तिमपटक ५ वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ । एनसेलकैै सेयर संरचना यथावत रहे दूरसञ्चार ऐन २०५३ को दफा ३३ अनुसार कुल पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवाको जग्गा, भवन, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ । त्यसैले एनसेलले नेपालमा कमाएको सम्पति राजश्व, कर, लाभकर केही नतिर्ने र नाफा जति विदेश लैजाने षडयन्त्र स्पस्ट छ ।
नेपालको कानून खुलम खुल्ला उल्लङ्घन हुँदा समेत सरोकारवाला निकाय मौन छन् । नेपाल दूर सचार प्राधिकरण र आन्तरिक राजश्व कार्यालयको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो प्रकरणमा सरकारको नियमन र तालुकदार सरोकारवाला मन्त्रालय भने संचार र अर्थमन्त्रालय हुन् । ती मन्त्रालयले समयमै चासो नदिने हो भने नेपालले पाउने अर्बौंंको राजश्व गुम्ने देखिन्छ ।
एनसेलमा स्थानीय साझेदारको रूपमा रहेको सुनिवेरा क्यापिटल भेन्चर प्रालिका भावना सिंह श्रेष्ठ आचार्य स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडका सञ्चालक सतिशलाल आचार्यका श्रीमान् हुन् । यद्यपि, स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडमा आचार्यले आफूलाई सिंगापुरको नागरिकका रूपमा देखाएका छन् । भोलिका दिनमा श्रीमानको कम्पनीको ३० प्रतिशत सेयर श्रीमतीले खरिद गरेमा एनसेल सरकारको स्वामित्वमा जानबाट रोकिने देखिन्छ ।
एक सय ३८ अर्ब रुपियाँ घाटा खाएर कम्पनी बिक्री गर्दा पनि आजियाटाले एकैपटक पूरै रकम प्राप्त नगर्ने, स्पेक्ट्रलाइटले आजियाटालाई छ महिनाभित्र ५० लाख डलर र बाँकी साढे चार करोड डलर सन् २०२७ सम्म तिर्ने सम्झौतामा भनिएको छ । स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेड बेलायतमै दर्ता गर्नुका पछाडि पनि अर्को रहस्य लुकेको छ । नेपाल र बेलायतबीच दोहोरो कर छुट सम्झौता अन्तिम चरणमा छ । यदि, सम्झौता भए स्पेक्ट्रलाइट कम्पनी यूके कर छुट पाउने छ ।
स्मार्ट टेलिकमको लगानीकर्ता स्क्वार नेटवर्क प्रा.लिका लगानीकर्ता नै एनसेलको नेपाली साझेदार हुन् । स्क्वार नेटवर्क प्रा.लि र एनसेलको २० प्रतिशतका नेपाली साझेदार सुनिवेरा क्यापिटल भेन्चर प्रा.लिका सञ्चालक भावनासिंह श्रेष्ठ आचार्य एउटै व्यक्ति हुन् । भावनासिंहलाई स्थानीय साझेदार भनिए पनि उनी सिंगापुरको पीआर होल्डर हुन् ।
एस ७३८५२८८ आई नम्बरको पीआर लिएकी श्रेष्ठको माइती भने ताहाचलमा रहेको स्रोतको भनाइ छ । सुनिवेरा क्यापिटल भेन्चर प्रा.लिमा शतप्रतिशत सेयर भावनाको रहे पनि निर्णय प्रक्रियामा उनका श्रीमान् सतिशलाल आचार्यका् प्रत्यक्ष हस्तक्षेप हुने गरेको छ ।
दुई दूरसञ्चार सेवाप्रदायक कम्पनीमा एउटै व्यक्ति वा कम्पनीले लगानी गर्न नपाउने चर्चा चलेपछि भावनासिंह श्रेष्ठ आचार्य र उनका देवरको नाममा रहेको स्क्वार नेटवर्क प्रा.लिलाई भावनासिंह श्रेष्ठका नातेदार सर्वेश जोशीमा हस्तान्तरण गरिएको थियो । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।...
नयाँ दिल्ली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीस्थित आफ्नो...