बामपन्थीको प्रपोगण्डा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बामपन्थीको प्रपोगण्डा

सिद्धान्त होइन स्वार्थ प्रेरित बाम एकता

स्थानीय तह लगतै हुन लागेको प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनको मत प्रभावित पार्ने गरि कम्युनिष्टहरुले प्रपोगण्डा गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीका उम्मेदवारले पाएको निर्वाचन क्षेत्रगत मतलाई आधार मान्दै सवैजसो निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर भएको तथ्य देखाउदै प्रपोगण्डा सुरु गरिएको छ ।

एमाले र माओवादीले स्थानीय निर्वाचनमा ल्याएको मत एकै ठाउँमा जोड्दा कांग्रेस कमजोर देखिन्छ । तर राजनीतिक विश्लेषकहरुको तर्कमा भने २०५४ सालको स्थानीय तहमा जीत हात पारेको नेकपा एमालेले लगतै २०५६ सालमा भएको आम निर्वाचनमा बहुमत ल्याउन नसकेको तथ्य स्पष्ट छ । त्यसैले स्थानीय तहको निर्वाचनलाई मात्र आधार बनाएर मतपरिणामको विश्लेषण गर्नु मुर्खता हुन सक्छ ।
संघीय गणतन्त्रको स्थापनासँगै मुलुकको राजनीतिमा उग्रवामपन्थी माओवादी र दक्षिणपन्थी पार्टी राप्रपा समाप्तिको दिशातिर थिए ।

नेपाली कांग्रेस र एमालेबीच दुई ध्रुवीय राजनीतिमा मुलुक प्रवेश गर्नै लागेको थियो । तर आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उग्रवामपन्थी माओवादीको अस्तित्व रक्षाका लागि एमालेले आफ्नो साखलाई दाउमा लगाएको छ भने यसको प्रतिक्रिया स्वरूप दक्षिणपन्थी राप्रपाको अस्तित्व रक्षाका लागि नेपाली कांग्रेसले आफ्नो साखलाई दाउमा लगाएको छ ।

गत स्थानीय चुनावको परिणाम हेर्ने हो भने ३४ प्रतिशत पपुलर मतसहित एमालेले ४२ प्रतिशत स्थानीय तहहरूमा चुनाव जितेको छ । नेपाली कांग्रेसले ३४ प्रतिशत पपुलर मतसहित ३५ प्रतिशत स्थानीय तहहरूमा चुनाव जितेको छ । कहीँ एमालेसँग र कहीँ नेपाली कांग्रेससँग तालमेल गर्दै माओवादीले १४ प्रतिशत पपुलर मतसहित १६ प्रतिशत पालिकामा चुनाव जितेको थियो । तर यो १४ प्रतिशत मत माओवादीका मात्रै होइनन्, त्यहाँ कांग्रेस र एमालेका मत पनि उल्लेख्य छन् ।

उदाहरणका लागि माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकामा चुनाव जितेकी रेणु दाहालले ४६ हजार मत प्राप्त गरेकी थिइन्, त्यसमध्ये ३८ हजार मत कांग्रेसको हो । यस्तै मत जोडेर माओवादीको १४ प्रतिशत पुगेको हो । माओवादी एक्लै चुनाव लडेको भए ८–९ प्रतिशतको हाराहारीभन्दा माथि पुग्ने अवस्था नभएको तथ्यांक स्थानीय तहको निर्वाचनको परिणामले पनि देखाउँछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि रुकुम रोल्पा बाहेक अरु जिल्लामा चुनाव जित्न सक्ने हैसियतमा माओवादी थिएन ।

कम्युनिष्ट एकताको कुरा यस पटक मात्रै होइन धेरै पहिलादेखि हुँदै आएको हो तर सिद्धान्त, दर्शन वा निष्ठाभन्दा सत्तामा पुग्ने खेलका लागि हुने एकताको कुराले खासै अर्थ राखेको थिएन । यसपालीको एकताको कुरा पनि एक पार्टी पर्ने आधार दिन सकेको छैन । एकीकरणको कुरा कुनै दर्शन र सिद्धान्तका लागि होइन सत्ता स्वार्थको परिणिति मात्रै भएको बुझ्न केही आधार खोज्न आवश्यक छैन ।

एकतामा संलग्न दल र तिनका नेताका पृष्ठभूमीले नै एकीकरणको सार्थकतालाई औचित्यहीन बनाएको छ । प्रचण्ड संसदीय व्यवस्थामा आएको धेरै समय भएको छैन । ब्यालेटका बिरुद्ध सशस्त्र युद्ध गरेका प्रचण्ड त्यही ब्यालेटबाट यो देशको कार्यकारी भए तर, संविधान सभाको दोस्रो निर्वाचनको नतिजापछि ब्यालेटलाई नै चुनौती गरे । जनमतलाई नै अस्वीकार गर्ने अभिब्यक्ति दिए । तिनै प्रचण्डले आज फेरि समाजवादको नयाँ मोेडेल तयार गरेर विश्वलाई नै चकित पार्ने भन्दै बामएकतामा अगाडि बढेका छन् ।

त्यो नयाँ मोडेल के हुने ? कस्तो हुने ? नयाँ मोडेलको खाका बनेर एकिकृत हुने दुई पार्टीको सैद्धान्तिक सहमतिसहित एकीकरणको कुरा सुरु गरेका त होइनन् । जनताको बहुदलीय जनवादलाई आफ्नो मूल सिद्धान्त ठान्ने एउटा पार्टी, माओवादलाई मार्गदर्शन मान्ने अर्को पार्टी एकताअहिले के कुरालाई मार्गदर्शक सिद्धान्त मानेर एक भएको हो त्यसको कुनै ठोस जवाफ छैन ।
माओवाद र जनताको बुहदलीय जनवाद दुबैको फुयुजन सम्भव छैन । किनकी माओवाद पूर्व हो भने जनताको बहुदलीय जनवाद पश्चिम हो । नेपालको परिवेशमा माओवाद, माक्र्सवाद कुनैको पनि संम्भावना छैन भन्ने ठहर गर्दै मदन भण्डारीको जवजलाई मूलमन्त्र बनाएको हो एमालेले । जवज प्रचण्डले चुनवाङ बैठकमा लिएको तत्कालिक रणनीति होइन, जवज खरिपाटी बैठकमा प्रचण्डलाई घेरावन्दीमा पारेर लोकतान्त्रिक पद्धतिलाई स्विकार गर्ने जर्वरजस्त निर्णय जस्तो पनि होइन ।

न त जवजले संसदीय व्यवस्थालाई खसीको मासु देखाएर कुकरको मासु बेच्ने ठाँउ नै भन्छ । एमाले र माओवादी एकिकरणको कुरा अगाडि बढ्दै गर्दा न त माओवादीले जवजलाई स्विकार गरेर अगाडि बढ्छु भनेको छ नत माओवादलाई एमालेले स्विकार गरेको छ । न कुनै नयाँ सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तका रुपमा एकिकरणको प्रक्रियाले स्विकार गरेको छ भने बाम एकताको लक्ष्य के भन्ने बिषय दुवै पार्टीका आम कार्यकर्ताहरुले उठाउन थालेका छन् ।
माओवादीको लोकतान्त्रिक पद्वति प्रतिको प्रतिबद्वताप्रति अझै आंशका छन् । माओवादीको अन्तिम लक्ष्य लोकतान्त्रिक गणतन्त्र हो की हैन भन्ने विषय । यो आशंका कसैको संवेग, पूर्वाग्रह, सर्किणता र गलत बुझाईको परिणाम होइन, केही समय अगाडिका निर्णय र प्रचण्डका अभिब्यक्ति नै यसका प्रमाण हुन् । प्रचण्डले पछिल्लो समय यो व्यवस्था हाम्रो अन्तिम लक्ष्य होइन भनेको पनि धेरै भएको छैन ।

संसदीय व्यवस्था र लोकतान्त्रिक पद्धतिका माध्यमले समाजवाद अन्तिम लक्ष्य भन्ने एउटा पार्टी र संसदीय व्यवस्थालाई रणनीतिका रुपमा प्रयोग गर्ने अर्को पार्टीबीचको कार्यगत एकता पनि अप्राकृतिक हुन्छ भने एकिकरण प्राकृतिक ठान्ने कसरी भन्ने प्रश्न राजनीतिक विश्लेषहरुले उठाउन थालेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले बाम एकतालाई नेपालको आवश्यकता र जनताको आकांक्षा भनेर परिभाषित गरेका छन् । ओली माओवादीका कटु आलोचक भएकाले पनि उनको यो परिभाषा स्वार्थ र आत्म केन्द्रित कुरा मात्रै हो भन्ने प्रष्ट हुन्छ । ओलीले तिनै जनतालाई माओवादीका विषयमा अहिले सम्झाईरहेका छन् जुन जनतालाई हिजोसम्म माओवादी ध्वंशकारी, बिदेशीको इसारामा चलेको पार्टी, अझ जंगली भन्दै आएका थिए । आज एमालेसंग सहकार्य गर्ने वित्तिकै गहँुत छर्के जस्तै चोखियो त भन्ने प्रश्न ओलीलाई एमाले कै कार्यकर्ताहरुले गरिरहेका छन् ।
एता बामगठबन्धनले प्रतिस्पर्धीको सिट घट्नु भनेको पनि आफूलाई फाइदा हुनु हो भन्ने ढंगले नेपाली कांग्रेसले लिएको हुनुपर्छ । तर त्रिशंकु संसदमा १०–१५ सिट भएको पार्टीका लागि बार्गेनिङ गर्ने ठूलो अवसर हुन्छ । २०५१ देखि २०५५ सम्म राप्रपाले आफ्नो असली अनुहार देखाएकै हो । २०४६ सालमा पुनस्थपनापछि बहुदलीय लोकतन्त्र बद्नाम हुनुमा राप्रपाको गतिविधि मुख्य कारण हो । संसद्भित्रबाट एमाले राप्रपाले बद्नाम गर्ने र जंगलबाट माओवादीले सशस्त्र आक्रमण गरी संसदीय व्यवस्थालाई थिलथिलो बनाएपछि मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र अपहरण गरेको कुरा ताजै छ ।

यी दुवै शक्ति लोकतन्त्रका दुश्मन भएको महसुस गर्दै राजनीतिबाट किनारा लगाउने अभियानमा मुलुकको जनमत देखिएको छ । संविधान जारी भएपछि सम्पन्न स्थानीय तहको निर्वाचनको जनादेशले त्यही संकेत दिएको छ । तर एमालेले माओवादीलाई काँधमा बोकेर वैतरणी तार्ने निर्णय लिएपछि त्यसको प्रतिक्रियामा कांग्रेसले राप्रपालाई काँधमा राख्नु बाध्यता बनेको हो ।
बाम तालामेल र एकताको अहिलेसम्मको प्रक्रियाले यतिमात्रै स्पष्ट पारेको छ कि केपी ओली निर्वाचनपछि आफ्नो प्रधानमन्त्री हुने इच्छामा कुनै अवरोध चाहदैनन् । एमाले बहुमत नल्याउने खतराबाट मुक्त हुन चाहन्छ, त्यसैले स्थानीय तह निर्वाचन अगाडि नचाहेको तालमेल अहिले गरे र एकताले प्रधानमन्त्रीको कुर्सीमा पुग्न अझै सुरक्षित हुनेमा ओली विश्वस्त छन् ।

उता प्रचण्डलाई अस्तित्व जोगाउनु छ । राष्ट्रिय राजनीतिमा प्रतिनिधि सभामा प्राप्त हुने पार्टीको हैसियतले नै खास महत्व राख्दछ । प्रचण्डलाई खासमा आफ्नो अस्तित्व जोगाउने समस्या हो । तालमेल र एकताले प्रचण्ड दुवैतिर अस्तित्व जोगाउने अवस्थामा पुग्दछन् । पहिलो, प्रतिनिधि सभामा राम्रो सिट र दोस्रो एकीकृत पार्टीमा सामानान्तर अवसर । यो तालमेल एकताको अर्को एउटा गम्भीर पक्ष के हो भने पार्टीगत भन्दा ओली र प्रचण्डलाई ब्यक्तिगत रुपमा यसले धेरै नै फाइदा पु¥याउने देखिन्छ ।

 

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ कार्तिक २३, ०९: ३७

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ कार्तिक २३, ०९: ३७

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०७४ कार्तिक २३, ०९: ३७

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...