आगामी निर्वाचनका लागि अस्थिरता ल्याउने तत्व सक्रिय हुन थालेको देखिन्छ – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

आगामी निर्वाचनका लागि अस्थिरता ल्याउने तत्व सक्रिय हुन थालेको देखिन्छ

hfd

नयाँ विकल्प,

काठमाडौं – १. मुलुकमा भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ र त्यसको समीक्षा दन्त्यकथामा दृष्टिविहीनहरुले हात्ती छामेको जस्तै गरिरहेका छन् । दलहरु आखिर जित त हाम्रै नै हुन्छ भनेर आत्मरतिमा रमाइरहेका छन् भने दलले मुलुकको राजनीतिलाई बाटो दिन नसकेकाले विकल्पको रुपमा योग्य उम्मेदवारको चयन गरी बरु स्वतन्त्ररुपमा नै भए पनि उठाएर नयाँ विकल्प दिन सकिन्छ कि भनेर लाग्नेहरुको पनि कमी छैन ।
२. निर्वाचनको सर्सर्ती समीक्षामा नेपाली कांग्रेसको मत र स्थान दुवैमा अरुभन्दा बढी देखिन्छ । तर गठबन्धनका दलहरु त्यो मान्न तयार छैनन् किनभने उनीहरुको विचारमा त्यो वहुमत या धेरै मत उनीहरुको कृपामा आएको हो । नेपाल कम्युनिस्ट पार्टी एमालेको भाषामा त एमालेसँग निर्वाचन अड्न अरु दलको हैसियत नै पुग्दैन । एमाले एकातिर भित्रभित्रै अरु दलसँग मिलेर गठबन्धन गरिरहेको होला, शक्ति सञ्चय गरिरहेको होला, जसले जे माग्छ त्यही दिएर भए पनि गठबन्धनमा भाँजो हाल्न खोज्दै होला र पनि एमालेको हिम्मतचाहिँ एक्लै भिड्ने देखिन्छ । संविधान विरुद्धमा गएर बारम्बार प्रतिनिधि सभा विघटन गरेकाले संघीय सरकार पनि गयो, प्रादेशिक सरकारहरु पनि गए र स्थानीय तहमा कतिपय २०७४ सालभन्दा कम संख्यामा स्थानीय सरकारमा जित हासिल गरेको पनि हो । तर जुन परिणाममा क्षति हुने अनुमान एमालेले गरेको थियो, त्यति नभएर बच्छी देखिएकोमा एमाले हौसिएको छ र जसरी पनि गठबन्धनमा भाँजो हालेर या आम गठबन्धनको चारो फालेर नयाँ समीकरण तयार गर्नेमा एमाले देखिन्छ भने माओबादी केन्द्र कसरी आफ्ना सांसदहरुको संख्या बढाउन सकिन्छ भनेर नयाँ तरिकाको खोजीमा देखिन्छ । एमालेमा त अझै संसदीय व्यवस्थाप्रतिको आस्थामा शंका उपशंका गरिँदै छ भने माओवादी केन्द्रले त भन्ने नै गरेको छ , हामी परम्परागत संसदवादी होइनौँ, अहिलेको रणनीतिमात्र हो राजनीतिक समायोजनका लागि , मौकाको खोजीमा रहेका छौँ छलाङ् मार्न । त्यस्तो छलाङ् कस्तो हो भन्दा त्यही पुरातनपन्थी एकदलीय परम्परामा नै फर्कने होला भन्ने अनुमान गरौँ किनभने अहिले लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिको रुपमा देखिँदै छ ।
३.नेपाली कांग्रेसको समीक्षाको रुपमा केन्द्रीय सदस्य प्रदीप पौडेलको प्रतिवेदनलाई लिन सकिन्छ । त्यो प्रतिवेदनले कतिपय प्रश्नमा गठबन्धन दलका बारेमा स्पष्ट बोल्न सकेको देखिँदैन किनभने सभापति शेरबहादुर देउबा गठबन्धनका विरुद्ध वा नकारात्मक पक्षमा बोलेको मन पराउनु हुन्न भन्ने संशय र डरका कारणले साँच्चा कुरा लेख्न हच्किएको देखिन्छ तर संकेतमा भनिएका भाषामा धेरै अर्थ लगाउन सकिन्छ । कांग्रेसमा दुवै धारणा उत्तिकै प्रबल देखिन्छ—गठबन्धन नगरेको भए अहिलेभन्दा धेरै सफलता प्राप्त गर्न सकिन्थ्यो र आफ्नो क्षमताको पहिचान पनि हुन्थ्यो , अर्को धारणा यदि गठबन्धन नगरेको भए अहिलेको सफलता मिल्ने थिएन किनभने माओबादी र एमाले धेरै ठाउँमा मिलेर कांग्रेसलाई हराउँथे ।
४. दुवै कुरा आंशिकरुपमा ठिक हो । हालै निर्वाचन भएको छ तर के कुराको स्पष्ट जानकारी दिन सकिँदैन भने यथार्थमा नेपाली कांग्रेसको मत कति हो ? चितवनमा नेपाली कांग्रेसको अवस्था कस्तो छ ? पोखरामा या हेटौँडामा या जनकपुर या धनगढीमा कति हो नेपाली कांग्रेसको मत ? कुन मतलाई आधार बनाएर आगामी प्रदेश तथा प्रतिनिधि सभामा सांसदहरुको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार उठाउने ? गठबन्धनका कुनकुन दललाई कहाँ कहाँ नेपाली कांग्रेसले सहयोग गर्ने ? पाँचवर्ष अघि पनि उपेन्द्र यादव, महन्थ ठाकुर , डाक्टर बाबुराम भट्टराईलाई सहयोग गरेको थियो र फेरि पनि उहाँहरुलाई सहयोग गर्ने होला, अनि उहाँहरुबाट कहाँ कहाँ सहयोग हुने हो , त्यसको जानकारी कसरी होला भन्ने शंका पनि देखिन्छ । गठबन्धन यथावत रहेमा गठबन्धनका नेताहरुमा पक्कै एकअर्काका नेताका विरुद्धमा नलड्ने होला , त्योबेलामा कुन स्थानमा कसले कति दबाब दिएर आफ्ना उम्मेदवार उठाउने होला ? भर्खरै पनि नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको कुरा स्मरण गरौँ— नेपाली कांग्रेसको दम्भलाई आगामी प्रदेश तथा संघीय निर्वाचनमा ठिक ठाउँमा राखिन्छ । अर्थात् त्यस्ता उम्मेदवारलाई हराइन्छ वा उठ्न दिइँदैन जसले गठबन्धनका विरुद्ध बोले या आगामी दिनमा संसदमा जनताको आवाजका नाममा प्रजातन्त्रका पक्षमा बोल्नेछन् ।
५. दुवै कुरामा सबै दलहरुले ध्यान दिनेछन्,जसरी पनि आफ्ना तिनै नेताहरु जित्नुपर्ने छ जसले दसकौँदेखि नेतृत्व गरिरहेका छन् । अनि आफ्ना पक्षमा बढीभन्दा बढी सांसदहरु जितून् , अनिमात्र गठबन्धनको महत्व देखिने छ । यसको मतलब एमालेको अवस्था कमजोर छ भन्ने नबुझौँ किनभने गठबन्धनमा देखिएको विवाद र अमिल्दोपनको फाइदा यही स्थानीय निर्वाचनमा पनि देखिएको छ ।
६. र अन्त्यमा, निर्वाचनमा जसले जितोस् वा हारोस् तर अबको निर्वाचनमा प्रजातन्त्रले नहारोस् । वहुदलीय व्यवस्थाप्रतिको आकर्षणमा कमी नहोस् । त्यसको लागि विशेषतः नेपाली कांग्रेसको उम्मेदवार चयनमा ध्यान पु¥याउनु पर्ने नेपाली कांग्रेसका मौन समर्थकहरु ठान्दछन् । राजनीतिक पर्यवेक्षकहरुका धारणामा प्रजातन्त्रको पक्षमा संघर्ष गर्ने संस्था नेपाली कांग्रेसले नै आफूलाई पारदर्शीरुपमा समीक्षा गरेर उम्मेदवार चयनमा ध्यान दिएमा र योग्य व्यक्तिहरुको चयन गरेमा अझै पनि नेपाली प्रजातन्त्रवादीहरुको पक्षधरतामा नेपाली कांग्रेस नै पर्छ । मुलुकलाई प्रजातन्त्रको विकासको क्रममा पनि रहेको अनि मुलुक अस्थिरतातर्फ लम्केको बेलामा यदि प्रजातन्त्र हार्ने अवस्था आयो भने मुलकु झन संक्रमण कालमा जाकिने छ जस्तो कि नेकपाको शासन कालमा मुलुक झन झन अस्थिर भएको प्रमाण अहिले देखिएको छ । गठबन्धन भनेको प्रजातन्त्रका पक्षमा हुनुपर्छ , यो कुरामा नेपाली कांग्रेस र एमालेका बिचमा सहमति र सहकार्यको विकल्प छैन भन्नेहरु पनि छन् । त्यसैले आगामी निर्वाचन नेपालको स्थिरता र अस्थिरताको संघर्षमा निर्णायक मोड साबित हुनेछ । अस्थिरताका लागि सलबलाएको शक्ति झन झन सक्रिय देखिन थालेको छ ।

सम्बन्धित समाचार

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
  • २०७९ असार १, १४: ३९

काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७९ असार १, १४: ३९

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७९ असार १, १४: ३९

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...