श्रीलङ्काले सिकाएको राजनीतिक पाठः हामी पनि त्यही बाटोमा पो छौँ कि ? – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

श्रीलङ्काले सिकाएको राजनीतिक पाठः हामी पनि त्यही बाटोमा पो छौँ कि ?

hfd

नयाँ विकल्प,

काठमाडौं – १. नेपालको अवस्था कस्तो छ ? राम्रो छैन । सामान्यतया आउने जबाफ यही हो । कतै पनि चित्त बुझाउने ठाउँ छैन । सबैतिर अन्यौल छ । राजनीतिले आफ्नो बाटो बिराएको धेरै भयो । सबैको मुखमा श्रीलङ्काको नाम झुन्डिएको छ । कारण हो श्रीलङ्कामा देखिएको बेथिती र नेपालमा देखिएको राजनीतिक कमजोरी झन्डै झन्डै उस्तै छ । पछिल्ला उदाहरणहरुले मुलुक श्रीलङ्काको बाटो पछि लागेको जस्तो देखिन्छ भनेर राजनीतिक पर्यवेक्षकहरु भन्न थालेका छन् ।
२. श्रीलङ्का भनेको दक्षिण एसियाको सबैभन्दा शान्त देश थियो । बुद्ध धर्मावलम्बीहरु वहुतायत रहेको शान्त देशमा अचानक तमिल विद्रोहको ज्वाला दन्काइयो जसले लाखौँ मानिसहरुको ज्यान लियो, लाखौँ अपाङ्गताको जीवन बाँच्न बाध्य भएका छन् । तमिल विद्रोेहको आगो निभाउने भनेर आफूलाई महानायक बताउने तत्कालीन राष्ट्रपति महेन्दा राजापाक्षे र तमिल विद्रोह दमनमा आफ्ना दाजुलाई सघाउने तत्कालीन सेनापति गोटाबाया राजापाक्षेको सत्तामा नागफणि राख्ने योजनाअनुसार अहिले गोटाबाया परिवारको हाली मुहाली थियो । त्यसो त गोटाबाया परिवारकै पाँचजना मानिसहरु सत्ताको केन्द्रमा नै थिए । तर मुलुक कहाँ पुग्यो भने जनताले प्रधानमन्त्रीको रुपमा रहेका महेन्दा राजापाक्षेलाई सत्ताबाट जनआन्दोलनले हिन्द महासागरको कुन कुनोमा फ्यालेको छ , कसैलाई थाहा छैन। राजीनामा दिएर पनि उनी लुकेर बसेका छन् । गोटाबाया बस्ने राष्ट्रपति निवासमा प्रदर्शनकारीहरुले कब्जा गरेका छन् र उनको राजीनामा नभई जनता त्यहाँबाट हट्नेवाला छैनन् ।
३. मुलुक आर्थिक अवस्थामा टाट पल्टेको छ । ओखती छैन , जति छ कालोबजारमा छ । इन्धनको हाहाकार छ । किन्ने पैसा छैन । विदेशी मुद्राको सञ्चिति करिब करिब शून्यमा झरेको छ जसले गर्दा आयातका लागि पैसा छैन भनिएको छ । जो जो सत्तामा आए, मुलुकलाई दोहन मात्र गरेकाले यो अवस्था आएको हो । भ्रष्टाचार यत्ति मौलाएको छ कि जसलाई जत्तिबेर मनलाग्यो नियुक्ति गर्ने, नियुक्तिका लागि पैसा लिने, जहाँबाट भए पनि ऋण लिई रहने र मोजमज्जामा लगाउने । यही मेसोमा परराष्ट्र नीति यति धेरै चीनमुखी बनाइयो कि भारत, अमेरिका, बाङ्लादेशजस्ता देशहरु अहिले यो अप्ठेरोमा पनि उद्धारका लागि देखिएनन् । प्रजातन्त्र यसैपनि खतरामा रह्यो नै ।
४. अब कसरी श्रीलङ्काको समस्या समाधान हुन्छ त ? चारैतिर कालोबादल मडारिएको छ । देश टाट पल्टेको छ । मुलुक अराजकता रुमल्लिएको छ । अब के हुन्छ , कसैले भन्न पनि सक्दैन । अहिलेको अराजक अवस्थाको अन्त्य कसरी हुन्छ भन्ने अनुमान कसैले पनि यसकारणले लगाउन सक्दैनन् कि मुलुकको अवस्थालाई समाल्न सर्वप्रथम आवश्यक पैसा चाहियो, अन्तराष्ट्रिय संस्थाहरुप्रतिको विश्वसनीयता गुमाएको अवस्था छ र मुलुक टाट पल्टेकोले जनताको आवश्यक आवश्यकता पूरा गर्न सरकार अक्षम छ । हाहाकारको अवस्थामा मुलुक छ । नेतृत्वप्रति कसैलाई विश्वास छैन । यस्तो बेला छ । उद्धार गर्नका लागि सबैभन्दा बढी वास्ता गर्नुपर्ने भनेको छिमेकी देश भारतले हो, तर चीनसँगको बढी समर्पण भाव देखाएका राजापाक्षेहरुको नेतृत्व हुन्जेल भारत र अमेरिकाले उद्धारमा वास्ता गर्नेछैनन् । नेपाल अहिले पनि दक्षिण एसियाली क्षेत्रीय संगठनको अध्यक्षको हैसियतले निर्बाह गर्नुपर्ने दायित्व निर्बाह गर्न सकेको छैन ।
५. त्यतिमात्र होइन , नेपालको अवस्था पनि श्रीलङ्काजस्तै हुने अनुमान गर्न थालिएको छ । पछिल्लो अवस्था भनेको दलहरुप्रतिको अविश्वास जनतामा यत्ति बढेको छ कि कुनै पनि बेला जनता सडकमा उत्रिँदै छन् भन्ने देखिन्छ । महङ्गी बढेको छ र हालै अर्थमन्त्रीको राजीनामाको घटनाले देखाएको संकेतले मुलुक झन झन आर्थिक अवस्थाको गलत मोडमा पुगेको देखिन्छ ।
६. नेपालको विदेश नीतिमा कम्युनिस्टहरुले चीनप्रति बढी भर पर्ने नीति लिन थालेकोले मुलुक कतै श्रीलङ्काको बाटो पो जान लागेको हो कि जस्तो देखिन्छ । भारतसँग हाम्रो सीमाको कारणले राम्रो सम्बन्ध छैन । अमेरिकालाई नेपाली राजनीतिमा यति गाली गरियो कि अमेरिका छक्क परेको छ किनभने सहयोग गर्नु अनि गाली खानु ? जनताको आवश्यकता पूरा गर्न आवश्यक पर्ने आयात गर्नका लागि विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको अवस्था छ । राजनीतिक नेतृत्वप्रति विश्वास जगाउने काम नेतृत्व वर्गले गराउन सकेका छैनन् । आम निर्वाचनको पूर्वसन्ध्यामा मन्त्रीहरु परिवर्तन गर्न गठबन्धनका दलहरु लागी परेका छन् । कुनै दलभित्र पनि एकता छैन । कुनै दलभित्र पनि आफ्नो नेतृत्वप्रति विश्वास छैन । जनताको राजनीतिक दलहरुप्रति विश्वास छैन । यस्तो अवस्थामा कुनै पनि बेला नेपाली जनता सडकमा ओर्लेर अहिलेको अवस्थाको विरुद्धमा आवाज बोल्न थाले कसलै नियन्त्रण गर्ने ? अहिले देखिएको श्रीलङ्काको अन्यौल नेपालमा पनि विभिन्न संकेतसाथ देखिन थालेको छ ।
७. र अन्त्यमा, सबैदलमा देखिएको असन्तोषलाई यदि बेलैमा व्यवस्थापन गरिएन भने विभिन्न दलका असन्तुष्टहरुले नै आगामी निर्वाचनमा नयाँ अवस्था सृजना गर्नेछन् जसमा जनताको असन्तुष्टिलाई प्रयोग गर्नेछन् । त्यसैले प्रजातन्त्रको भविष्य सुुरक्षित गर्नका लागि पनि र नेपाललाई श्रीलङ्काजस्तो अराजक अवस्थामा जानुभन्दा पहिले नै उपचार खोज्नुपर्छ । त्यसका लागि अहिलेको अवस्थाका लागि नागरिक समाजले गम्भीरताका साथ समीक्षा गरी जनतालाई सम्झाउन सक्नुपर्छ कि अराजकता आउनु भन्दा पहिले गरिने कामहरु केके हुनसक्छन् , भन्न सक्नुपर्छ किनभने मुलुकमा अराजकता आयो र गम्भीर अराजकता आयो भने भ्रष्टाचारीहरु त हेलिकप्टर लिएर पनि भाग्लान् विदेशमा गएर मोज गर्लान् तर हामी नेपालीहरुले फेरि अस्थिर राजनीतिको मार खप्नुपर्नेछ । समयको पदचाप राजनीतिक नेतृत्वहरुले सुन्न सकेनन् भनेर अब चुप लाग्ने बेला रहेन । हामीले मुलुक श्रीलङ्काजस्तो अवस्थामा पुग्नुभन्दा पहिले नै त्यसको उपचार खोज्नैपर्छ र कसरी मुलुक टाट पल्टनबाट जोगाउने भन्नेबारेमा सोचेनौ भने हाम्रो अस्मितामाथि नै प्रश्न उठ्न सक्नेछ । निरन्तरताको सजगता आवश्यक परेको छ ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७९ असार २७, १४: ००

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७९ असार २७, १४: ००

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७९ असार २७, १४: ००

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...