सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु आदेश जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका विभिन्न क्षेत्रमा लागू गरिएको छ । प्रशासनका अनुसार उत्तरतर्फ लक्ष्मीनियाँ गाउँपालिका–७ को हाटबजार चोकदेखि पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोड क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, तथा दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रसम्म कर्फ्युको दायरा निर्धारण गरिएको छ । यसैगरी पश्चिम दिशातर्फ सिनुरजोडा–सोहनी हुँदै मनिमण्डप, इस्कोन क्षेत्र र दुधमती पुल आसपाससम्म पनि प्रतिबन्ध लागू गरिएको प्रशासनले जनाएको छ ।

प्रदर्शन चर्किँदै गएपछि स्थिति थप जटिल बन्न सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय लिएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ। साथै, सर्वसाधारणलाई अफवाहमा नफस्न, संयमता अपनाउन र शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ ।

सिरहा जिल्ला अन्तर्गत गोलबजार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ ।

प्रशासनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ स्थित राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्युको दायरा निर्धारण गरिएको छ ।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यु लगाउने निर्णय गरेको प्रशासनले जनाएको छ ।

दुवै जिल्लामा जारी कर्फ्युले सुरक्षा चुनौती गम्भीर बन्दै गएको संकेत गरेको छ । प्रशासनले नागरिकलाई सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा शान्ति–सुरक्षामा सहयोग गर्न पुनः आग्रह गरेको छ ।

सुनसरीको देवानगन्ज नगरपालिकामा भएको घटनाको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएको छ ।

सम्बन्धित समाचार

बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी
बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी
  • २०८३ श्रावण १४, १५: १५

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...

आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह
आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह
  • २०८३ श्रावण १४, १५: १५

काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन्...

सिरहामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
  • २०८३ श्रावण १४, १५: १५

सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर...