आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सम्पूर्ण नेपालीलाई संयमित रहन, सहिष्णुता अपनाउन तथा आपसी सद्भाव कायम राख्न विशेष आग्रह गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी ‘सद्भाव सन्देश’मा सुनसरी क्षेत्रमा भएको द्वन्द्वका कारण जनधनमा क्षति पुगेको र त्यसको प्रभाव कोशी प्रदेशसहित तराईका अन्य भागसम्म फैलिएकोप्रति दुःख व्यक्त गरिएको छ । यस्ता घटनाले समाजमा अस्थिरता र अशान्ति निम्त्याउने भन्दै उनले तत्काल शान्ति र समझदारी कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएकाले यही विविधता नै राष्ट्रिय पहिचान र गौरवको आधार भएको उल्लेख गरिएको छ । यस प्रकारको विविधतामा कुनै पनि प्रकारको खलल पुग्नु राष्ट्रकै लागि हानिकारक हुने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

पूर्वराजा शाहले नेपाली समाजको दीर्घकालीन परम्परा आपसी मेलमिलाप, सहअस्तित्व र सहिष्णुतामा आधारित रहेको स्मरण गराउँदै पछिल्ला घटनाहरूले त्यस मूल्यमान्यतालाई चुनौती दिएको बताएका छन् । “यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो, त्यसैले जहाँसुकै रहेका नेपालीहरूबीच एकता र समझदारी आवश्यक छ,” सन्देशमा उल्लेख गरिएको छ ।

उनले सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने प्रयासप्रति पनि चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् । देशभर शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्नु नै अहिलेको प्रमुख आवश्यकता भएको उनले स्पष्ट पारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले आफू राजा हुँदाको हैसियतमा जसरी नै सन्देश जारी गरेका छन् ।

सम्बन्धित समाचार

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८३ श्रावण १४, १६: २६

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...

वीरगन्जमा निषेधाज्ञा जारी
वीरगन्जमा निषेधाज्ञा जारी
  • २०८३ श्रावण १४, १६: २६

पर्सा : पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बिहीबार साँझदेखि...

बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी
बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी
  • २०८३ श्रावण १४, १६: २६

ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...