कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको छ।

नेपाली कांग्रेस क्षेत्र नं. ९ का कार्यवाहक सभापति मोहनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी केन्द्रीय सदस्यहरू धर्मराज गौतम, नानु बस्तोला, डा. अमिता प्रधान, महासमिति सदस्यहरू रीता ढकाल दवाडी, किरण गिरी, शैलेश कर्माचार्य, सुधा रिजाललगायतको उपस्थिति रहेको थियो।

उक्त समीक्षा बैठकमा महाधिवेशन प्रतिनिधिहरू सागरदास रञ्जित, सुनिल श्रेष्ठलगायत क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश कार्यसमितिका पदाधिकारी, नगर कार्यसमितिका पदाधिकारी तथा नगर र महानगरअन्तर्गत रहेका १४ वडामा क्रियाशील सदस्यता अध्यावधिकलाई व्यवस्थित गर्न खटाइएका वडा सभापति तथा वडा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा सभापति तथा वडा सभापतिले खटाएका प्रतिनिधिहरूले जरा अभियानबारे भएको छलफल, जरा अभियानको अपरिहार्यता, हालसम्म अध्यावधिक भएका क्रियाशील सदस्यताको यकिन संख्या तथा अध्यावधिकका क्रममा आएका समस्याबारे केन्द्रीय महामन्त्री प्रदीप पौडेलसँग खुला संवाद गरेका थिए। वडा सभापतिहरूले वर्तमान अवस्थामा क्रियाशील सदस्यता अध्यावधिकका कारण गाउँ–गाउँका कांग्रेस कार्यकर्ता उत्साहित बनेको बताएका थिए।

वडा सभापतिहरूको खुला बहसपछि केन्द्रीय महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अध्यावधिकका लागि धेरै ढोका खुला गरिएकाले अझै पनि अध्यावधिक गर्न छुट भएका तथा अध्यावधिक गर्न चाहने नेताहरूलाई सहजीकरण गर्न आफू नै लागिपर्ने बताएका छन्।
उनले परिवर्तित समयअनुसार डिजिटल रूपमा कांग्रेस बनाउँदा के समस्या भयो, पार्टीलाई पारदर्शी ढंगबाट सञ्चालन गर्ने प्रक्रिया बनाउँदा कहाँ समस्या भयो भन्ने विषयमा समस्या मात्र औंल्याएर नहुने, त्यसको समाधान पनि खोजिनुपर्ने बताए। त्यसैले अध्यावधिक गर्ने कार्यलाई जरा अभियानमार्फत घर–घरमा कांग्रेसको संगठन पुर्‍याउने अभियानका रूपमा अघि बढाइएको र पार्टीभित्रैबाट सुधार खोजिएको बताए।

त्यस्तै केन्द्रीय सदस्यहरू धर्मराज गौतम, नानु बस्तोला, डा. अमिता प्रधान, महासमिति सदस्यहरू रीता ढकाल दवाडी, सुधा रिजाललगायतले पनि जरा अभियानले कांग्रेसको संगठनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

क्षेत्र नं. ९ अन्तर्गतका वडा समितिहरूले क्रियाशील सदस्यता अध्यावधिकसम्बन्धी प्रतिवेदन क्षेत्रमा बुझाएका छन्। प्रतिवेदनअनुसार चन्द्रागिरि नगर समितिअन्तर्गत वडा नं. १ मा १०१, वडा नं. १२ मा १३३, वडा नं. १३ मा १४०, वडा नं. १४ मा ११९ र वडा नं. १५ मा १३९ जनाले अध्यावधिक गरेका छन्।

त्यस्तै नागार्जुन नगर समितिअन्तर्गत वडा नं. ६ मा २१६, वडा नं. ८ मा ८०, वडा नं. ७ मा ३१७, वडा नं. ९ मा १८७ र वडा नं. १० मा १६२ जनाले अध्यावधिक गराएका छन्।

त्यस्तै काठमाडौं महानगरपालिकाका वडा नं. १४ मा ३०६, वडा नं. १२ मा ११३, वडा नं. २१ मा १९१ र वडा नं. २२ मा १६४ जनाको अध्यावधिक भएको नेपाली कांग्रेस क्षेत्रीय समितिका कार्यवाहक सभापति मोहनबहादुर बस्नेतले नयाँ विकल्पलाई बताएका छन्।

पुराना १,८३१ जना र नयाँ ५३७ जनाले अध्यावधिक गरेकाले क्षेत्र नं. ९ भरि जम्मा २,३६८ जनाले अध्यावधिकमा नाम दर्ता गराई एनसीआईडी नम्बर प्राप्त गरेको कुरा क्षेत्रीय कार्यसमितिका उपसभापति राजेन्द्रप्रसाद भट्टराईले बताए।

क्षेत्र नं. ९ को कांग्रेसको सांगठनिक अवस्था, सहभागीहरूले अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेका विचार तथा डिजिटल अध्यावधिकको अवस्थालाई हेरेर क्षेत्रभित्रका युवालाई समेट्ने, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, समावेशितालाई प्राथमिकता दिने, महिला, दलित र जनजातिको सहभागिता बढाउने तथा युवा नेतृत्वलाई जिम्मेवार बनाउँदै जनमुखी कांग्रेस बनाउने पहल गरिने कार्यवाहक सभापति बस्नेतले बताए।

त्यसैगरी महासमिति सदस्य रीता ढकाल दवाडीले क्षेत्रमा अहिले वास्तविक क्रियाशील सदस्यहरूको अभिलेखीकरण भएको र क्षेत्रमा तीन जना केन्द्रीय सदस्य रहेकाले सांगठनिक कार्य अगाडि बढाउन सहज हुने बताएकी छन्।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण १७, ०८: ०५

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १७, ०८: ०५

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १७, ०८: ०५

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...