
काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर भइरहेका छन्। पार्टीलाई फुटबाट जोगाउन भन्दै दुवै पक्षका जिल्ला सभापतिदेखि क्षेत्रीय स्तरका नेतासम्मले पार्टीभित्र एकताका लागि विभिन्न अनौपचारिक छलफलहरू गरिरहेका छन्।
विशेष महाधिवेशन ताकासमेत विभिन्न जिल्ला सभापतिहरूले नियमित महाधिवेशन तत्काल गराउन भन्दै वक्तव्य जारी गरेका थिए। तर, १४औँ महाधिवेशनका तत्कालीन संस्थापन पक्षले न त नियमित महाधिवेशन गराउने सुनिश्चितता नै गर्यो, न त विशेष अधिवेशनका लागि सिंगो कांग्रेस सहमत हुन सक्यो। त्यही कारण अहिले विवादको भुमरीमा पर्दै गएको अवस्थामा जिल्ला तहका नेता तथा जिल्ला सभापतिहरू कांग्रेसभित्रको एकतामा जोड दिँदै १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन लागिपरेका छन्।
यसै सन्दर्भमा नुवाकोट कांग्रेसले गरेको अनौपचारिक अगुवा नेताहरूको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नुवाकोट कांग्रेस सभापति रमेशकुमार महतले कांग्रेसमा एकता कायम गर्न पहिल्यै ४७ जना सभापतिहरूले पार्टीलाई ध्यानाकर्षण गराउँदै हस्ताक्षर गरेर बुझाए पनि सो कार्यान्वयन हुन नसकेको भन्दै फेरि पनि सभापतिहरू पुनः सक्रिय भएर पार्टीमा एकता कायम गराउन लागिपरेको बताएका छन्।

ऐतिहासिक पृष्ठभूमि भएको नेपाली कांग्रेस पार्टी अदालत गएर मुद्दा छिनिदिनुपर्ने अवस्थाको पार्टी बन्न नहुने भन्दै उनले नेपाली कांग्रेस यो देशको सिंगो प्रजातन्त्रका लागि पटक–पटक लडेर प्रजातन्त्र स्थापनाको खाका कोर्ने पार्टी भएकाले कांग्रेसभित्र आजको अवस्था आउँदा तमाम लोकतन्त्रवादीहरू चिन्तित भएको बताए। उनले जतिसक्दो चाँडो पार्टी मिलाउन नेताहरूलाई आग्रह गरेका छन्।
विभिन्न समयमा नेपालमा भएको राजनीतिक उतारचढावका बीचमा पनि प्रजातन्त्रलाई पुनःस्थापित गर्ने पार्टी नेपाली कांग्रेस रहेको स्मरण गराउँदै उनले शान्ति प्रक्रियामा माओवादीलाई हतियार बिसाउन लगाउने पार्टी पनि नेपाली कांग्रेस नै भएको बताए।

यो जिम्मेवारी ग्रहण गरिसकेको पार्टी आफूभित्रको आन्तरिक विवादमा रुमल्लिनु नहुने भन्दै प्रतिस्पर्धा अन्य पार्टीसँग रहेको उनले बताए। उनले अहिले भर्खरै जन्मेका नयाँ पार्टीहरूसँग पनि प्रतिस्पर्धा रहेको र अल्टरनेटिभ डेमोक्रेटिक पार्टीका रूपमा पनि नयाँ पार्टी आइसकेकाले नेपाली कांग्रेसका अगाडि थुप्रै चुनौती रहेको बताए। ती चुनौतीलाई छेड्नका लागि फेरि पनि सिंगो नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसले मात्र मुलुकका आवश्यकताहरू पूरा गर्न सक्ने पार्टीका रूपमा स्थापित मान्यता नेपाली जनतामा रहेको भन्दै उनले कांग्रेसका जिल्ला सभापतिहरूबीच अन्तरक्रिया भइरहेको बताए।
त्यसैले पार्टीलाई एकताबद्ध बनाउन आवश्यकताअनुसार सभापतिहरूबीच संयन्त्र बनाएर दुवै, तीनै पक्षका नेताहरूलाई भेटेर एकताको एउटा स्वरूप तयार गर्नुपर्ने उनले बताए। त्यसपछि एकताबद्ध हुँदै १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर नेतृत्वको छिनोफानो गराउने र त्यही नेतृत्वले आगामी स्थानीय र प्रदेशको निर्वाचन हाँक्छ भन्ने दृष्टिकोण रहेको उनले बताए।

त्यस्तो दृष्टिकोण बन्न जरुरी भएको भन्दै उनले त्यसतर्फ नेता डा. प्रकाशशरण महतले भूमिका खेलिदिनुपर्ने आग्रह गरेका छन्।
उनले भने, ‘कुनै दिन आदरणीय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको बोलचाल बन्द हुने अवस्थामा त्यतिखेर डा. रामशरण महतले आफ्नै निवासमा नेता चक्रप्रसाद बाँस्कोटामार्फत उहाँहरूबीच गम्भीर संवाद गराउनुभएको सन्दर्भमा नेताहरूलाई कोठामा थुनेर राखेर भए पनि एकता गर्न लाग्न नेता प्रकाशशरण महतलाई आग्रह गर्दछु।’
त्यसो गर्दा नेताहरू बाध्य भएर संवादको ढोका खुल्ने हुँदा दुवै पक्ष सहमतिको नजिक पुग्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए। भेटपछि एउटा संवादको ढोका खुल्ने र निष्कर्षमा पुगेका यस्ता थुप्रै इतिहासहरू साक्षी रहेको उनले बताए। यस्तो भूमिका निर्वाह गर्नका लागि नेता डा. प्रकाशशरण महतलाई आग्रह गर्दै उनले आजको आवश्यकता पनि यही भएको बताए।

स्टेप ब्याक भएर दुवै पक्षले एक–एक कदम पछाडि हटेर पार्टी मिलाउन उनले आग्रह गरेका छन्। यसमा उहाँको अग्रणी भूमिका हुने भन्दै नेता–कार्यकर्ताहरूले यो एक्सट्रीममा जाने, विभाजिततिर जानेबारे थुप्रै दृष्टिकोण राख्लान्, तर डा. प्रकाशशरण महतले दुवै पक्ष मिलाउन खोज्नुभएको छ भन्ने सन्देशका साथ पार्टीको दुवैतिरका इमानदार कार्यकर्ताहरूमा त्यो भावना आफूले बुझेको उनले बताए।
पार्टीको बृहत्तर एकतातर्फ डा. महतको कार्ययोजना अगाडि बढ्छ भन्ने कुरामा विश्वस्त हुँदै उनले यो अनौपचारिक भेटघाटले १५औँ महाधिवेशन सुनिश्चित हुने विश्वास व्यक्त गरे। एकताको महाधिवेशनले आउने निर्वाचनहरूमा कांग्रेसलाई पुरानै स्थितिमा पुर्याउन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ। आजको बैठकमा...
काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...