सुनसरी-सिरहा घटनामा तत्काल न्यायिक आयोग गठन गर्न कांग्रेसको माग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सुनसरी-सिरहा घटनामा तत्काल न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले सुनसरी र सिरहामा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिनका लागि उच्चस्तरीय, सर्वस्वीकार्य, निष्पक्ष र स्वतन्त्र आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराउँदै सरकारले त्यसतर्फ गम्भीरता नदेखाएको उल्लेख गरिएको छ छ।

घटनाको निष्पक्ष छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको कांग्रेसको भनाइ छ। यादवको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले तत्काल न्यायिक आयोग गठन गर्न जोडदार माग गरेको हो।

कांग्रेसले सुनसरी र सिरहालगायतका स्थानमा भएको घटनामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाएको छ। पीडितलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि चार जनालाई शहीद घोषणा गर्नुबाहेक अन्य सहमति कार्यान्वयन नभएको कांग्रेसको दाबी छ।

सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढिरहेको र पुनः अर्को दुर्घटना निम्तिने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ। त्यसैले विगतमा भएका सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय दिन उसले माग गरेको छ।

कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याजपीडितलगायत विभिन्न पेशा, व्यवसाय र संघ–संस्थासँग सरकारले गरेका सहमति पनि कार्यान्वयन नभएको आरोप लगाएको छ।

सरकारले नागरिक तथा पेशागत संघ–संस्थासँग गरेका सहमति र समझदारीलाई तत्काल कार्यान्वयन गर्नुपर्ने कांग्रेसको माग छ। सहमति गर्ने तर कार्यान्वयनमा उदासीन हुने सरकारी प्रवृत्तिले नागरिकमा सरकारप्रतिको अविश्वास बढाएको कांग्रेसले जनाएको छ।

‘हरेक घटनामा सहमति गर्न तत्पर हुनु मात्रै सरकारको बहादुरी होइन,’ कांग्रेसले भनेको छ, ‘सहमतिको इमानदार कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्छ।’

सरकारप्रतिको बढ्दो अविश्वासले समाजमा निराशा बढाउँदै लगेको र ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास कमजोर हुँदै गएको कांग्रेसको निष्कर्ष छ। यस विषयमा सरकारलाई संवेदनशील र गम्भीर बन्न कांग्रेसले आग्रह गरेको छ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले समसामयिक राजनीतिक तथा अन्य विषयमा आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २६, १८: ५६

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २६, १८: ५६

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २६, १८: ५६

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...