
काठमाडौं : नेपाली कांग्रेसको ‘जरा अभियान’अन्तर्गत चितवनमा सम्पन्न दोस्रो चरणको अभियानबाट पार्टीलाई थप एकताबद्ध, व्यवस्थित र जनमुखी बनाउन ११ बुँदे सुझाव प्रस्तुत गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक डा. केदारनरसिंह केसीले जिल्लामा गरेको अन्तरक्रिया तथा छलफलका आधारमा तयार पारेको प्रतिवेदन पार्टी नेतृत्वसमक्ष बुझाएका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले देशभर ‘जरा अभियान’ सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाएको थियो। सोही क्रममा चितवनमा अभियानको दोस्रो चरणका लागि डा. केसीलाई केन्द्रीय सदस्य एवं जिल्ला संयोजकका रूपमा जिम्मेवारी दिइएको थियो।
अभियानका क्रममा डा. केसीले कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, उपसभापति, सचिवलगायत पदाधिकारी, जिल्ला कार्यसमिति, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका कार्यसमिति पदाधिकारी, पुराना तथा वरिष्ठ राजनीतिक व्यक्तित्व, बुद्धिजीवी, तरुण दल र नेपाल विद्यार्थी संघका प्रतिनिधिसँग व्यापक अन्तरक्रिया गरेका थिए। संसदीय दलका नेता भीष्मराज आङदम्बेको प्रमुख आतिथ्यमा दोस्रो चरणको ‘जरा अभियान’सम्बन्धी कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

प्रतिवेदनमा कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी रूपान्तरण, पुस्तान्तरण र कार्यशैली सुधारका विषयमा जनस्तरमा सकारात्मक प्रभाव पारे पनि अपेक्षित परिणाम हासिल गर्न यति प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ।
विशेष महाधिवेशनका पक्षधर र सदस्यता अद्यावधिक गर्ने नीतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेका केही सीमित नेता–कार्यकर्ता रहे पनि उनीहरूमा पार्टी एकताको चाहना रहेको प्रतिवेदनमा उल्लेख छ। विशेष महाधिवेशनमार्फत स्थापित नेतृत्वप्रति समग्रमा पार्टीभित्र सद्भाव रहेको निष्कर्षसमेत प्रतिवेदनले निकालेको छ।
चितवनमा १९ हजार ८२२ क्रियाशील सदस्य
प्रतिवेदनअनुसार चितवनमा क्रियाशील सदस्यता विस्तार तथा अद्यावधिक गर्ने क्रममा १७ हजार ५३३ सदस्यले सदस्यता अद्यावधिक गरेका छन्। त्यस्तै २११ जनाको एनसिआइडी र २ हजार ७८ नयाँ क्रियाशील सदस्य थपिएका छन्। यससँगै चितवनमा क्रियाशील सदस्यको कुल संख्या १९ हजार ८२२ पुगेको प्रतिवेदनमा उल्लेख छ।
जिल्ला, क्षेत्र, प्रदेश, पालिका तथा वडा कार्यसमितिको निरन्तर मेहनतबाट सदस्यता अद्यावधिक र विस्तारको काम अघि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सदस्यताको विवरणसमेत प्रतिवेदनसँगै संलग्न गरिएको छ।

‘एनसी फर एनसी’ अभियानलाई जरा अभियानसँग जोड्न सुझाव
चितवनवासीले व्यवहारिक एजेण्डा पहिचान गरी त्यसलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान कांग्रेसले निरन्तर प्रयास गर्नुपर्ने सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको समग्र एकतासहित सफल बनाउन स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेतृत्वलाई सक्रिय गराई आवश्यक प्रक्रियालाई गति दिनुपर्नेमा जोड दिइएको छ।
प्रतिवेदनमा कांग्रेसलाई आगामी दिनमा थप सुदृढ बनाउन निम्न ११ सुझाव अघि सारिएका छन्।
१. प्राज्ञ, प्रविधि र पार्टीबीच समन्वय
२१औँ शताब्दीको लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसले प्राज्ञ, बुद्धिजीवी र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने सुझाव दिइएको छ। प्राज्ञ तथा बुद्धिजीवी वर्गलाई पार्टीको महत्वपूर्ण ‘भोट बैंक’का रूपमा समेत स्थापित वर्ग भन्दै उनीहरूको ज्ञान, क्षमता र प्रविधिलाई पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
देशको वर्तमान परिस्थितिप्रति आम जनता अन्योल र निराश अवस्थामा देखिएकाले पार्टीले विज्ञ तथा बौद्धिक वर्गसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने सुझाव दिइएको छ।
२. १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरणको नयाँ युग बनाउनुपर्ने
आगामी १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरणको नयाँ युगका रूपमा विकास गर्नुपर्ने सुझाव दिइएको छ। त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक एजेण्डालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ।
महाधिवेशनबाटै संविधान संशोधनको परिभाषा, कार्यशैली तथा संशोधन गर्नुपर्ने क्षेत्रबारे स्पष्ट धारणा बनाउन आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ। यस विषयमा पार्टीभित्र पर्याप्त बहस चलाउनुपर्ने सुझाव पनि दिइएको छ।
त्यस्तै, महाधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका विदेशी भाइचारा पार्टीका प्रतिनिधिहरूको अधिकतम सहभागिता गराउन विशेष तयारी गर्नुपर्ने र त्यसबाट जनतामा उत्साहजनक सन्देश जाने प्रतिवेदनमा उल्लेख छ।
३. नेता–कार्यकर्ता र कार्यकर्ता–जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने
नेता र कार्यकर्ताबीच तथा कार्यकर्ता र जनताबीच कायम हुनुपर्ने समन्वय, सद्भाव, सहयोग र सम्पर्कमा कमी आएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
यस अवस्थालाई परिवर्तन गर्दै नेतृत्वलाई कार्यकर्तामुखी र कार्यकर्तालाई जनतामुखी बनाउने गरी पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
४. शासकीय मोडलबारे पार्टीको स्पष्ट धारणा आवश्यक
शासकीय मोडलबारे कांग्रेसभित्र एउटै धारणा बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। विद्यमान शासकीय मोडलमा के-कस्तो परिवर्तन गर्ने हो भन्ने विषय १५औँ महाधिवेशनबाटै तय गरेमा त्यसले पार्टीको आधिकारिक धारणा स्पष्ट हुने सुझाव दिइएको छ।
प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था विश्वमा कतै नरहेको दाबी गर्दै यस विषयमा समर्थक, मतदाता, कार्यकर्ता तथा संविधान संशोधनका अन्य सरोकारवाला दलहरूलाई समेत कांग्रेसको आधिकारिक धारणा स्पष्ट रूपमा जानकारी गराउनुपर्ने उल्लेख छ।
५. भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन तत्काल गर्नुपर्ने
तरुण दल, नेपाल विद्यार्थी संघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन लामो समयदेखि हुन नसकेको अवस्थाप्रति प्रतिवेदनले ध्यानाकर्षण गराएको छ।
ती संस्थाहरूको अधिवेशन यथाशीघ्र पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने सुझाव दिइएको छ।
६. पार्टी अनुशासनहीनतामाथि कडाइ गर्नुपर्ने
निर्वाचनका समयमा दोहोरिँदै आएको पार्टी अनुशासनहीनता, अन्तर्घात तथा पार्टी हितविपरीतका गैरजिम्मेवार गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिइएको छ।
आग्रह–पूर्वाग्रह नराखी अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्न अनुशासन समितिलाई थप प्रभावकारी बनाउँदै विशेष तयारी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
७. स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने
आगामी स्थानीय निर्वाचन नजिकिँदै गएकाले १५औँ महाधिवेशन सम्पन्न भएपछि कांग्रेसको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ।
चितवनमा कांग्रेसको मुख्य प्रतिस्पर्धा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेसँग हुने आम चितवनवासीको आकलन रहेको प्रतिवेदनमा उल्लेख छ। साथै, प्रचण्ड नेतृत्वको नेकपाले बृहत् वामएकता निर्माण तथा सरकारविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमार्फत स्थानीय निर्वाचनलाई आफूअनुकूल बनाउने प्रयास गरिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस परिस्थितिमा विभिन्न कारणले पार्टीबाट बाहिरिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमा फर्काउन विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
८. जेन–जी आन्दोलनका विषयमा प्रभावकारी पहल गर्नुपर्ने
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको अभूतपूर्व क्षतिबारे न्याय निरूपण, क्षतिपूर्ति तथा युद्धस्तरमा पुनर्निर्माणको काम अघि बढाउन सरकारलाई दबाब दिनुपर्ने सुझाव दिइएको छ।
आन्दोलनको नाममा आपराधिक गतिविधिमा संलग्न दोषीको पहिचान गरी कानुनी कठघरामा ल्याउन पनि कांग्रेसले सशक्त पहल गर्नुपर्ने आम कार्यकर्ताको धारणा रहेको प्रतिवेदनमा उल्लेख छ।
९. भ्रष्टाचार, दण्डहीनता र सुशासनमा कांग्रेसको आवाज सशक्त बनाउनुपर्ने
भ्रष्टाचार र दण्डहीनताविरुद्ध तथा सुशासनको पक्षमा कांग्रेसले अपेक्षाकृत सशक्त आवाज उठाउन नसकेको जनधारणा रहेको प्रतिवेदनमा उल्लेख छ।
अब कांग्रेसले भ्रष्टाचार र दण्डहीनताविरुद्ध तथा सुशासनको पक्षमा संसद् र आवश्यक परे सडकबाट समेत प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने सुझाव दिइएको छ।
१०. प्राविधिक होइन, भावनात्मक र व्यावहारिक एकता आवश्यक
वर्तमान नेतृत्वप्रति असहमति राख्ने नेता तथा कार्यकर्तासँग केवल प्राविधिक एकता नभई भावनात्मक र व्यावहारिक एकता कायम गर्नुपर्ने सुझाव दिइएको छ।
पार्टीभित्रका सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने प्रयासलाई थप सशक्त बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
११. क्रियाशील सदस्यताको विवरण व्यवस्थित गर्नुपर्ने
प्रतिवेदनसँगै चितवन जिल्लाभित्रका सम्पूर्ण वडा तथा पालिकाको क्रियाशील सदस्यताको विवरणसमेत संलग्न गरिएको छ। त्यसमा १७ हजार ५३३ सदस्यको सदस्यता अद्यावधिक, २११ एनसिआइडी तथा २ हजार ७८ नयाँ क्रियाशील सदस्य गरी कुल १९ हजार ८२२ क्रियाशील सदस्यको विवरण समावेश गरिएको छ।
प्रतिवेदनले आगामी दिनमा कांग्रेसको संगठन विस्तारसँगै पार्टीलाई जनतासँग थप जोड्ने, आन्तरिक एकता बलियो बनाउने र व्यवहारिक राजनीतिक एजेण्डाका आधारमा अघि बढाउने दिशामा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। चितवनबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्न सके ‘जरा अभियान’को उद्देश्यलाई व्यवहारमा उतार्न सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ।
ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...
काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती...