१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान – Naya Bikalpa
September 15, 2026, Tuesday      Epaper

१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान गर्दै भोटेकोशी र त्रिशूली नदी क्षेत्रका बाढीपीडितलाई तत्काल राहत, पुनर्वास र यातायात सहज बनाउन सरकारसँग जोडदार माग गरेको छ ।

बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांगठनिक महाधिवेशन तथा हालैको बाढीपहिरोका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म हुने १५औं महाधिवेशनको प्रक्रिया असोज ३ र ४ गतेबाट शुरु हुँदैछ । कांग्रेस बागमती प्रदेशले संवाद, सहमति, सहकार्य र एकतालाई मूल मन्त्र मानी हार्दिकताको वातावरणमा अधिवेशन सम्पन्न गर्न आह्वान गरेको छ ।

बागमती प्रदेशका १३ वटा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा तथा टोल कार्यसमितिसम्मका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई महाधिवेशन प्रक्रियामा उत्साहपूर्ण रूपमा सहभागी हुन अपिल गरिएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक प्रसाद रुवालीले जानकारी दिए ।

बाढीपीडितको पुनर्वास र घाइतेको निःशुल्क उपचारको माग

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । साथै चितवन, गोरखा, तनहुँ र पूर्व तथा पश्चिम नवलपरासीसम्म बाढीको असर परेको छ ।

बाढीका कारण हजारौं नागरिक घरबारविहीन बनेको उल्लेख गर्दै नेपाली काँग्रेस बागमती प्रदेशले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग निम्न मागहरू राखेको छ :

पुनर्वास र राहत : बाढीबाट विस्थापित नागरिकहरूका लागि तत्काल अस्थायी तथा स्थायी पुनर्वास, खाना, लत्ताकपडा, जीविकोपार्जन र मनोपरामर्शको व्यवस्था मिलाउनुपर्ने ।

बेपत्ताको खोजी र उपचार : बाढीमा परी बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोजी कार्यलाई तीव्र बनाई शीघ्रातिशीघ्र घर फर्कने वातावरण बनाउनुपर्ने र घाइते बिरामीहरूको निःशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने ।

दशैंअगावै त्रिशूली नदीमा वैकल्पिक बाटो र बेली ब्रिज बनाउन आग्रह

बाढीका कारण प्रभावित बनेका रसुवा, धादिङ र नुवाकोटका नागरिकहरूलाई त्रिशूली नदी वारपार गर्न कठिन भएको भन्दै तत्काल वैकल्पिक बाटो, झोलुङ्गे पुल तथा बेली ब्रिज निर्माण गर्न आग्रह गरिएको छ । सर्वसाधारणको सहजताका लागि आउँदो दशैँअगावै यी निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सङ्घीय र बागमती प्रदेश सरकारसँग विशेष अनुरोध गरिएको छ ।

भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति बागमती प्रदेश कार्यसमितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकमा रहेका परिवारजन तथा आफन्तजनप्रति गहिरो संवेदना व्यक्त गरिएको छ । उक्त प्रेस विज्ञप्ति नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक प्रसाद रुवालीद्वारा जारी गरिएको हो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
  • २०८३ भाद्र ३०, २०: ३६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
  • २०८३ भाद्र ३०, २०: ३६

काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...

मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना घाइते
मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना घाइते
  • २०८३ भाद्र ३०, २०: ३६

काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ...