
काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनमा करिब ७ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएको हो। समितिका सदस्य राजु नेपालका अनुसार यसपटक करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसमा प्रतिनिधिहरूको संख्या उल्लेख्य रहनेछ। रसुवा, नुवाकोट र धादिङ बाहेक अधिकांश जिल्लाबाट सदस्यता विवरण संकलन भइसकेको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनलाई व्यवस्थित बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत वडा तहसम्म खटाइसकिएको छ। उनीहरू स्थानीय तहका पार्टी समितिसँग समन्वय गर्दै निर्वाचन प्रक्रिया सञ्चालन गरिरहेका छन्। तीन जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचनसम्बन्धी सामग्री वितरण र प्रक्रिया सुरु भइसकेको जनाइएको छ।
आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनबाट चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। समितिका संयोजक प्रेमबहादुर खड्काले सामाजिक सञ्जालमा फैलिएको ‘अधिवेशन सर्ने’ हल्लालाई अस्वीकार गर्दै तोकिएकै मितिमा वडा अधिवेशन सम्पन्न हुने स्पष्ट पारे। उनले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको निर्णय र पार्टीको कार्यतालिकाअनुसार अधिवेशन नरोकिने बताए।
यस महाधिवेशनमार्फत देशभरबाट करिब साढे ३ लाखभन्दा बढी पदाधिकारी र प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान गरिएको छ। वडा तहबाट मात्रै झण्डै २ लाख ९६ हजार ६ सय ९२ जना निर्वाचित हुनेछन्। त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र पालिका तहबाट समेत प्रतिनिधिहरू छनोट भई केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार १६५ प्रतिनिधिसभा क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रबाट ३३० जना र पालिका सभापतिहरूबाट ७५३ जना महाधिवेशन प्रतिनिधि रहने प्रारम्भिक अनुमान छ। विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने बताइएको छ।
यसपटक कांग्रेसले महाधिवेशनलाई आंशिक रूपमा डिजिटल बनाउने योजना अघि सारेको छ। क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिएको छ भने नामावली पीडीएफमार्फत जिल्लाहरूमा पठाउने तयारी भइरहेको छ।
निर्वाचन व्यवस्थापनमा संघीय संरचनाको अभ्याससमेत गरिएको छ। सातै प्रदेशमा ‘कमाण्डर’ तोकिएको र उनीहरूको सिफारिसमा ७७ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरिएको जनाइएको छ। प्रत्येक वडामा मतदान अधिकृतसमेत परिचालन गरिनेछ।
हालैको बाढी तथा विपद्का कारण केही जिल्लामा चुनौती देखिए पनि अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पार्टी पुगेको छ। विशेषगरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या देखिएको भए पनि स्थलगत रिपोर्टका आधारमा आवश्यक व्यवस्थापन गरिने बताइएको छ।
महाधिवेशनलाई महिलामैत्री बनाउने उद्देश्यले निर्वाचन अधिकृतको भूमिकामा महिला कानून व्यवसायीहरूको सहभागिता बढाइएको छ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा १९ जना महिला वकिलहरू निर्वाचन अधिकृतका रूपमा खटिएका छन्।
कांग्रेसले वडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढाएर महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको ‘भव्य उत्सव’का रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ। पार्टी नेतृत्वका अनुसार निर्धारित कार्यतालिका अनुसार सबै प्रक्रिया पूरा गर्दै केन्द्रीय महाधिवेशन सफलतापूर्वक आयोजना गरिनेछ।
निर्वाचन समितिले सञ्चारमाध्यम तथा सर्वसाधारणलाई भ्रमपूर्ण सूचना नफैलाउन आग्रह गर्दै निर्धारित मितिमै सम्पूर्ण अधिवेशन सम्पन्न हुनेमा विश्वस्त रहन अपिल गरेको छ।
काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र...
काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...