
१. माध्यमिक शिक्षा परीक्षा कक्षा १०को परिणाम
जब जब माध्यमिक शिक्षा कक्षा १०को परीक्षाको परिणाम आउँछ, त्यसले शिक्षा क्षेत्रमा सामान्य हलचल ल्याउँछ । पहिले पहिले यसलाई फलामे ढोका भनेर तर्साइन्थ्यो तर अहिले सामान्यरुपमा कक्षा १०को परीक्षाको रुपमा मात्र हेरिन्छ र पनि यसको महत्व परम्परादेखि नै विशिष्ट बनाइएको छ । स्तरीय परीक्षा दिए पछि निश्चित समयामा परिणाम आउने नै भयो । यसरी परिणाम आएपछि केही समय शैक्षिक क्षेत्रमा हलचल देखिन्छ । परिणामका बारेमा सकारात्मक तथा नकारात्मक टीका टिप्पणी हुनेगर्छ ।
सामान्यतः परिणामप्रति कतिलाई चित्त बुझेको हुँदैन किनभने कति प्रतिशत उत्तीर्ण भएभन्दा पनि कति विद्यार्थीहरु अनुत्तीर्ण भए भन्ने गणनाले अर्थ राख्छ । पोहोर अर्थात् २०८०सालको कक्षा १०को अन्तिम परीक्षामा ५२प्रतिशत विद्यार्थीहरु ननग्रेडेड भएकाले कक्षा ११मा पढ्न पाएका थिएनन् । यसपटक पनि करिब ३८ प्रतिशत विद्यार्थीहरु ननग्रेडेड देखिएका छन् । एकातिर प्रविधिको सहजीकरण र सरकार, अभिभावक, विद्यालय, शिक्षकका संयुक्त प्रयासका कारणले पोहोरभन्दा यसपटकको नतिजा करिब १४प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो नतिजामा देखिएको आशालाग्दो विकासक्रममाथि शङ्का गर्नेहरु पनि छन् ।पोहोर समग्रमा ४७.८६ प्रतिशत थियो र यसपटकको परिणाम ६१.८१प्रतिशत देखिन्छ । यसो हेर्दा तुलना गर्न त सकिन्छ तर पोहोरका विद्यार्थीहरु र अहिलेका विद्यार्थीहरु फरक व्यक्तिहरु हुन् र उनीहरुको क्षमता पनि फरक हुन्छ भन्ने कुरा बिर्सिएर विद्यार्थीहरुको क्षमतामाथि प्रश्न उठाउनु हुँदैन । मलाई त लाग्छ, पोहोरको परिणामका कारणले पाएको पृष्ठपोषण र त्यसका आधारमा गरिएका विभिन्न तरिकाका प्रयासले यसपटकको नतिजा करिब ७५प्रतिशतभन्दा बढी नै हुनुपथ्र्यो ।
अझ अहिलेको मूल्याङ्कन प्रणालीमा देखिएको उदार प्रचलनले कमै हो र पनि सम्झनु प¥यो शिक्षण सिकाइमा केही गुणात्मकता थपिएको हो । विद्यार्थीहरुको परीक्षा र त्यसको सोलोढोला परिणाम निरपेक्ष हुँदैन । यससँग धेरै कुराहरु जोडिएका हुन्छन् । शैक्षिक , आर्थिक, सामाजिक, मनोवैज्ञानिक , राजनीतिक प्रक्रियाहरुको समष्टिगत स्वरुपले शिक्षाको विकासक्रम अगाडि बढेको हुन्छ । यसपटक नियमित सहभागी विद्यार्थीहरुको संख्या ४लाख ३८ हजार ८९६ थियो र ग्रेड पाउने विद्यार्थीहरुको संख्या २लाख ७१हजार २९९ रह्यो । ननग्रेडेड विद्यार्थीहरुको संख्या १लाख ६७हजार ५९७ छ ।
मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले पाउने ग्रेड वृद्धिको अनुमान गर्दा समग्रमा नतिजा ६५प्रतिशत भन्दा बढी नै हुने देखिन्छ । खासमा विद्यार्थीहरुको क्षमतामाथि प्रश्न नउठाऔँ, हौसलाको खाँचो छ र सामुदायिक विद्यालयहरुको स्तर वृद्धि चुनौतीको रुपमा देखिएको बेलामा आपसमा दन्तबझान गर्नुभन्दा संयुक्तरुपमा सबैको प्रयासले शिक्षाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । वास्तवमा कक्षा १२चाहिँ विद्यालयको अन्त्यपछिको वार्षिक परीक्षा हो । हामीले कक्षा १देखि स्नातकोत्तरसम्मको अवस्था सुधार गर्ने आत्मबल देखायौँ भने सबै परीक्षालाई व्यावहारिकरुपमा लिन सक्नेछौँ र शिक्षाको स्तर वृद्धिको सपना पनि पूरा गर्न सक्नेछौँ । शिक्षाको प्रगतिका लागि लगानी आवश्यक छ । राज्यको लगानी प्रशस्त चाहिन्छ । अब कक्षा १२को परिणाम पनि आउनै लागेको छ , त्यता पनि ध्यान दिने हो कि?
२.एमालेमा देखिएको हलचल र मुलुकको राजनीतिक अस्थिर अवस्था
गणतन्त्र नेपालको दुई दुई पटक सम्माननीय राष्ट्रपति भइसक्नु भएकी श्रीमती विद्यादेवी भण्डारीले मदन भण्डारी जन्मजयन्तीको उपलक्ष्यमा गरिएको समारोहमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी ( नेकपा एमाले )मा फेरि जोडिएको घोषणा गर्नु भएको छ । कुन दलमा जोडिने , नजोडिने र कुनै पनि दलमा जाने या नजाने उहाँको व्यक्तिगत अधिकार हो । अझ पहिले नै उपाध्यक्ष भइसक्नु भएको र दुईदुई पटक राष्ट्रपति पदमा उठाउन सफल मनोनयन गर्ने दलमै फर्कनु उहाँको कर्तव्य जस्तो मानियो । तर सम्मानीय राष्ट्रपति भइसक्नु भएकी व्यक्तित्व फेरि राजनीतिक पदमा फर्कनुलाई पदको लोभ या दलमा दलदलको अभ्यास हो बुझ्न गाह्रो भएको देखिन्छ ।
यसअघि नेपाली कांग्रेसको राष्ट्रपति पदको मनोनयनमा पर्नु भएर ७वर्ष राष्ट्रपति हुनु भएका डाक्टर रामवरण यादवले फेरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभन्दा राज्यको साझा व्यक्ति हुन रुचाउनु भएको जगजाहेर छ । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि त्यस्तै अपेक्षा गर्ने नेपालीहरुले २०८२साल असार १४गते उहाँले आफू एमालेको राजनीतिबाट फेरि सक्रिय हुन थालेको घोषणाले मुलुकमा बहस सुरु गरेको छ र एमालेमा पनि हलचल आएको देखिन्छ । दुईपटक भन्दा बढी एमालेको अध्यक्ष हुन नपाउने र ७० बर्से उमेरको सीमालाई पनि अहिले चर्चामा ल्याइएको छ ।
अर्थात् भावी अध्यक्षको रुपमा भण्डारीलाई प्रस्तुत गर्नेहरुको जमात पनि देखिन थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै प्रस्ताव र विशेष सहयोगमा राष्ट्रपति बन्नु भएकी भण्डारी फेरि दलको राजनीतिमा फर्कने अनुमान कमैले गरेका थिए र एमालेजनमा भने यसले नयाँ तरङ्ग यसकारणले पनि देखिन्छ कि अध्यक्ष ओलीको विरुद्धमा बोल्ने या देखिन चाहनेसम्मलाई पार्टीमा खेदो खनेको बदला लिन एकजना निडर नेता थपिएको अनुमान गरिएको छ ।
यो एउटा बहस पछिसम्म चलिरहने छ कुनै पनि दलको नेता राष्ट्रपति भए पछि त्यो डाक्टर रामवरण यादव जस्तो साझा व्यक्ति बनेर समाजलाई बाटो देखाउने कि भण्डारीजीजस्तो राजनीतिको भागबन्डामा प्रवेश गरेर गुट बनाउँदै मुलुकलाई अस्थिरतातर्फ डो¥याउने ? सायद अरु दललाई यसको खास वास्ता पनि छैन किनभने राष्ट्रपतिका रुपमा पनि उहाँको त्यस्तो कुनै योगदान देखिएको थिएन । र पनि यो बहस चलिरहने छ कि राष्ट्रपति या उपराष्ट्रपति भएको व्यक्ति प्रत्यक्ष राजनीतिक दलमा सहभागी हुने या नहुने ? मानव अधिकारको दृष्टिले यो ठिक या बेठिक ? नैतिकता र राजनीतिक अधिकारको कसरी व्याख्या गर्ने ? त्यसो त केही समय पहिलेमात्र भण्डारीजी राष्ट्रपति हुँदाका उपराष्ट्रपति नन्दबहादुर पुन पनि नेकपा माओबादी केन्द्रमा प्रवेश गरी उपाध्यक्षको पदमा मनोनीत भइसक्नु भएको छ । यसमा मानव अधिकार र दलीय व्यवस्थाको अधिकार भन्दा पनि यो नजिरले कस्तो प्रभाव पर्ला समाजमा ? गणतन्त्रप्रतिको आस्थामा यसले बल पु¥याउला कि कमजोर बनाउला ?
३. र अन्त्यमा संसदमा सांसदको भूमिका
तल्लो सदन प्रतिनिधि सभामा न्यून सांसदहरुको उपस्थितिले जनप्रतिनिधिमूलक संसदीय व्यवस्थाको गरिमामा उपेक्षा गरिएको ठानिन्छ । त्यही संसदमा जान र कानुन बनाउन, मुलुकका बारेका सोच्न र जनताका पक्षमा बोल्न भनेर, सरकार बनाउन र सरकारलाई नियन्त्रण गर्न भनेर जनताले पठाएका हुन्छन् , अनि त्यहीँ नगएर सांसदले के गर्दछन् त ? सम्माननीय सभामुखहरु संघमा या प्रदेशमा अलि कडाइ नगर्ने हो भने हाम्रो संघीय या प्रादेशिक संसदहरु आलोचनाको घेरामा पर्नेछन् । याद गरौँ, संसदको गरिमा राख्ने भनेको सांसदहरुले नै हो । (नयाँ विकल्प साप्ताहिकबाट)
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...