
-शुकदेव दाहाल, नुवाकोट
नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत पनि परिवर्तन गर्न मिल्छ?
यो लेख कुनै व्यक्ति वा समूहको पक्ष–विपक्षमा लेखिएको होइन। कांग्रेसमा युवा पुस्ताको नेतृत्व स्थापित हुनुपर्छ भन्ने मान्यता राख्ने एक कांग्रेसकर्मी तथा पत्रकारका रूपमा मेरो व्यक्तिगत राजनीतिक विवेकबाट उठेको प्रश्न हो। यसमा मेरो पत्रकारिता वा आबद्ध संस्थाको कुनै सम्बन्ध छैन।
मीन विश्वकर्मासहित केही नेताहरूले शेरबहादुर देउवा नेतृत्वको राजनीतिक यात्राबाट अलग हुँदै नयाँ समीकरणतर्फ अघि बढेको देखिन्छ। राजनीतिक जीवनमा नेतृत्व परिवर्तन, विचारमा बहस र नयाँ समीकरण अस्वाभाविक होइन। तर प्रश्न यहाँ समीकरण परिवर्तनको मात्र होइन, हिजोको राजनीतिक इतिहासप्रतिको इमानदारीको हो।
हिजो यी नेताहरू देउवा सवार राजनीतिक गाडीका यात्री थिए। त्यो गाडीले उनीहरूलाई बाटोमै अलपत्र पारेको थिएन। पार्टी संगठनदेखि सरकार र विभिन्न जिम्मेवारीसम्म उनीहरूको पनि भूमिका र प्रभाव थियो। अवसर पाएनौँ भनेर विगतलाई पूर्णतः अस्वीकार गर्न मिल्ने अवस्था थिएन।
देउवाका कमजोरी थिए, छन् र उनको आलोचना गर्न पाइन्छ। नेतृत्वप्रति असहमति राख्नु लोकतान्त्रिक अधिकार हो। तर असहमति र विगतप्रतिको अस्वीकार एउटै कुरा होइन। आफूले लामो समय सहकार्य गरेको नेतृत्वबाट अलग हुँदै गर्दा आफूले प्राप्त गरेको राजनीतिक अवसर, भूमिका र जिम्मेवारीलाई पनि बिर्सनु राजनीतिक इमानदारीको प्रश्न बन्न सक्छ।
आज व्यक्तिगत राजनीतिक महत्वाकांक्षा र तत्कालीन राजनीतिक जोड–घटाउका आधारमा आफ्नै विगतलाई तिलाञ्जली दिने प्रवृत्ति बलियो भयो भने त्यसको असर व्यक्ति वा समूहमा मात्र सीमित रहँदैन। त्यसले कांग्रेसको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ।
नेपाली कांग्रेस बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेरजस्ता नेताको त्याग, संघर्ष र विचारबाट निर्माण भएको पार्टी हो। यो पार्टी कुनै व्यक्तिको तत्कालीन लाभ–हानि, पद वा राजनीतिक समीकरणको प्रयोगशाला बन्नु हुँदैन।
गगन थापा र विश्वप्रकाश शर्माप्रति मेरो सम्मान छ। कांग्रेसमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो। तर नेतृत्व नयाँ हुनु मात्र पर्याप्त हुँदैन। नयाँ नेतृत्वमा नयाँ राजनीतिक संस्कार, धैर्यता, त्याग, सहमति निर्माण गर्ने क्षमता र आलोचना सुन्न सक्ने संस्कार पनि आवश्यक हुन्छ।
त्यसैले गगन वा विश्वप्रकाशका कमजोरीमाथि प्रश्न उठाउनु युवा पुस्ताको विरोध होइन। उनीहरूका निर्णयको आलोचना गर्न सकिन्छ। त्यसैले कांग्रेस आजको अवस्थामा आइपुग्नुको सम्पूर्ण दोष नयाँ पुस्तामाथि थोपरेर इतिहासप्रति न्याय हुँदैन।
विशेष महाधिवेशनको विरोध गर्दै लामो समयसम्म पार्टीभित्र विभाजनको अवस्था कायम राख्ने, देशव्यापी संगठनमा आफ्नो प्रभाव प्रयोग गर्ने, वडा तहसम्म कार्यकर्तालाई विभाजित बनाउने, आन्तरिक विवादलाई अदालतसम्म पुर्याएर समाधानको बाटो जटिल बनाउने र अन्ततः यही परिस्थितिमा पार्टीलाई छाडेर नयाँ समीकरणतर्फ लाग्ने नेताहरूले पनि आजको अवस्थाको जिम्मेवारी लिनुपर्छ।
पूर्णबहादुर खड्का, मीन विश्वकर्मा, डिना उपाध्यायलगायत नेताहरूसँग यही प्रश्न हो—देउवा नेतृत्व छाड्नु राजनीतिक निर्णय हुन सक्छ, तर देउवासँग जोडिएको आफ्नो राजनीतिक इतिहास पनि छाड्न मिल्छ?
भोलि गगन थापा राजनीतिक रूपमा अनुकूल भएनन् भने के गर्ने? विश्वप्रकाश शर्मासँग राजनीतिक स्वार्थ मिलेन भने फेरि अर्को समीकरण खोज्ने? वा त्यसबेला कांग्रेसको विचार, सिद्धान्त र संस्थागत मूल्यका पक्षमा उभिने?
यही प्रश्न आजको कांग्रेसको मूल प्रश्न हो।
बीपी कोइरालाको राजनीतिक जीवन सम्झिने हो भने पदभन्दा विचार ठूलो थियो। तत्कालीन राजनीतिक अवसरभन्दा दीर्घकालीन राजनीतिक आदर्श महत्वपूर्ण थियो। इतिहासमा सम्मान पदका कारण मात्र प्राप्त हुँदैन, कठिन समयमा लिएको निर्णय र त्यसमा देखाएको राजनीतिक धैर्यले पनि व्यक्तिको मूल्यांकन निर्धारण गर्छ।
त्यसैले कांग्रेसभित्र नेतृत्व परिवर्तन आवश्यक छ भने त्यो स्वाभाविक प्रक्रियाबाट हुनुपर्छ। नयाँ पुस्ता आउनुपर्छ भने नयाँ पुस्ताले पुरानो पुस्ताका कमजोरी मात्र होइन, आफ्ना अगाडिका पुस्ताले बोकेको त्याग र संघर्षको मूल्य पनि बुझ्नुपर्छ।
कांग्रेसलाई व्यक्तिगत राजनीतिक भविष्य सुरक्षित गर्ने माध्यम बनाउने कि विचार, सिद्धान्त र लोकतान्त्रिक संस्कारको संस्था बनाउने भन्ने प्रश्न आजका नेताहरूका अगाडि छ।
राजनीतिमा समीकरण बदलिन्छन्, नेतृत्व बदलिन्छ, पद बदलिन्छन्। तर राजनीतिक इतिहास बदलिँदैन। हिजो बोलेका कुरा, हिजो गरेका निर्णय र हिजोका सहकार्यहरू पनि इतिहासकै हिस्सा हुन्।
त्यसैले देउवा नेतृत्वबाट अलग हुँदै गर्दा कसैले नयाँ राजनीतिक बाटो रोज्न सक्छ। त्यो उसको राजनीतिक अधिकार हो। तर देउवा छाड्दैमा देउवासँग जोडिएको आफ्नो विगत, आफ्नो जिम्मेवारी र आफ्नो राजनीतिक इतिहास पनि छाड्न मिल्दैन।
इतिहासले अन्ततः पदको होइन, राजनीतिक विवेक, त्याग, धैर्यता र इमानदारीको हिसाब राख्छ।
(लेखक शुकदेव दाहाल युवा राजनैतिककर्मी तथा पत्रकार हुन् ।)
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...