
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार आज र भोलि स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भएपछि देशभर औपचारिक रूपमा अधिवेशन प्रक्रिया सुरु भएको हो ।
यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत वडा नम्बर ७ को वडा अधिवेशन पनि शनिबारबाट सुरु भएको छ । वडा सभापति उज्जल दुवाडीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धर्मराज गौतमले बीपी कोइराला र गणेशमान सिंहको तस्बिरमा माल्यार्पण गर्दै अधिवेशनको सुरुवात गरेका थिए ।

उद्घाटन कार्यक्रममा महासमिति सदस्य रीता ढकाल दवाडी, महासमिति सदस्य किरण गिरी, नागार्जुन नगर समिति सभापति दुर्गाप्रसाद गौतम, पूर्व वडा सभापति रमेशप्रसाद गौतम, ज्येष्ठ सदस्य प्रेम गिरी र रामेश्वरप्रसाद गौतमलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन वडा सचिव सुवास दवाडीले गरेका थिए ।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागी हुन पाउनेछन् । वडा क्षेत्रभित्रका क्रियाशील सदस्य नै वडा अधिवेशनका सदस्य हुने व्यवस्था गरिएको छ ।
वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्यहरू निर्वाचित हुनेछन् । अधिवेशनले वडा तहमा नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रियासमेत अघि बढाउनेछ ।

कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन् ।
कांग्रेस विधानमा नगर-उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।

कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर-उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान रहेको संयोजक खड्काले बताए ।

उनका अनुसार कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने व्यवस्था छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।
यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ । काँग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।
गाउँ/नगर/उपमहानगर/महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय,...