भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै – Naya Bikalpa
September 19, 2026, Saturday      Epaper

भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै


काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै छुट्टै नामकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोशीमा आएको बाढीको उत्पत्ति, घटनाक्रम र त्यससँग जोडिएका हिमाली जोखिमको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको हो । समितिले घटनाको वैज्ञानिक आधार र प्रमाण संकलन गरेपछि उपयुक्त नाम प्रस्ताव गर्नेछ ।

जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा घटनाका लागि ‘ग्लेसियर रक एभलेन्च’, ‘आइस रक एभलेन्च/ल्यान्डस्लाइड’ र ‘रसुवा भोटेकोशी महाविपत्’ लगायत नाम छलफलमा आएका छन् ।

जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालले भोटेकोशीको घटना विश्वमै दुर्लभ प्रकृतिको भएकाले विस्तृत अध्ययनपछि मात्रै यसको स्वरूप र नामबारे निष्कर्षमा पुग्न सकिने बताए ।

‘यो विश्वमै दुर्लभ घटना हो । यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन,’ उनले भने, ‘सबै वैज्ञानिक आधार र प्रमाण संकलन गरिसकेपछि उपयुक्त नामकरण गरिनेछ ।’

मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन् ।

समितिले बाढीको उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै प्रभावित सम्पूर्ण तटीय क्षेत्रमा स्थलगत अध्ययन गर्नेछ । अध्ययनमा बाढी कसरी उत्पत्ति भयो, कुन भौतिक प्रक्रियाबाट सुरु भयो र त्यसको प्रभाव तल्लो क्षेत्रमा कसरी फैलियो भन्ने विषयलाई प्राथमिकतामा राखिनेछ ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार घटनालाई केवल सामान्य बाढी वा अतिवृष्टिको परिणामका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित ‘शृंखलाबद्ध विपद्’का रूपमा अध्ययन गरिनेछ ।

यसअघि जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले भोटेकोशी बाढीबारे प्रारम्भिक अध्ययन गरेको थियो । उक्त अध्ययनले बाढीको वास्तविक उत्पत्ति, विपद् सुरु भएको भौतिक प्रक्रिया तथा भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलिएको प्रक्रियाबारे पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन बाँकी रहेको निष्कर्ष निकालेको थियो ।

त्यसैले घटनालाई जलवायु परिवर्तनको परिणामका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको केन्द्रले सुझाव दिएको थियो । अब प्रस्तावित अध्ययनमा भूगर्भ, हिमनदी, तापक्रम, पानीको प्रवाहलगायत विषयलाई समग्र रूपमा समेटिनेछ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
  • २०८३ आश्विन ३, ०७: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन ३, ०७: ४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
  • २०८३ आश्विन ३, ०७: ४८

काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय,...