बी.पी. कोइरालाद्वारा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना सम्बोधन – Naya Bikalpa
October 1, 2026, Thursday      Epaper

बी.पी. कोइरालाद्वारा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना सम्बोधन

हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो, तपाईहरुसन्मुख विभिन्न प्रस्तावका रुपमा ती सबै उपस्थित भइसके र तपाईहरुले तिनीहरुमाथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो । भारतलाई दासताको जुवा बोकाउने ब्रिटिस शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दुस्तानमा उसको राज्य केवल फुटले मात्र कायम हुनसक्छ भन्ने अनुभव ग¥यो ।

यसको प्रत्यक्ष दृष्टान्त ब्रिटेनले नेपाली र शिखहरुको सहायताबाट त्यस महान् आन्दोलनलाई विफल पार्न सक्नु थियो । त्यस आन्दोलनबाट ब्रिटिस राजनीतिज्ञहरुले शिक्षा लिएर ब्रिटिस राज्यमा भारतका साना साना राज्यलाई गाभ्ने आफ्नो नीति छाडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरु भारतवर्षका आफ्नै दाजुभभाइहरुको स्वतन्त्रताको बाटोमा मूढो तेस्र्याउँदै छन्, उनीहरुमाथि शत्रुझैँ गोली चलाउँदै छन् । आफ्नै देशका दुई थरी दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो ।
अशिक्षा र अज्ञानतामा राखिएका नेपालका सोझा प्रजालाई मूर्ख बनाउँदै भारतवर्षमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुँदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान् हुँदै गइरहेको आफ्ना भारतीय दाजुभाइ, दिदी बहिनीहरुको सहयोग र सहायताबाट वञ्चित हुनेछन् ।
तर हामी त्यति सजिलै ठगिने छैनौं । ज्ञानको प्रखर ज्योतिले हाम्रा आँखा पनि विस्तारो उघ्रन लागेका छन् । हामीहरुलाई यति चाँडै यतिका सहयोगी प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै संगठिन भएर–

१. नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने र
२. भारतीय स्वतन्त्रता सङ्ग्राममा पनि पूर्ण सहयोग दिने, आफ्नो संस्थाका यी उद्देश्यलाई प्रत्येक नेपाली दाजुभाइ, दिददीबहिनीको कानसम्म पु¥याएर उनीहरुको सहानूभूति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ । किनभने, जनताको राज्य स्थापित गर्नका लागि जनताकै सहायता चाहिन्छ । यो काम सम्पन्न गर्न लुकेर वा गुप्त संङगठनद्वारा त्यति सजिलो हुँदैन । नेपाल प्रजापरिषद्को विफलता र भारतमा क्रान्तिकारी दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ । म मान्दछु, नेपालको वर्तमान शासनप्रणाली शिथिल भइसकेको छ ।

सुधारवादीहरुको साधारणभन्दा साधारण कामले पनि अपराधी शासकहरु तर्सन्छ् र उनीहरुलाई बलपूर्वक हटाउन गाह्रो छैन । तर, त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ, जब ब्रिटिस शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरुको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुनेछैन । यही कारणले हामीले भारतमा ब्रिटिस शासनको अन्त्य गर्नका निमित भारतीय स्वतन्त्रता संङ्ग्रामलाई पनि पूर्ण सहयोग दिने उद्देश्य राख्नु आवश्यक भएको हो । यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरुलाई पारस्परिक सहायताले पनि निकै बल दिनेछ र जर्जर भइसकेको ब्रिटिस शासनको नास अझ गरिदिनेछ ।

हाम्रा वर्तमान शासकहरुले हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यही हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन, हिँड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रुने हाँस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश केही सुरक्षित छैन ।
स्वेच्छाचारी शासक वर्गको मर्जी र हुकुमको अगाडि सबै निरीह छन् । यहाँ कानुन भनेको केही पनि होइन, केवल प्रभुको हुकुम मात्र ठूलो कुरा हो । यो स्वतन्त्रता हो कि स्वतन्त्रताको उपहास ? जापान र टर्की पनि नेपाल जत्रै राष्ट्र हुन् । तर, नेपाल र उनीहरुमा तुलना गर्नै मिल्दैन । उनीहरुभन्दा हामीहरु कुनै कुरामा हीन थिएनौं । तर, किन हाम्रो यस्तो अवस्थामा छ ? प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरुले यसको उक्त दिऊन् ।

हामीहरुले निकै पछि चेत्यौं । संसार हामीभन्दा निकै अगाडि बढिसक्यो, उसलाई हामीहरुले दगुरेर भेट्टाउनुप¥यो । अब हामीसँग गँड्यौलाको चालले वामे सर्ने समय छैन । यस सम्बन्धमा म एउटा कुरा अझ स्पष्ट पार्न चाहन्छु । हाम्रो कुनै वर्ग वा सम्प्रदायिक कदापि शत्रुता छैन । नेपालमा बस्ने वा उससँग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । देशको उपकार र उन्नति नै हाम्रो अभीष्ट र लक्ष्य हो । हामी केवल निरङ्कुश स्वेच्छाचारी शासनप्रणालीका विरोधी हौं । त्यसकारण कुनै वर्ग विशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशङ्का गर्नु उचित छैन । हाम्रा निमित सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको पर्वाह नगरी, योग्यताको विचार गर्दै सबैको सहायता बन्नेछौं । सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयत्नशील रहेका छौं ।

समय थोरै छ, काम ठूलो छ । यस कारण नेपाल राष्ट्रका प्रत्येक दाजुभाइ, दिदीबहिनीसित यस संस्थाका कुनै सदस्यले व्यक्ति गत रुपमा पुगेर सहयोग र सहायताका लागि प्राथना गर्ने बाटो नपर्खी स्वयं नै हामीलाई सहायता गर्न उपस्थित हुनका लागि नेपाली राष्ट्रिय काङ्ग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । उनीहरुबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयत्न हो । त्यसकारण उनीहरुले आफ्नो यो संस्थामा अबिलम्ब स्वय आएर यसलाई आफ्नो सहयोग दिँदै यसको शक्ति बढाउनुपर्छ । नेपालमा कुनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएका स्त्री पुरुष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । तसर्थ यस संस्थाको प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो, त्यो उत्तरोत्तर बढ्दै जानेछ र हामीलाई उत्साह, सहयोग र धनसम्बन्धी सहायताको अभाव कहिल्यै हुनेछैन भन्ने आशा मात्र होइन, विश्वास पनि छ ।

दाताहरुको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका काशीबाट प्रकाशित हुने भएको छ भन्ने सूचना दिँदा मलाई हर्ष लागेको छ । यसद्वारा हामीहरु आफ्नो सन्देश, कार्यक्रमको सूचना र आफ्नो राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरु आफ्ना दाजुभाइ, दिदी बहिनीहरुसम्म अति शीघ्र र सुगमतापूर्वक पु¥याउन सक्नेछौं । यसबीच, हाम्रा सन्देशहरु ससाना पुस्तिका तथा बुलेटिनमार्फत् प्रचारित हुनेछन् । तिनीहरु सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित्त हामीलाई विशेष चन्दास्वरुप कम्तीमा पाँच रुपैयाँका साथ आफ्नो ठेगाना अपेक्षित छ ।

(उद्घाटन भाषणः १९४७, जनवरी २६,, वि.सं २००४, माघ ।
स्रोत ः नेपाली राष्ट्रिय काँङ्ग्रेसको कलकत्ता सम्मेलन पुुस्तिका)
(बी.पी. कोइराला र नेपाली कांङ्ग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ माघ २२, ०८: ५७

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
  • २०७४ माघ २२, ०८: ५७

१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...

मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
  • २०७४ माघ २२, ०८: ५७

-शुकदेव दाहाल, नुवाकोट नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत...