अमेरिकामा ब्यबसाय गर्न काम लाग्ने १० मन्त्रहरु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

अमेरिकामा ब्यबसाय गर्न काम लाग्ने १० मन्त्रहरु

सानुबाबु सिलवाल

‘भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडिँदैन’ भन्ने उखान अझै पनि उत्तिकै सान्दर्भिक छ । ‘इलम नगरे धन कमाइन्न’ भनेर हाम्रा बूढापाकाहरू अझै भनिरहन्छन् । व्यवसाय नै आर्थिक सफलताको मुख्य आधार हो भन्दा फरक पर्दैन । व्यवसाय आफैंमा जोखिमपूर्ण छ । तर, नहिँडे लडिँदैन । त्यसो त दुनियाँमा सरल र सहज केही छैन पनि । व्यवसाय गर्दा कतिपय पक्षहरूमा ध्यान दिन जरुरी छ । समयमै ध्यान दिँदा र कतिपय पक्षहरूमा बुद्धि–विवेक पुर्याउँदा असफल हुने जोखिम कम हुन्छ ।

अमेरिकामा व्यवसाय गर्दा केही फरक तत्वहरू महत्वपूर्ण छन् । ती तत्वहरूमा ध्यान दिई उपभोक्ताको भावना बुझेर त्यसबाट केही सिक्दै आफूलाई ताजा बनाउन सके सफलता हात पार्न सकिन्छ । यदि तपाईंहरू अमेरिकामा ब्यवसाय गर्न खोज्दै हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ तर व्यवसायका लागि नयाँ हुनुहुन्छ भने मैले यहाँ तपाईंहरूका लागि उपयोगी हुन सक्ने केही तथ्यहरू प्रस्तुत गर्ने जमर्को गरेको छु । मलाई विश्वास छ, यस लेखले तपाईंहरूलाई सहयोग पुग्नेछ । तल उल्लेखित १० मूलभूत तथ्यहरूमा ध्यान पुर्याउन सक्नुभयो भने तपाईं व्यवसायतर्फ केही ध्यान आकृष्ट गर्न सक्नुहुनेछ ।

यसका मूलभूत तथ्यहरू क्रमिक रूपमा लागू गर्न सक्नुभएमा तपाईंहरूलाई यसले ठूलो टेवा पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु । ती मूल मन्त्रहरू यस प्रकार छन् ः–

पहिलोः– अमेरिकामा व्यवसायका लागि सबैभन्दा पहिले आफूसँग भएका श्रोतसहित व्यवसायका लागि शान्तिपूर्ण ठाउँमा बसेर तपाईं एक्लै वा परिवारका महत्वपूर्ण सदस्यहरू आपसमा बसेर योजना कोर्नुहोस् । जसले तपाईंलाई परिपक्व र आफ्नो योजनामा निर्धक्क बनाउनेछ ।

दोश्रोः– यदि तपाईंलाई आफूले गर्न खोजेको व्यवसायबारे तालिम, सुझाव वा सल्लाह प्राप्त हुनसक्छ भने त्यसतर्फ ध्यान दिनुहोस् । प्रविधिको जमानामा घरमै बसेर पनि ब्यवसायसम्बन्धी ज्ञान प्राप्त गर्न सकिन्छ । आफ्ना साथीभाइ, आफन्त वा सम्बन्धित विषयमा जान्ने–बुझ्ने समाजका ब्यक्तिहरूसँग पनि व्यवसायसम्बन्धी ज्ञान र जानकारी लिनुहोस् । जसबाट तपाईंलाई थप जानकारी प्राप्त हुनेछ । यसो गर्दा कतिपय सतर्क हुनुपर्ने अवस्थाका लागि तपाईं बेलैमा सतर्क हुन सक्नुहुनेछ । यसबाट व्यवसायका लागि लाग्ने खर्च र भैपरी आउने अवस्थालाई थप सहयोग पुग्नेछ । यसले व्यवसायको स्थान, कसरी व्यवसाय गर्ने र कसरी सफलतापूर्वक सञ्चालन गर्ने भन्नेमा थप टेवा पुग्नेछ ।

तेश्रोः– साना ब्यवसाय सञ्चालन र यसको सफलताका लागि स्थान छनौटको महत्वपूर्ण भूमिका हुन्छ । कहाँ, कस्तो स्थानमा, कस्तो प्रवृत्तिको व्यवसाय चल्न सक्छ भन्ने बुझ्नुहोस् र स्थान छनौट गर्नुहोस् । स्थान सही र पायक ठाउँमा पर्यो भने मात्रै पनि छोटै समयमा योजनालाई सफलतामा पुर्याउन सकिन्छ । स्थान छनौट गर्दा महत्वपूर्ण रूपमा ध्यान पुर्याउनुहोस् । स्थान छनौट गर्दा स्थानीय मानिसहरूको बसोबास, आपराधिक गतिविधि, उपभोक्ताको क्रय क्षमता र स्थानीय भौगोलिक पक्षलाई ध्यान दिन अत्यावश्यक हुन्छ । स्थान छनौट गर्दा आफूले त्यही स्थानमा केही समय ब्यतित गरी अध्ययन गर्नु उपयुक्त हुन्छ र आफूलाई त्यस स्थानबारे थप ज्ञान प्राप्त हुन्छ ।

चौंथोः– व्यवसाय सुरु गरी सञ्चालनका लागि आर्थिक स्थितिको जोहो गर्नैपर्छ । तपाईंसँग भएको आर्थिक श्रोतलाई मध्यनजर गर्दै अघिल्लो बुँदामा भनेजस्तै कुन व्यवसायमा कति लागत लाग्छ र तपाईंसँग कति श्रोत छ भनेर लेखाजोखा गर्नुहोस् । आफ्नो श्रोतबिना नै ऋण खोजेर र ऋणको भरमा मात्रै कदापि व्यवसाय नगर्नुहोला । कथंकदाचित ब्यवसाय चल्न समय लाग्यो भने खर्चको भारी र ऋणको ब्याज बढ्न गई तपाईंलाई असफलतातिर लैजान सक्छ । व्यवसायका लागि पुग नपुग सरसहयोग लिन सकिन्छ । बैंक वा वित्तीय निकाय तथा क्रेडिट कार्डबाट ऋण लिएर मात्रै ब्यवसाय नगर्नुहोला । ब्यवसाय सञ्चालन गर्दा सुरुमा शून्य तहमा नबस्नुहोला । आफूसँग केही मात्रामा भैपरि आउने खर्च जोहो गरेर राख्नुहोला । शून्यबाट सुरु गर्दा ब्यवसायमा थप खर्च र लगानी गर्न नसकिने भएमा धराशायी बनाउन सक्छ ।

पाँचौं – तपाईं झुक्किएर पनि साथीभाइ वा परिवारका अन्य सदस्यहरूसँग मिलेर साझेदारीमा ब्यवसाय नगर्नुहोला । सयौंमा एक–दुई वटा साझेदारी व्यवसाय चलेको देखिए पनि अधिकांश रूपमा मनमुटाव, झगडा, मुद्दा मामिला र अस्तब्यस्त रूपमा टुंगिएको हामी सबैले देखेकै छौं । कर्पोरेट लगानी गर्न सकिन्छ । तर, ठूलो लगानी आवश्यक पर्छ । सानो ब्यवसायबाट सुरु गर्दा आफू एक्लैले गर्नुहोला । व्यवसायमा थप निर्णय गर्नुपर्ने परिस्थितिमा वाद–विवाद हुने, शंका–उपशंका र आपसी द्वेष र मतभेदका कारण व्यवसाय फस्टाए पनि एक–अर्काले हडप्न खोज्ने अवस्था देखिन्छ । अझ नेपालीहरूबीचमा त साझेदारी ब्यवसाय अफापसिद्ध नै भएको देखिन्छ ।

छैठौं– व्यवसाय गर्दा कानुनी रूपमा दर्ताका साथै नियम–कानुनहरूको पालना अत्यावश्यक र महत्वपूर्ण हुन्छ । अझै अमेरिकामा त कानुनभन्दा माथि कोही पनि छैन । अमेरिकामा कानुनसँग खेल्नु भनेको त्योभन्दा ठूलो अर्को दुर्भाग्य नै छैन । कसरी कम्पनी दर्ता गर्ने, कस्तो कम्पनी दर्ता गर्दा फाइदा बढी हुन्छ, लेखापालसँग समन्वय गरी दर्ता गर्नुपर्दछ । क्इीभ् एच्इएच्क्ष्भ्त्इच्क्ज्क्ष्ए, एब्च्त्ल्भ्च्क्ज्क्ष्ए, ीक्ष्ःक्ष्त्भ्म् ीक्ष्ब्द्यक्ष्ीक्ष्त्थ् ऋइःएब्ल्थ् (ीीऋ), ऋइच्एइच्ब्त्क्ष्इल्, ल्इल् एच्इँक्ष्त् अथवा ऋइइएभ्च्ब्त्क्ष्ख्भ् (म्द्यब्) दर्ता र करसम्बन्धी सम्पूर्ण चिज सम्बन्धित ऋएब् वा लेखापालसँग समन्वय गरी दर्ता गर्नुपर्दछ । अवस्था, ठाउँ, व्यवसाय, प्रकृत्ति हेरी कम्पनी दर्ताका प्रक्रिया, माध्यमहरू अनुकूल र प्रतिकूल हुने हुन्छ । त्यसैगरी व्यवसाय गर्ने घर–जग्गाको सम्झौता गर्दा कानुन व्यवसायीको सहयोग आवश्यक पर्छ । सम्झौतामा लेखिएका भाषा तथा तरिकाहरू नबुझेमा वा बुद्धि पुर्याउन सकिएन भने दुर्भाग्य हुन्छ र अन्ततोगत्वा ब्यवसाय नै ध्वस्त हुनसक्छ । यस्ता सम्झौता र समझदारी गर्दा कागजी रूपमा आफू बलियो हुन सम्बन्धित विषयका कानुनविदसँग सल्लाह र छलफल गरी तिनैकहाँ गएर सम्झौता गर्नु उपयुक्त हुन्छ ।

सातौं – व्यवसाय सुरु गर्दा लेखापालसँग समन्वय गरी लेखाविज्ञलाई नै कम्पनी दर्ताको कामको जिम्मेवारी दिँदा उत्तम हुन्छ । फेडरल कर दर्ता, सम्बन्धित राज्य वा काउन्टीको करमा दर्ता गरी राजश्व विभागसँग तिनै लेखापाललाई नियमित कामको जिम्मेवारी दिनु पर्दछ । करमा दर्ता, कामदार नियुक्त गर्ने हो भने कामदारको कर, आम्दानी कर, रोजगार कार्यालय र आयोगमा समेत दर्ता गर्नुपर्ने हुन्छ । कर नम्बर लिएपछि कामदारको सुविधा, बेरोजगार बीमा, श्रम विभागजस्ता निकायसँग समन्वय गर्न जरुरी हुन्छ । यी सबै लेखापालमार्फत जानकारी लिन सकिनेछ । कतिपय ब्यवसायमा नगदमा मात्रै काम लगाउँदा काम गर्ने र गराउने दुबैलाई कानुनी समस्या पर्न सक्छ । सकेसम्म नगदमा कामदार लगाउने जोखिम नमोल्नुहोला । त्यसैगरी व्यवसायका लागि आवश्यक पर्ने लाइसेन्स तथा परमिटहरू राज्य, संघीय तथा स्थानीय सरकारी निकायबाट लिनुपर्ने हुन्छ । त्यसका लागि ब्यवसाय बुझेका र चलाएका ब्यक्ति, पूर्व ब्यवसाय धनी वा लेखापाल आदिबाट जानकारी लिनु पर्दछ । आवश्यक लाइसेन्स–परमिट नलिएमा तथा नवीकरण नगरेमा ब्यवसाय नै खारेज र बन्द गरिदिन सक्छन् । साथसाथै कामदार नियुक्ति, नियम, कर तथा अन्य विविध कानुनी जानकारी आवश्यक पर्दछ । जुन कुरा बुझ्न जरुरी छ ।

आठौं – अमेरिकामा व्यवसाय सञ्चालन गर्दा उपभोक्ताको अधिकार, कानुनी पक्ष तथा केही अमेरिकी अभ्यासलाई मध्यनजर गर्नैपर्छ । उपभोक्ताको मन र भावना जित्न सकिएन भने अमेरिकामा कुनै पनि ब्यवसाय टिक्न सक्तैन । स्थानीय उपभोक्ता के चाहन्छन् ? कस्ता वस्तुमा उनीहरूको रोजाइ छ ? भन्ने जानकारीका साथै उनीहरूको हाउभाउ अध्ययन गर्न आवश्यक छ । यसो गर्न सकिएमात्र उपभोक्ताको मन जित्न सकिनेछ ।

नवौं– अमेरिकामा पूर्णतः उपभोक्तवादी संस्कार छ । उपभोक्ताको अधिकारलाई राज्यले महत्वपूर्ण र कानुनी रूपमा बलियो ढंगले स्थापित गरेको छ । ग्राहकको अधिकारलाई बेवास्ता गरेमा, ग्राहकलाई हेपेमा तथा गलत ब्यवहार गरेमा कानुनी सिकार बन्नुपर्ने हुनसक्छ । अमेरिकी बजार र समाजमा लगानीकर्ता, कामदार र ग्राहकको अन्तरसम्बन्ध बलियोसँग जोडिएको छ । ग्राहकको सुविधा र उनीहरूको मन जित्न सहुलियतजस्तै केही सस्तो र गुणात्मक सेवा दिन जरुरी छ । यो मुलुक भनेको डिल (सहुलियत) को मुलुक हो । जता जाऔं, ‘एउटा किने, अर्को सीत्तैमा’, ‘दुईटा किने, एउटा सित्तैमा’लगायत यति र उति प्रतिशत छुट, कुपन उपहारआदि योजनाहरूले अमेरिकी बजार तातेको छ र त्यसो गर्न सकिएन भने ब्यवसाय चल्न सक्दैन ।

दशौं – तपाईंसँग सबै चिज छ । तर, ब्यवस्थापन गर्न सक्ने खूबी छैन र सिक्नुभएन भने तपाईं सफल बन्न सक्नुहुन्न । सफल बन्न ब्यवस्थापनमा निपूर्ण हुनु अत्यन्तै महत्वपूर्ण छ । आर्थिक ब्यवस्थापन, कामदार र कानुनी पालना, स्थानीय तहमा ग्राहक र ब्यवसायसँग सम्बन्धित निकाय तथा ब्यवसायिक संस्थाहरूसँगको ब्यवस्थापन, लगानी र प्रतिफलको ब्यवस्थापन गर्न सकिएन भने प्रत्युपादक हुन सक्छ । ब्यवस्थापनका लागि आवश्यक श्रमशक्ति, ब्यक्तिहरूको नियुक्ति तथा परिचालन महत्वपूर्ण हुन्छ । साना ब्यवसायमा लगानीकर्ता आफैं सक्रिय हुने र आफैं श्रम गर्ने अवस्था विद्यमान छ । यस्तो अवस्थामा समय, ब्यवस्थापकीय पक्ष, ग्राहकहरूको लेखाजोखा, मनस्थिति र ब्यवसाय बृद्धिका लागि निरन्तर चिन्तन नै सफलताको आधार मान्न सकिन्छ । आर्थिक तथा बजार ब्यवस्थापन, प्रचार–प्रसार, उपभोक्ता केन्द्रित नीति, समन्वय, नेटवर्किङ्ग तथा दक्ष र इमानदार जनशक्ति अमेरिकामा ब्यवसायका आधार स्तम्भ हुन् ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ फाल्गुन १४, ०८: ३३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ फाल्गुन १४, ०८: ३३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ फाल्गुन १४, ०८: ३३

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...