कृतज्ञ नेपालीले सधैँ सम्झनु पर्ने नाम–गिरिजाप्रसाद कोइराला – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

कृतज्ञ नेपालीले सधैँ सम्झनु पर्ने नाम–गिरिजाप्रसाद कोइराला

१. त्यो दिन थियो २०६६ साल चैत्र ७ गते । एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन । स्मृति दिवस । प्रजातान्त्रिक नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला ।

प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनाका लागि सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला । प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ को आम निर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा क्रान्ति र शान्ति नायकका रुपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन् ।

समाज रुपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला । जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला ।

२. जीवनमा केही मानिसहरु हुन्छन् कसैको पनि सम्झनामा । मेरो पनि सम्झनामा एउटा त्यस्तो व्यक्तिको स्मृति अझै ताजा छ, गिरिजा बाबुको सम्झना । हामी जो भारत प्रवासमा थिएनौँ, जो भारतको बनारसमा पढ्न पनि गएका थिएनौँ, तिनीहरुका लागि उहाँ गिरिजा दाइ हुनुहुन्थेन, गिरिजा बाबु नै हुनुहुन्थ्यो किनभने उहाँलाई समकालीन नेताहरुले गिरिजा बाबु नै भनेर बोलाउँथे ।

अनि उहाँको नाम एउटा क्रान्ति पुरुषको रुपमा लिइन्थ्यो, काँग्रेस र प्रजातन्त्रको एउटा अथक सिपाहीको रुपमा उहाँ आफूलाई चिनाउनु हुन्थ्यो र पनि तत्कालीन अवस्थामा-प्रवासमा हुँदा होस् कि खुलारुपमा नेपालमा रहँदा वा प्रतिवन्धित अवस्थामा पनि- नेपाली काँग्रेसको सङ्गठन धान्ने मानिसको रुपमा उहाँलाई नै बढी मानिन्थ्यो । हामीले त्यसैगरी उहाँलाई चिन्थ्यौँ जुन परिचय उहाँको जीवनपर्यन्त कायम रह्यो ।

३. बीपीको असली कार्यकर्ता भन्दा पनि कुशल सङ्गठक भएकाले उहाँँको मृत्युपर्यन्त काँग्रेसको पर्यायवाची भएर रहनु भयो । काँग्रेसको सभापति हुनुभयो, बारम्बार काँग्रेसको सँसदीय नेताका हैसियतले प्रधानमन्त्री हुनुभयो ।

प्रधानमन्त्री हुँदा पनि उहाँलाई काँग्रेसको सङ्गठनकै चिन्ता हुन्थ्यो । मृत्यु शय्यामा समेत उहाँलाई नेपाली काँग्रेसको नै चिन्ता थियो । बीपी स्वयं पनि कतिपय साङ्गठनिक कुरामा गिरिजा बाबुको सल्लाहले मात्र काम गर्नुहुन्थ्यो भन्ने भनाइ छ ।

पछि त गिरिजा बाबुप्रति जतिसुकै कुरा नमिले पनि उहाँका समकालीन र अग्रज नेताहरुले उहाँलाई मान्नै पर्ने अवस्था सृजना भयो जुन उहाँँको जीवनभरि लागू भयो मात्र उहाँको नेपाली काँग्रेसप्रतिको निष्ठा र संगठनका कारणले ।

४. गिरिजा बाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्यौलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझ भेलबाट वा बैतालाग्ने अवस्थाबाट किनारामा ल्याउनु भएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ ।

भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन । तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ ।

५. तर त्यस्तो व्यक्ति पनि एकदिन यो नश्वर शरीर यहीँ छोडेर जानु भयो । आध्यात्मिकताका आधारमा भन्ने हो भने उहाँँले अर्को चोलाका लागि यो शरीररुपी लुगा परिवर्तन गर्नुभयो, भौतिकवादी तरिकाले भन्दा उहाँँको भौतिक अस्तित्व यहीँ विलीन भयो ।

६. इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने कुरा गिरिजा बाबुको त्यो साहसका लागि लागू हुन्छ जसले जङ्गल कब्जा गरेको कुरा गर्थे, ९० प्रतिशत नेपाल आफ्नो कब्जामा छ भनेर अहंकार गर्थे, उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको शान्तिकालीन अवस्थासम्म आएको छ ।

हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्तिप्रक्रियाको अवस्थालाई तुलना गरेर हेराँै र अनिमात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ ।

७. एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रुपमा होस् ।

नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला ।

८. नेपालमा नै गिरिजा बाबु जस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ ।

उहाँको देहावसानपश्चात्का दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लागि सवै उत्तिकै दोषी छन् र सवैभन्दा बढी अनुत्तरदायी चाहिँ तत्कालीन नेकपा माओबादी केन्द्रलाई मान्न सकिन्छ किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको ।

न त सत्य निरुपण तथा मेल मिलाप आयोगले गति लिन सक्यो, न त बेपत्ता भएकाहरुका वारेमा कुनै नयाँ प्रक्रिया अगाडि बढ्न सकेको देखियो कारण हो शान्तिप्रक्रियाको मुख्य सरोकारवाला त माओबादी हो अझै पनि जतिसुकै टुक्रामा बाँडिए पनि ।

९. हुन त उहाँ लामो प्रवासपछि २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नु भएको थियो तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रुपमा चित्रित थियो । त्यसपछिका दिनहरुमा गिरिजा बाबुका कामहरु नेपालीहरुका लागि खुला किताब जत्तिकै स्पष्ट छन् ।

मानिसहरू कसैको निधनपश्चात् हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षत हुनपुग्यो । वास्तवमा गिरिजा बाबुको निधनचहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ ।

अपूरणीय क्षति नै भएको रहेछ । त्यसपछिका राजनीतिक घटनाक्रमले त्यही साबित गरिरहेका छन् । हुन त बाँचेकै भए पनि अहिले ९८ वर्षको वृद्ध हुनुहुन्थ्यो तर पनि यो बीचमा उल्झिएका गाँठाहरु सायद उहाँँ यहाँ जीवित हुनु भएको भए सुल्झिन्थे होलान् भन्ने कल्पना गरौँ ।

१०. कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानु पर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन ।

कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ भन्ने अहिलेको जटिलतम राजनीतिक परिस्थितिले देखाएको छ ।

११. उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओबादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ ।

खोलो त¥यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ । भनिन्छ, तत्कालीन एमाओबादीले गिरिजा बाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो ।

यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ । अब त्यो समय फर्केर आउने छैन, मात्र इतिहासको पदचाप सुनेर थाहा पाउने कुरा मात्र भएको छ ।

१२. सधँैभरि पड्कने बम, मारिने नेपालीका परिवारको चीत्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलका बीचमा आफूलाई र आफ्नो दललाई महान शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनु भयो, लोकतन्त्रप्रतिको आस्थावान बनाउनु भयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनु भयो ।

१३. अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथिउठेर त्यागी हुनसक्नुपर्दछ र निस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्दछ ।

वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजा बाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिँसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओबादी जसले सवैभन्दा ठूलो शत्रु भनेर नेपाली काँग्रेसलाई मात्र घोषणा गरेको थियो, त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनु भयो ।

यसो गरेकोमा नेपाली काँग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनित छ र नेपाली काँग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदैछ ।

१४. अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ । प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजा बाबुले गर्नुभएको थियो ।

हुनत गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य पाँचदलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्मे मिलेको थियो होला तर रणनीतिकारको अदम्य साहसविना त्यो सम्भव थिएन जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड समालेको हुन्छ ।

१५. नेपाली जनताका लागि लोकतान्त्रिक सम्विधान घोषणा भएको छ र त्यसको व्यावहारिक प्रयोगले मुलुकलाई विश्वको प्रजातान्त्रिक मुलुकको श्रेणीमा लैजानु छ । शान्ति र स्थिरता कायम गरेर मुलुकमा सदाका लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनु पर्दछ ।

यसो गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशिला राख्ने भनेको नै लोकतन्त्रको सँस्थागत विकास हुनु हो । यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रको विरुद्धमा गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्दछ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सदाका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिलेका विश्वमा प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्व समुदायलाई समेत दिएको छ ।

१६.अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली काँग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररुप लिएको थियो र पनि कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधान सभाको निर्वाचन सम्भव भएको थियो ।

त्यसपछिका दिनहरु पनि अझै उहाँका देनहरुले डोरिँदै गएका छन् । तर लाग्दैछ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकता बोध हुने गरी तूफान आउन थालेको छ ।

आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् ।

१७. नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धान्जलि हुनेछ । काँग्रेसी जनले बिर्सियून् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिने छैनन् जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए र ती जनहत्याका नायकहरुलाई जनताको महत्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाएका थिए ।

१८. सर्वोच्च अदालतले २०७७ फागुन २३ गतेसम्म एकदम बलियो सरकार थियो भनिन्थ्यो, झन्डै दुई तिहाईको बलसहितको । माथिल्लो सदनमा त अझ धेरै । सात प्रदेशमध्ये ६ प्रदेशमा त केन्द्र सरकारकै दलको सरकार थियो र स्थानीय तहमा पनि धेरै सरकारहरु एमाले र माओबादी मिलेर बनेको कृत्रिम नेकपाकै थिए र पनि किन स्थिति स्थायित्वपूर्ण राजनीतितर्फ डोरिएको थिएन ? झन स्थिति अन्यौलपूर्ण देखिँदैछ ।

कसरी राजनीतिक अवस्था सङ्लो होला भनेर भन्न सकिने अवस्था अहिले देखिँदैन । यसका लागि गिरिजा बाबुबाट केही गुण लिने र दलभन्दा राष्ट्र ठूलो मानेर समस्या समाधानका लागि लाग्ने प्रेरणा लिने काम गरौँ ।

प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ । प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै हो भन्ने गिरिजाबाबुको गुणलाई आत्मसात् गरौँ । त्यही नै उहाँप्रति श्रद्धाञ्जलि हुनेछ ।

१९. र अन्त्यमा, कोरोना प्रसङ्ग । नेपालले सामान्यतया नियमितरुपमा भन्दा पहिले कोरोना प्रतिरोधी खोप पायो भारतबाट । भारतले १०लाख डोज सहयोगस्वरुप दियो, नेपालले फेरि १०लाख डोज किन्यो, विश्व स्वास्थ्य संगठनको सहयोगमा ३लाख ४८हजार डोज खोप ल्यायो र दुई समूहमा गरी करिब १७ लाख नेपालीहरुलाई प्राथमिकताका आधारमा खोप लगायो । चीनले दिने भनेको खोपको मात्रा ८ लाख डोज हुने छ । तर त्यो आइपुगेको छैन ।

प्राप्त खोपमध्ये प्राथमिकतामा खोप पाउनेमा परेका थिए स्वास्थ्यकर्मी, सफाइ कर्मी, पत्रकार, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक । त्यो खोप कार्यक्रम सुचारु गरियो उत्साहका साथ तर चैत्र ४ गतेबाट दिइने ५५वर्ष उमेरभन्दा माथिका नागरिकहरुका लागि भने सुचारु हुन सकेन । त्यसको कारण खोपको कमी नै हो जुन बेलैमा ल्याउन सकिएन ।

सायद चाँडै आउने छ भारतबाट, चीनबाट र खरिदका लागि भएको कार्यक्रमले पनि गति लिने विश्वास गरिएको छ । भारतको सेरम कम्पनीले बेलैमा उपलब्ध गराउने भनेको ५०लाख डोज खोप बेलैमा आउन पनि सकेन र कहिले आउने हो भन्ने पनि निश्चित छैन ।

आशा गरौँ, बेलैमा खोप आएर पहिलो र दोस्रो डोज दिने काम बेलैमा सुचारु हुनेछ । निजी तहबाट आउन सकेको पाइँदैन किनभने विश्वका कतिपय देशमा खोपले प्रवेश नै पाएको छैन र कतिपय देशमा दिइएको खोपका वारेमा प्रश्न उठेको पनि पाइन्छ ।

नेपालमा अहिलेसम्म त्यस्तो नकारात्मक प्रतिक्रिया देखिएको छैन र पहिलो डोज लगाउनेहरु दोस्रो डोजको पर्खाइमा छन् भने पहिलो डोजको प्राथमिकताका परेकाहरु पहिले खोपको पर्खाइमा छन् । कोरोनाको नयाँ नयाँ तरिकाको विकास भएको पनि सुनिन्छ र भारतमा त्यसको संक्रमण बढेको समाचार पनि आएकै छ ।

कोरोनाको संक्रमणबाट जोगिने वारेमा व्यक्तिगत सतर्कता र आपसी सहयोग भन्दा ठुलो औषधि छैन र सरकारका तर्फबाट संक्रमितहरुको हेरचाहको उचित व्यवस्थाको अपेक्षा गरिएको हुन्छ । खोपले बचाउने छ भन्ने आशामा रहेका नेपालीहरुको आशा पनि पूरा होस् र नयाँ नयाँ तरिकाको संक्रमणका लागि सतर्कता अपनाउनु बाहेक अरु उपाय छैन ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
  • २०७७ चैत्र ९, १६: ०७

१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...

मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
  • २०७७ चैत्र ९, १६: ०७

-शुकदेव दाहाल, नुवाकोट नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७७ चैत्र ९, १६: ०७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...