चौबिसै घण्टा घाम लाग्ने या चौबिसै घण्टा घाम नलाग्ने देशको कथा —१ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

चौबिसै घण्टा घाम लाग्ने या चौबिसै घण्टा घाम नलाग्ने देशको कथा —१

हरिविनोद अधिकारी

१. व्यक्तिगत रुपमा अहिले हामी पति पत्नी दुवै जना ओस्लोमा छौँ । यो बेला गृष्म ऋतु हो । सामान्यतः घाम नलाग्ने यो ठाउँमा अहिले प्रायशः घाम लाग्छ । प्रकृतिको लीला हो, अहिले उत्तरी धु्रवमा दिन लामो छ अर्थात् रात नै पर्दैन भने दक्षिणी धु्रवमा अहिले घाम नै लाग्दैन अर्थात् रातै रात छ । अहिले हामी त्यही उत्तरी गोलाद्र्धको पनि उत्तरी भेगमा छौँ ।

२. ्रत्यसैले यसपटक नर्वेका वारेमा । युरोपको उत्तरी भेग । राजधानी ओस्लो । आधिकारिक भाषा खासमा नर्वेजियन तर यहाँ बोलिने अरु भाषालाई पनि आधिकारिक नै मानिँदो रहेछ । नर्वेजियनमा बोकमोल र निनोस्र्क र आदिवासी भाषा सामी रहेछन् । अल्पसंख्यक भाषाहरुमा क्भेन फिनिस,रोमानी र रोमानेस रहेछन् । तर पनि धेरै नर्वेजियनहरुले बोल्ने भाषाचाहिँ नर्वेजियन भाषा नै हो । यहाँको जनसंख्या करिब ५४लाख रहेछ । यहाँको प्रतिव्यक्ति आय करिब ६५ हजार अमेरिकी डलर छ ।

३.हामी विद्यार्थी हुँदा एउटा प्रश्न हाजिरी जबाफमा जहिले पनि सोधिन्थ्यो—राती १२ बजे घाम लाग्ने देश कुन हो ? अर्थात् मध्यरातमा पनि घाम लाग्ने देश कुन हो ? वा वर्षको कुनै बेला घाम नै नअस्ताउने देश कुन हो ? अनि हाम्रो उत्तर बनी बनाउ नै हुन्थ्यो —नर्वे । अनि प्रश्न सोध्ने गुरुबा वा गुरुआमाले ठीक भनेर भन्नुहुन्थ्यो र त्यो समूहले अङ्क प्राप्त गथ्र्यो । पछि आफैँ विद्यार्थीहरुको हाजिरी जबाफको प्रतियोगिता चलाउन थालेँ र त्यही प्रश्न बारम्बार सोधी रहेँ , उत्तर पनि त्यही नै आइरह्यो । मैले पनि ठीक भन्नेलाई अङ्क प्रदान गर्दैरहेँ ।

अहिले म यतिबेर (२०७६ जेठ १२ गतेदेखि अर्थात् मे महिनाको २६ तारिखदेखि ) नर्वेको राजधानी ओस्लोमा छु । यही बेलामा नै उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१मा ( जुन २० वा २१ वा २२)म ओस्लोमा थिएँ । नभन्दै ओस्लोमा विहान ३ः५३मा त्यो दिन घाम झुल्कियो र राती १०ः५३ मा अस्तायो । मलाई रमाइलो लागेर रातको १२ बजेसम्म नियाली रहेँ तर मज्जाले हिँड्न सक्ने गरी उज्यालो रहीरह्यो । सायद हिँड्न मिल्न उज्यालो रातभर रह्यो किनभने विहानै ३ः५४मा त घाम नै झुल्किसकेको थियो । अर्थात् सुत्ने बेलामा पनि उज्यालो नै थियो र उठ्दा छ झलमल्ल घाम लागेको नै थियो ।

४.वास्तवमा रातै नपर्ने भनेको नर्वेको उत्तरी क्षेत्र स्भालबार्ड(क्खबदिबचम) र त्यसभन्दा उत्तरी ध्रुवीय मरुभूमि (जहाँ सदैव हिउँमात्र हुन्छ)क्षेत्रमा रहेछ जहाँ ६ महिना उज्यालो मात्रै र ६ महिना अँध्यारो मात्रै हुने रहेछ । त्यहाँचाहिँ जुनको तेस्रो हप्तामा रात नै नपर्ने हुँदो रहेछ( खासमा १५ अप्रिलदेखि २६अगस्तसम्म दिनमात्र हुने रहेछ) ।

सायद त्यसैलाई नै मध्यरातमा घाम लाग्ने देश भनेर भूगोलमा भनिएको रहेछ । हामीले प्रवेशिका परीक्षा दिने बेलामा भूगोल विषय लिनेलाई एउटा प्रमाणसहितको व्याख्यात्मक उत्तर लेख्ने प्र्रश्न पनि आउँथ्यो —नर्वेमा किन मध्यरातमा घाम लाग्छ ? हामी उत्तरी धु्रवको कुरा त लेख्थ्यौँ तर अहिले यहीँ आएर रातको ११ बजे पनि उज्यालो भएको देखेपछि विश्वास लाग्यो प्रकृतिको लीलाका वारेमा । सायद अक्टुबरको २६ देखि फेबु्रअरी १४सम्म रातमात्र पर्दोरहेछ ।यसैलाई हाम्रा पुर्खाले शास्त्रमा पितृलोकमा ६महिना रात र ६ महिना दिन हुन्छ भनेका रहेछन् । दक्षिणी धु्रव र उत्तरी धु्रवमा ठीक त्यस्तै हुन्छ ।

५.अनि अर्को कुरा पनि थाहा भयो ओस्लोमा । ५० वर्ष अघि नर्वेले यहाँको विकास निर्माणमा नेपाली श्रमिकको माग गरेको रहेछ । तत्कालीन राजा महेन्द्रले श्रमिकको पारिश्रमिक राजदरबारमार्फत् दिनु पर्ने भनेकोमा नर्वे सरकारले पारिश्रमिक श्रमिकलाई नै दिने भनेपछि नेपालबाट श्रमिक आएनछन् । पाकिस्तानले श्रमिक पठाएको रहेछ । नर्वेको विकासमा पाकिस्तानी मूलका नर्वेजियनहरुको महत्वपूर्ण योगदान मानिँदो रहेछ र ओस्लो सहरको मध्यभागमा रहेको ग्रोनल्यान्ड भन्ने ठाउँमा उनीहरुको खास बसोबास रहेछ । २० जुनका पाकिस्तानी मूलका मानिसहरुले आफ्नो नर्वे प्रवेशको आधा शताब्दी मनाएका थिए ।

६. २१ जुनमा नर्वेको राजधानी ओस्लोमा भिन्न यौनिक पहिचानका व्यक्तिहरुको सम्मानमा झन्डै एकलाख जत्ति मानिसहरुको परेड थियो । विदाको दिन परेकाले पनि होला र पुरुषगामी पुरुष, महिलागामी महिला, दोहोरो यौनिक क्रियाकलापमा संलग्न, लिङ्ग परिवर्तन गरेकाहरु र तेस्रो लिङ्गीहरुको जुलुस निस्किएको थियो । प्रहरीको ब्यान्ड, सैनिक ब्यान्ड, हजारौँ ओस्लोबासीहरुले उनीहरुसँगै उनीहरुको सम्मानमा ओस्लोको विभिन्न भागबाट जुलुस निकाली ओस्लो सेन्ट्रममा जम्मा भई समानताको हकका पक्षमा नारा लगाइएको थियो जसलाई ओस्लो प्राइड परेड भनिएको थियो । एकहप्ते कार्यक्रमको आज समापन रहेछ । १९८२देखि गे दिवस मनाइएकोमा २०१४ देखि प्राइड परेड गर्न थालिएको रहेछ ।

७.जेठको १४ गते अर्थात् मे महिनाको २८ तारिखमा हामी नर्बेको राजधानी ओस्लो स्थित राजदरबार हेर्न गयौँ । हामी अर्थात् म, मेरी पत्नी देवकी अधिकारी, मेरी छोरी अर्चना , ज्वाईँ नवराज सापकोटा र सानी दुई वर्षकी नातिनी अदिति । राज दरबारका वरिपरि हजारौँ पर्यटक तथा नर्बे बासीहरु घुमी घुमी दरबार र त्यसका वरिपरिको बगैँचा हेरिरहेका थिए ।

त्यहाँ कुनै बार , बन्धन तथा पर्खाल थिएन । दरबार सुरक्षार्थ खटिएका महिला सेनाको परेड चलिरहेको थियो । सायद ती नयाँ भर्नाका सेना हुन् या अनिवार्य सेनाको प्रशिक्षणका लागि खटिएका युवतीहरु हुन् , स्पष्ट भएन किनभने त्यहाँ कुनै त्यस्तो जानकारी दिने मानिस भएजस्तो लागेन । एउटा समूह जाँदै थियो र अर्को समूहले त्यसको सट्टा आउँदै थियो जस्तो लाग्यो ।

नर्बेको राजदरबार जहाँ सेनाको परेड चलिरहेको छ र नजिकैबाट फोटो खिच्न पाइन्छ

८. सुरक्षाको प्रवन्ध पक्कै थियो होला र त सेनाका टुकडीको व्यवस्था गरिएको होला , पुरुष र महिलाको समेत । राजदरबार भनेपछि हामीलाई पुरानै राजाको बेलाको याद आउँछ । सुरक्षा कस्तो भने राजदरबारको बाटो भएर पनि हिँड्न पाइँदैन थियो । राजा औपचारिक भ्रमणमा जानेभन्दा दुई घण्टा पहिलेदेखि नै सुरक्षार्थ खटिएका प्रहरी र सेनाको गस्ती सुरु हुन्थ्यो ।

सेना त स्थिर अवस्थामा उभिएका हुन्थे केही मिटरको दूरीमा तर प्रहरीले कहिले यताबाट जा, कहिले उताबाट जा भनेर लखेट्थ्यो । त्यस्तो सुरक्षा देखिएको नेपालमा , जुन अहिले राष्ट्रपतिको सबारीमा पनि देख्न पाइन्छ । त्यस्तो देशबाट गएको मानिसलाई दरबारको मुख्य प्रवेश द्वारमा बसेका गार्डले समेत सँगै बसेर फोटो खिचाउन दिने भनेको सुरक्षाको प्रवन्ध यस्तो देखिन्छ कि विश्वासभन्दा र मानिसहरुप्रति देखाइने आस्थाभन्दा ठूलो सुरक्षाको प्रत्याभूति अरु हुने रहेनछ ।

९. र अन्त्यमा , राजधानी ओस्लो हरित सहर रहेछ । एकप्रकारले जङ्गलभित्रै छ सहर भनेजस्तै । जताततै पार्क रहेछन् । बालबालिका, वृद्ध तथा युवायुवतीहरु पार्कमा रमाइरहेका देख्न पाइन्छ । स्कुटी भन्ने लौरोजस्तो विजुली साइकलको धेरै प्रचलन रहेछ । साइकल पनि उत्तिकै चल्तीमा रहेछ । बाटाबाटामा सरकारले नै साइकल भाडामा राखेको देखिन्छ । प्रायशः मानिसहरुले कुकुर पालेका देखिन्छन् । एउटा कुरा भने राम्रो लागेन—प्रायशः ओस्लोबासीहरु चुरोट खाँदा रहेछन् चाहे ती पुरुष, महिला या अन्य । पसलहरुमा भाउ फरक फरक हुने, कुनै नियन्त्रण रहेनछ ।

नियन्त्रण भनेको उपभोक्ताको इच्छामा भर पर्ने रहेछ । सहरको बीचमा भागमा बु्रगाता भन्ने ठाउँमा मनोविषाद भएकाहरुका लागि गाँजा सरल मूल्यमा वितरण गर्ने ठाउँ रहेछ जुन घर पहेँलो रङका रहेछन् । सायद सरकारले मनोविषादका रोगीहरुलाई पहिचान गरेको होला । तर त्यहाँका जानिफकारहरुले भनेका सुनेँ—खासगरी वृद्धाश्रममा बस्ने मनोविषादले ग्रस्त वरिष्ठ नागरिकहरुलाई सहजीकरणका लागि दिइने गरिन्छ । स्पष्ट थाहा भएन—मूल्य लिएर दिइन्छ कि सित्तैमा ? कस्तालाई प्राथमिकतामा राखिन्छ तर त्यहाँ बाँडिन्छ किनभने मानिसहरु ढोकाभित्रका प्रहरी जस्ता देखिने मानिसहरुसँग केही लिइरहेका देखिन्छन् । सायद ओखतीको रुपमा विषादबाट मुक्त हुनका लागि गाँजाको कुनै परिमाण उपलब्ध गराइको होला ।

ओस्लो सहर महङ्गो रहेछ । खानाका लागि भन्दा पनि कोठा भाडा साह्रै नै महङ्गो रहेछ । विद्यार्थीहरुका लागि भने होस्टेल केही सस्तोमा पाइँदो रहेछ किनभने नेपालमा स्नातकोत्तर तहमा पढेको मेरो विद्यार्थी मिसर लामिछाने पनि त्यस्तै होस्टेलमा बसेका रहेछन् । धेरै नेपाली विद्यार्थीहरु ओस्लोमा रहेछन् । कतिपय आम सञ्चार तथा पत्रकारिता पढ्दैछन् त कति विज्ञान वा मानविकी तथा सामाजिक शिक्षा र शिक्षा विषयमा । कतिपय अंग्रेजी विषयमा, वाणिज्य विषयमा पनि पढ्दैछन् । द्वन्द्व व्यवस्थापन सम्बन्धी शिक्षा त यहाँको प्रख्यात नै छ । र सबैभन्दा घतलाग्दो कुराचाहिँ यत्ति धनी मानिसहरुको बस्तीमा घमन्डी चाहिँ देखिँदैनन्, सबै सहयोगी र सहजीकरण गर्न तयार रहने बानी देखिन्छ । (क्रमशः)

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ असार ९, ०७: २५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ असार ९, ०७: २५

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ असार ९, ०७: २५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...