
हरिविनोद अधिकारी
१. आम निर्वाचन संघारमै आइसक्यो । एकैपटक संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचन गर्नका लागि मंसिर ४ गते तोकिई सकेको छ र त्यसका लागि सम्पूर्ण तयारी हुँदैछ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक नामहरुसमेत निर्वाचन आयोगले प्रकाशित गरिसकेको र प्रतिनिधि सभाका उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत दिइसकेको अवस्था छ ।
२. निर्वाचन चिन्ह पाएका उम्मेदवारहरु घर गाउँमा, टोलमा मत माग्नका लागि जान थालेका छन् एकातिर भने दलहरु,स्वतन्त्र उम्मेदवारहरुसमेत आफ्ना प्रभाव भएका र प्रभाव पार्ने ठाउँमा जान थालेका छन् । आफूलाई जनतासमक्ष चिनाउने र आफ्ना बाचा लिएर जनतासमक्ष जाने भनेकै यही बेलामा हो । त्यसैले निर्वाचनभन्दा अलि पहिले नै उम्मेदवारीको मनोनयन पत्र दाखिला गरिन्छ र निर्वाचन चिन्ह दिइन्छ । वहुदलीय व्यवस्थामा दलबाट उठाइएका उम्मेदवारहरुको निर्वाचन चिन्ह दलको छनोटमा हुन्छ भने स्वतन्त्ररुपमा जनताको सेवा गर्ने अठोट लिएर उम्मेदवार हुनेले निर्वाचन आयोगले राखेका चिन्हमध्येबाट छान्न पाउँछन् । हाम्रो अहिलेसम्मको परिपाटीमा मतपत्रमा उम्मेदवारको नाम राखिँदैन तर ृउम्मेदवारले छानेको निर्वाचन चिन्हलाई सोही व्यक्ति ठानी मत दिने गरिन्छ । असोज २६ गते नै चिन्ह पाएकाहरु भने तिहारको निहुँमा घरगाउँटोल पुग्न थालेका छन् ।
३.उम्मेदवारहरुका बारेमा जति चर्चा हुनुपथ्र्यो , मनोनयन पत्र दाखिला गर्नुभन्दा पहिले नै भयो र दलका उम्मेदवारहरुले जनताको सेवा गर्न सकेनन् भन्नेहरुले स्वतन्त्र उम्मेदवारका रुपमा जनताका समक्ष जाने विचार राखेका देखिन्छन् । प्रत्येक आम निर्वाचन र स्थानीय निर्वाचनमा केही न केही नयाँ उदाहरण पाइन्छ र त्यसैको नजिर लिएर सबै दलहरु र स्वतन्त्रहरुले आफ्ना निर्वाचन रणनीति तयार गरेका हुन्छन् । यसपटक प्रत्यक्षमा उठेका उम्मेदवारहरुको कमै चर्चा भएको छ तर समानुपातिकतर्फको नकारात्मक चर्चा चलेको देखिन्छ । अझ परिवारवादका रुपमा उम्मेदवारहरुको चयनले भने यसपटक बढी नै चर्चा पाएको छ । त्यसो त परिवारका दाजुभाइ नै निर्वाचनमा जितेका उदाहरणहरु पहिले पनि थिए र अहिले पनि होलान् , हुँदै जालान् । वहुदलीय परम्परामा जनताका मतले जित्ने हुँदा किन त्यस्ता उम्मेदवारहरुले जित्छन् भन्ने सामाजिक मनोविज्ञानको विश्लेषण पनि हुँदैजाला । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धीलाई प्रधानमन्त्रीको कुर्सीमा राखिएको थियो र त्यसपछिको आम निर्वाचनमा राजीव गान्धीको पार्टीले अत्यधिक वहुमतले संसदमा प्रतिनिधित्व गरेको थियो । तर त्यस्तै त्यस्तै अतीतका कारणले होला, आज फेरि कसरी सत्तामा पुनरागमन गर्ने भन्ने ठुलो समस्या भारतीय कांग्रेसलाई परेको छ । जनता एकपटक गुमराहमा पर्लान्, दुईपटक गुमराहमा पर्लान् तर सधैँ ठगिँदैनन् भन्ने कुरा विश्वका अन्य प्रजातान्त्रिक देशहरुको उदाहरणले पनि देखाउँछ । सबै दलहरुमा जनताको विभिन्न पक्षहरुको प्रतिनिधित्वमार्फत् सत्तामा अपनत्व दिलाउने सद्प्रयासभन्दा सत्तामा नागफणी मारेर बसेकाहरुले कसरी कब्जामा राखेर आफ्नो वर्चस्व कायम राख्न सकिन्छ भन्नेमात्र देखिन्छ भन्ने राजनीतिक पर्यवेक्षकहरुको धारणा छ ।
४. कुरो सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन खर्चको पनि हो । निर्वाचनमा मत किनबेच हुन्छ, पैसाले मत किनिन्छ र हार्नेले जित्छ, जित्नेले हार्छ पैसाका कारणले भन्ने गुनासो मतदाताहरुकै छ । सचेत मतदाताहरुले पक्कै पनि मत किनबेच गरेनन् होला, तर सबै मतदाताहरु सचेत नै हुन्छन् भन्ने मान्ने हो भने कसले भोट बेच्यो होला, कसले किन्ने दुष्प्रयास ग¥यो होला ? प्रश्न अनुसन्धानको नै हो तर यसको उत्तर पनि सहज छ या छैन । छ यसकारणले पैसावाला राजनीतिको किनबेचमा नै लागेको देखिन्छ । पैसाले समानुपातिकतर्फ मात्र होइन , प्रत्यक्ष तर्फ पनि उम्मेदवार हुन पाएको देखिन्छ र उसले करोडौँ खर्च गरेर जितेको सुनिन्छ, देखिन्छ । यसमा निर्वाचन आयोगको पनि शंका रहेको देखिन्छ र त आयोगले खर्चको सीमा तोकेको छ । यसो हेर्दा अहिले तोकेको सीमा नै हाम्रो जस्तो न्यूनआय भएको देशमा धेरै हो , पहिले नै तोकेको रकम बढी नै थियो । अहिले २५लाखदेखि ३३लाखसम्मको सीमामा खर्च गर्न पाइने भनिएको छ । चासो अरु कुराको होइन, मतदाताको सार्वभौम अधिकारको अस्मितामाथि पैसाको रबाफले किन्न नसकोस् भन्ने आशय होला तर मतदाताले कसरी मतदान गर्दा मत सुरक्षित पनि हुने, किनबेच पनि नहुने र आवश्यक व्यक्ति वा दलले जित्ने अवस्था होला ? यसबारेमा सामाजिक मनोविज्ञानको पाटो पनि छ, मतदाता शिक्षाको कुरा पनि छ, दलहरुमा प्रजातन्त्रप्रतिको निष्ठाको कुरा पनि छ, निर्वाचनको नैतिकताको पनि कुरा छ । अझ उम्मेदवारको छनोटको प्रश्न अहम् देखिन्छ । धेरै सक्षम व्यक्तिहरु उम्मेदवार हुनका लागि हच्किएको पाइन्छ किनभने निर्वाचनमा हुने खर्चको जोहो गर्न नसकेका कारणले । अनि त्यहाँ पैसाले राजनीतिलाई आफ्नो कब्जामा पार्नेहरु र तिनैले भोलि राजनीतिको केन्द्रीय ठाउँमा गएर आफ्ना स्वार्थअनुरुपका ऐन, नियम बनाउने काम भएको पाइन्छ । अपराधीहरुको बोलबाला हुने अवस्थामा उम्मेदवार हुन चाहने असल व्यक्तिलाई पाखा पारिने चलन सबै जसो दलहरुमा देखिनाले स्वतन्त्र उम्मेदवारहरुको बाढी लाग्न थालेको छ र जनतालाई विकल्प हुन सक्ने देखिन्छ तर जुन सत्ताको हामीले अभ्यास गरेका छौँ, त्यहाँ दलको वर्चस्व हुन्छ, बढी मत प्राप्त गर्नेले प्रधानमन्त्री पाउँछ र वहुमत रहुन्जेलसम्ममात्र सत्तामा बस्न पाउँछ । संसारका सबैभन्दा राम्रो व्यवस्थालाई कुरुप बनाएर किनबेचको राजनीति बनाएकाले होला, निर्वाचन आयोगले पनि निर्वाचन खर्चको सीमा तोकेको होला, निर्वाचन खर्चको हिसाब किताब मागेको होला । बरु दण्डतिर्न तयार हुनेरहेछन् तर बेलामा खर्चको हिसाब दिन नचाहने रहेछन् उम्मेदवारहरु, दलहरु ।
५. जे भए पनि मतदाताहरु सचेत भएमा यसो पनि भनेको सुनियो, पैसा एउटाको खाने,भोट अर्कैलाई दिने । यो पनि नैतिक कुरा भएन । किन पैसा चाहियो ? संगठन अनि भावी योजनाका आधारमा निर्वाचन जित्ने परम्परा पो बसाउने ? सेवाको पो प्रत्याभूति दिने ? नो भोटको सिद्धान्तमो लागू गर्ने? जनताको सार्वभौम शक्तिको कसरी सदुपयोग गर्ने भन्नेबारेमा संसदमा छलफल गर्ने र निर्वाचनलाई स्वच्छ र धाँधलीरहित अनि सार्थक बनाई प्रजातन्त्रको रक्षा गर्ने पो त ।
६. र अन्त्यमा, शताब्दी पुरुष, शब्दसारथि, संस्कृतिविद् नेपाली साहित्य, संस्कृतिका अथक साधक तथा पथप्रदर्शक सत्यमोहन जोशीको १०३ वर्षको उमेर २०७९साल असोज ३० गते विहान ७ :०९ बजे ललितपुरस्थित किस्ट अस्पतालमा निधन भयो । निमोनिया, डेँगु आदि रोगले ग्रस्त पारेर स्वास्थ्य अवस्था नाजुक भएको केही दिन भइसकेको थियो । नेपालले उमेरका हिसाबले पनि , क्षमताको हिसाबले पनि र अथक साधकका हिसाबले पनि अनि बेदाग व्यक्तित्वका कारणले पनि उहाँको कमी नेपाली समाजलाई अपूरणीय क्षति रहेको छ । उहाँले आफू कसरी सयवर्षभन्दा पनि बढी बाँचेँ हुँला भनेर अनुसन्धान गर्नका लागि किस्ट कलेजको शिक्षण अस्पतालका अनुसन्धाताहरुका लागि आफ्नो शरीर दान दिनु भएको रहेछ दुई वर्ष अघि नै । एउटा साहित्य, कृषि, संस्कृति र समाजसेवाका अथक साधकको निधनप्रति हार्दिक शब्द सुमन चढाउँदै आत्माको चीर शान्तिको कामना गर्दछौँ र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँको आत्माले शान्ति पाओस् । नयाँ विकल्प साप्ताहिकबाट
१. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...
१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...
१. भेला जब सम्मेलन हुनपुग्यो……… अहिले नेपालीकांग्रेस कतिवटा छन् ?बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण समशेर राणाको अगुवाइमा...