बारम्बार भएका गल्ती नदोहो¥याउने बाचासहित प्रजातन्त्र सुदृढीकरणका लागि कार्ययोजनासहितको कार्यक्रम चाहियो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

बारम्बार भएका गल्ती नदोहो¥याउने बाचासहित प्रजातन्त्र सुदृढीकरणका लागि कार्ययोजनासहितको कार्यक्रम चाहियो

१. नेपाली कांग्रेस किन छटपटाएको हो ? सत्ताको चास्नीमा डुब्न नपाएर ? अघिल्लो गठबन्धनको समीक्षा गरेको हो र ? के अघिल्लो गठबन्धनले नेपाली कांग्रेसको नेतृत्वमा भएको स्वतन्त्र, निष्पक्ष , निर्भय र स्वच्छ निर्वाचनको जस पाएको छ त ? निर्वाचन त गरेको थियो तर निर्वाचनताका भएका कतिपय अदृश्य तर सत्ताले भोग्नु परेको अप्ठ्याराहरुलाई सार्वजनिक गर्न सक्यो त ? सकेन । अनि निर्वाचन समाप्त नहुँदै गठबन्धनको मुख्य घटक माओवादी कसरी एमालेको जालमा परेको थियो ? त्यसको समीक्षा गरियो त ?

२. त्यसो त नेपाली कांग्रेसले प्रधानमन्त्री नदिएकाले एमालेको पोल्टामा पुगेको भन्ने माओवादीको कहिलेदेखि एमालेसँगको सहकार्य थियो र सम्पूर्ण पदहरुमा भागबन्डाको तयारी थियो भन्ने कुरा साँँच्चै थाहा नपाएको हो कि , माओवादीमाथि बढी नै विश्वास गरिएको हो, त्यसको समीक्षा अब कहिले हुने ? फेरि पनि एकथान राष्ट्रपति, वा उपराष्ट्रपतिमा चित्त बुझाएर नेमकिपालाई प्रमुख विपक्षी दलको नेता बनाएर बस्ने कि ? अहिलेको अवस्थाको विरुद्धमा , भावी निरंकुशता र नयाँ हिटलरको उदयको प्रतीक्षामा नै रमाउने ? या बाल्कोटको बार्दलीमा गएर पदहरुको भागबन्डामा समर्पण हुने ?

३.नेपाली उखान छ—छिन चुके दिनको फेरो, दिन चुके युगको फेरो । साँच्चै हो रहेछ । छिनमै चटक गर्न सके र चटकेसँग संगत गर्न सके तत्कालै फाइदा हुने रहेछ तर त्यस्तो फाइदा कहिलेसम्म र केके फाइदा पाइन्छ भन्नेचाहिँ कहिल्यै स्पष्ट हुनेछैन । त्यस्तो तत्कालीन चटके राजनीतिले दिने परिणाम भनेको सधैँ दुखान्त मानिन्छ । अर्थात् सत्ताको राजनीति भए कुनै पनि बेला सत्ताबाट उछिट्टिने र सत्ता बाहिर रहेकाले अचानक सत्ताको स्वाद फेर्न पाउने हुने रहेछ । तर कुनै पात्र यहाँ अस्थिर र गतिशील हुने रहेछ अनिमात्र तत्काल तत्काल नसोचेको परि यो नेपाली राजनीतिमा सबैलाई लागू हुन्छ, झन अहिलेको समसामयिक राजनीतिमा अझ टड्कारोसँग देखिएको छ ।

४.प्रजातन्त्रका लागि सम्झौताविहीन संघर्ष गर्ने, प्रजातन्त्र र सामाजिक न्यायका लागि अनवरत संघर्षरत दलहरुको उपयोगिता सकिएको हो त ? जनतामा एउटा यस्तो अमित छाप पारिएको छ कि पुराना दलहरु जसले प्रजातन्त्रका लागि संघर्ष गरे, ती सबै अब जनताको पक्षमा देखिएनन् तर कहिल्यै कसैैले परिणामका बारेमा जानकारी नै नपाएका तर स्वयंघोषित विज्ञता हासिल गरेकाहरुको पछिपछि मूलधारका दलहरु घुमेको देख्दा लाग्छ, राजनीतिको अन्तिम लक्ष्य भनेको तत्काल सत्तामा पुग्नका लागि जस्तोसुकै मूल्यहीन सम्झौता गर्न पनि तत्पर देखिएको प्रमाण अहिलेको सत्ता समीकरण र विपक्षी बनिने तयारीलाई लिन सकिन्छ ।

५.मूलधारका भनेर आफूलाई चिनाउने दलहरुले पनि अहिले आएर आफ्ना क्रियाकलापहरु असामयिक रहेको स्वीकारोक्ति गरेका हुन् कि ? या जनताको भ्रमले दिएको लाखौँ मतले मात्र मूलधारमा आफूलाई मान्नुपर्ने अवस्था सृजना भएको हो कि ?

६.अहिलेको सत्ता राजनीतिमा प्रजातन्त्रको नकाब लगाएर कृत्रिम प्रजातन्त्रको वारेमा बहस र गलत अर्थ लगाउन सक्नेको बाहुल्यता छ । गर्दागर्दै एउटा यस्तो अवस्था आयो कि राजतन्त्र फालेर गणतन्त्र स्थापनाको भागीदार पनि नेपाली कांग्रेस, हिन्दू धर्मको अन्त्य गरेर धर्म निरपेक्षताको प्रमुख कडी पनि नेपाली कांग्रेस, मुलुकलाई विदेशीहरुको खेलौना बनाउने पनि नेपाली कांग्रेस, भ्रष्टाचारको मुख्य जड र पात्र पनि नेपाली कांग्रेस, मुलुकको विकास हुन नसकेको कारण पनि नेपाली कांग्रेस, सीमाको रक्षा नगर्ने पनि नेपाली कांग्रेस अनि विदेशीहरुसँगको सम्बन्धलाई अस्थिर बनाएर परराष्ट्र मामिलालाईँ एकतर्फी बनाई मुलुकलाई खेलमैदान बनाउने पनि नेपाली कांग्रेस भन्ने भाष्य तयार भएको छ मानौँ कि नेपाली कांग्रेस भन्ने पार्टीका कारणले नै यो देशको अवस्था यस्तो भएको हो । अहिलेको केन्द्रीय राजनीति र प्रादेशिक राजनीतिको केन्द्रविन्द् नै नेपाली कांग्रेसलाई जसरी हुन्छ , आगामी दिनमा यो देशको राजनीतिबाट लोकतान्त्रिक तरिकाले पन्छाउने काम हुनेछ ।

७.जर्मनीमा वाइमर संविधानको घोषणा गराउने, कार्यान्वयन गराउने र मुलुकलाई सामाजिक न्यायमुखी देश अनि विकसित देशको रुपमा संसारमा चिनाउने प्रजातान्त्रिक समाजवादीहरुलाई जसरी एडोल्फ हिटलरले प्रचारात्मक अभियानमार्फत् निस्तेज गराएको थियो र सत्तालाई जसरी पनि , जुुनसुकै तरिकाले भए पनि कब्जा गरेको थियो, अहिले ठिक त्यस्तै अवस्था देखिएको छ नेपालमा । त्यतिमात्र होइन, एकजना नेकपा एमालेको कार्यालय सचिवले सिन्धुलीमा पुगेर भनेछन्—अबको राजनीतिको केन्द्रविन्दु एमाले हो, बालकोट हो , यदि नेपाली कांग्रेसलाई कुनै पदको जरुरी परेको हो भने ओलीसँग बालकोट बाल्कोनीमा उभिएर माग्नुपर्छ, अनि दिए पाउने हो , नत्र …..। त्यस्तो भएको हो र राजनीति? त्यस्तै निरीह भएको हो र माओबादी केन्द्र ? या नेपाली कांग्रेस, लोसपा , नेकपा एकीकृतसमेतको अवस्था त्यस्तै निरीह भएको हो त ?

८.त्यसले देखाउँछ, फेरि एउटा कुनै षडयन्त्र हुँदैछ निर्वाचित निरंकुशताको पक्षमा जसको पृष्ठपोषणमा आफूलाई जनताको परीक्षामा उत्तीर्ण नभएका तर सत्ताको चास्नीमा डुबेका अनि विवादास्पद व्यक्तित्वहरुको नकाब उत्रने डरले जेजे भन्छन् बाहुन बाजे, त्यही त्यही स्वाहा भनेर नयाँ निरंकुशताको पक्षमा जानेर, नजानेर लाग्नेहरुको घुइँचो देखिन्छ ।

९.सायद सरकार बन्ने बित्तिकै यति धेरै आलोचना योभन्दा पहिलेका मन्त्रिपरिषदमा थिएन होला । यस्को दोषको भागी त प्रजातन्त्रका लागि लडिरहने र मुलुकमा विधिको शासनका लागि लागिरहने नेपाली कांग्रेस पनि हो । आफैँले बेला मौकामा देखाएको अप्रजातान्त्रिक कार्यको र अभ्यासको नियति भोगिरहेको देखिन्छ र पनि नेपालमा प्रजातन्त्रका पक्षमा बोल्ने, अभ्यासरत पक्ष भनेको आज पनि नेपाली कांग्रेस हो भन्ने प्रत्याभूति दिने बेला भएको छ । अन्यथा मुलुक भासमा जाकिए पछि भने चाहेर पनि लोकतान्त्रिक निरंकुशताको विरुद्धमा बोल्न सकिने छैन किनभने त्यो बेलामा वाक स्वतन्त्रता कहाँ पो रहला ?

१०.नेपाली कांग्रेसको अवस्था कस्तो रह्यो भने , न दलको अवस्था सुदृढ भयो, न दलका इमान्दार मानिसहरु दलका कार्यकर्ता बाँकी रहने भए, न दलको वर्चस्व कायम रहने भयो , न प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्नेछ भन्ने प्रत्याभूति दिने अवस्था रह्यो । लाखौँ समर्थकहरु पनि गुमे, गठबन्धनका मित्रहरु पनि गुमे, मुलुकमा हेर्दाहेर्दै प्रजातन्त्र पनि आप्mनै मतले गुमेको टुलुटुलु हेर्नुपर्ने अवस्था छ ।

वेदमा भनिएझैँ नेपाली कांग्रेसलाई भन्नै पर्ने भएको छ —व्युँझ , उठ र महापुरुषहरुको संगतमा जाऊ र आफ्नो बाँकी जीवनलाई सुखमय बनाऊ । अझै बेला छ, नकाब उघार, गल्ती महसुस गर र प्रजातन्त्रका पक्षमा मात्र लाग्ने बचन देऊ अनि भन्न सुरु गर, तिम्रो घरमा भाले नबासे पनि हाम्रो घरमा उज्यालो हुन रोकिने छैन ।

११. र अन्तमा, महात्मा गान्धीले भारतमा अंग्रेजविरुद्ध लड्दा र मार्टिन लुथर किंग जुनियरले गोरा प्रभुत्वविरुद्ध लड्दा भन्ने गरेका थिए—सर्वप्रथम भयबाट मुक्ति । निर्भयताका साथ लक्ष्यप्रति समर्पण । परिणाम आखिर कर्मको निरन्तरतामा प्राप्त हुने नै हो तर पहिले नै लक्ष्यको निर्धारण आवश्यक हुन्छ । यदि नेपाली कांग्रेसको लक्ष्य विकसित नेपाल हो, प्रजातान्त्रिक नेपाल हो, असंलग्न नेपाल हो तर प्रजातन्त्रका विरुद्धमा जो कोही आए पनि टक्कर लिने हो भने अझै नेपाली जनता नेपाली कांग्रेसको सही निर्णयको प्रतीक्षामा छन् । समय घर्केपछिको पश्चाताप र प्रयासले केही काम लाग्दैन भनेर अति विद्वान तर कुमतिका प्रतीक महाराज रावणबाट सिक्नुपर्छ । रावले आफ्नू अन्ततिर लक्ष्मणलाई अर्ती दिँदै भनेका थिए—राजकुमार लक्ष्मण, कुनै पनि काम गर्ने लक्ष्य राखेपछि गरिहाल्नू, नभए मेरो जस्तो हुनेछ । म स्वर्गसम्म सुनको सिँढी बनाएर जो पनि सिधै स्वर्ग पुग्ने गराउँछु भन्थेँ तर भोलि गरौँला त्यो काम भन्दै रहँदा त्यो काम बाँकी रह्यो । ठिक त्यस्तै प्रजातन्त्रको सुदृढता भनेको प्रजातन्त्र विरोधीहरुसँगको रसबसले हुने होइन, तर सहयोग त लिने मात्रै हो । चेतना आउँदासम्म समीक्षा गर्ने समयसमेत नदिएको देख्दादेख्दै बारम्बार उनीहरुको खुँगामा किन परिरहेको भनेर नेपाली जनताहरु प्रश्न गरिरहेका छन् । उत्तरको मात्र प्रतीक्षा छ कार्ययोजना सहित तर प्रजातन्त्रका पक्षमा गल्तीको प्रायश्चितसहित । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७९ माघ ९, १०: ५६

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७९ माघ ९, १०: ५६

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७९ माघ ९, १०: ५६

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...