डिल्ली आचार्य
प्रसङ्ग जनआन्दोलन २०६२÷०६३ बाट जोड्न सजिलो होला । जुनबेला सात राजनीतिक दलका नेताहरु रत्नपार्क केन्द्रित आन्दोलन गरिरहेका हुन्थे । हाम्रा सरकारी सञ्चार माध्यम नेताका सुकेका ओठ तालु देखाएर खिसीटिउरी गर्थे । त्यस्तो रिपोर्ट पत्रकारले ‘निर्देशन’ मा तयार पारेर वाइलाइन सहित बुझाउँथे ।
परिस्थिति फेरिन समय लागेन । रत्नपार्कको आन्दोलन देशव्यापी बढेर जनआन्दोलनको रुप लियो । सुरुका केही दिन सरकारी रेडियो र टेलिभिजन मात्र होइन निज सञ्चारगृहका पत्रकार समेत परिवर्तन विरोधीलाई बोलाएर प्रश्न गर्थे, “भनेपछि नेताहरु भ्रष्ट र मतिहीन नै भएका छन् होइन त ! सडकमा जनतालाई दुःख दिन आएका हुन नि, हैन ?”
ती प्रश्नकर्ता पत्रकारहरु आज महान गणतन्त्रवादी मात्र छैनन्, कुनै दल विशेषज्ञको कार्यकर्ता या नेता भएको सगर्व घोषणा गर्छन् । गणतन्त्रका पक्षमा चर्का आवाजमा समाचार र विचार लेख्छन् । विचार उनीहरुको अन्तरस्करणको बुझाइ हो । यसमा आपत्ति भएन तर समाचाररुपी कलममा पनि गणतन्त्रको राप झल्कन्छ । यो रोग कतिमा र कुन मात्रामा छ हामी सजिलै मूल्याङ्कन गर्न सक्ने अवस्थामै छौं ।
उल्लेख गर्न खोजिएको विषय र प्रसङ्ग समकालीन समाजमा चलेको पत्रकार र राजनीतिसँग जोडिन्छ । सामाजिक सञ्जालमा ‘स्वतन्त्र पत्रकार’ का नाममा बारम्वार पोष्ट हुने एउटै प्रश्न हो, ‘पत्रकारले राजनीति गर्न हुन्छ कि हुँदैन ?’ बसह आजसम्म कसैले नगरेको विषय भने ‘पत्रकारले समाचारमा राजनीति गर्न हुन्छ कि हुँदैन’ भन्ने हुनुपर्ने हो ।
हो, पत्रकार विचारशून्य हुन सक्दैन्न् । विचार नभएको व्यक्ति पत्रकार हुन पनि सक्दैन । राजनीति विचार, सिद्धान्त हुँदै अन्ततः समाजसँग जोडिन्छ । पत्रकारिता पनि यसैतर्फ लक्षित हुन्छ । उद्देश्यका हिसाबले पनि राजनीति र पत्रकारिता उस्तै देखिन्छन् । सकारात्मक परिवर्तनका लागि दुवैको सक्रियता हुने गरेको छ, हुन्छ र हुनुपर्छ ।
त्यसो भए पत्रकारले राजनीति गर्न हुन्छ कि हुँदैन ? पत्रकारले राजनीति गर्न हुन्छ तर समाचारमा अर्थात् न्यूजरुममा राजनीति गर्न हुँदैन । राजनीति गर्नु अमूर्त विषय हो, समाचारमा राजनीति गर्नु मूर्त विषय । व्यवसायिकताका नाममा होस् या अन्य कुनै सन्दर्भमा विचार शून्य रहेर मान्छे रहन सक्दैन । टेलिभिजनका पर्दामा सात समुद्रपारीका खेलाडीले फुटबल प्रतिस्पर्धा गरिरहँदा त स्वभाविक रुपमा एउटा टिमको पक्ष लिन्छ आँखा र मस्तिष्कले ।
जब कि त्यहाँ कुनै खेलाडी चिनेको या निकटको हुँदैन । त्यसैले दृष्टिकोण दिने बेलामा व्यक्ति एउटा निष्कर्षमा पुग्छ, विचार दिन्छ, पक्षधरता देखाउँछ । त्यो उसले तत्काल बुझेको, भोगेको र देखेको आधारमा पनि हुन सक्छ, लामो समयेदेखि निकालेको निष्कर्ष पनि हुन सक्छ ।
हामीले राजनीतिलाई कुनै अमुक दलको विचारको पक्षमा लाग्नु र वकालत गर्नुका रुपमा बुझ्ने गरेका कारण समस्या आएको देखिन्छ । पत्रकार मात्र होइन, जनुसुकै पेसा, व्यवसाय वा सेवामा संलग्न व्यक्तिले राजनीति गर्न पाउनुपर्छ । यो उसले पाएको संवैधानिक हक पनि हो । प्रश्न यतिमात्र हो कि उसले राख्ने दलीय झुकावले उसले अङ्गाल्ने पेसा, सेवा या व्यवसायमा असर पारेको छ कि छैन ? चिकित्सकले पृथक राजनीतिक विचार भएकाको उपचार गर्दिनँ भन्यो ।
पत्रकारले दलीय पक्ष धरताका आधारमा समाचार प्रस्तुतीकरण ग¥यो भने निश्चय पनि दुर्भाग्यपूर्ण हुन्छ । त्यसबेला उनीहरुले साँचो अर्थमा राजनीति गरेको ठर्हछ । तर पेसागत मर्यादा कायम राखेर कुनै दल विशेषको वकालत गर्छ, पक्ष लिन्छ र विचारको प्रर्वद्धन गर्छ भने उसलाई आस्थाको बन्दीका रुपमा व्याख्या गरिनु हुँदैन ।
फेरि पनि प्रश्न उठ्छ, के त्यसो भए पत्रकारले राजनीति गर्न हुन्छ ? हो, यो प्रश्न आफैँमा अपूर्ण छ । समाजमा पत्रकारमाथि गरिने यो प्रश्न नै अमूर्त र अपूर्ण छ । जसका कारण पत्रकारिता पेसामा बारम्बार प्रश्न उठेका छन् । पत्रकारमाथि प्रश्न उठेका छन् । पत्रकारले राजनीति त्यसबेला छोड्नुपर्छ जब ऊ समाचार कक्षमा हुन्छ ।
कुनै दल विशेषको पूर्णकालीन कार्यकर्तासमेत सूचना प्रवाहमा पक्षधरताभन्दा माथि उठ्न सक्ने ल्याकत राख्छ भने उसको पत्रकारिताप्रतिको लगाव र पेसागत मर्यादामा प्रश्न उठाइनु हुन्न । पत्रकारिता पेसा अङ्गालेरै जीविका चलाउने व्यक्ति पत्रकार हुन् भन्ने मान्यता हामीकहाँ छ । त्यस अर्थमा उसको जीविकोपार्जनको अवस्था र आधारमा पत्रकार या राजनीतिज्ञ या अन्य पेशाकर्मी छुट्याइयो भने पत्रकारमाथि लाग्ने गरेको बारम्बारको ‘राजनीतिक पक्षधरता’ अभियोगबाट मुक्ति मिल्न सक्छ ।
कुनै दल विशेषलाई भोट हालेको, त्यसको भातृ संगठनमा संलग्न भएर वकालत गरेको या झुकाव राखेका आधारमा पत्रकारलाई आस्थाको बन्दी मान्न मिल्दैन । समाचारकक्षमा प्रवेश गर्दा दल निकटस्थ या अन्य आस्थारुपी ‘जुत्ता’ मात्र होइन ‘चस्मा’ समेत फुकाल्न सक्ने अवस्थामा रहेसम्मका पत्रकारलाई राजनीतिज्ञका रुपमा चित्रित गरिनु हुन्न । राजनीतिमा संलग्न भएकै आधारमा दोषारोपण गर्ने आम प्रचलनमा खोट छ ।
पत्रकारले कुन हदसम्मको मर्यादा र नैतिकतामा रहने भन्ने प्रचलित कानुन, आचारसंहिता, नीति लगायतले व्याख्या र व्यवस्था गरेका छन् । त्यसको मर्यादा र सीमामा रहेर व्यवसायिकता प्रदर्शन गर्न सके दलीय निकटता या समाचारकक्ष बाहिर दल विशेषको वकालत गरेकै आधारमा पत्रकारहरु ‘नेता र राजनीतिज्ञ’ को दागबाट मुक्त हुन सक्छन् । मूल मन्त्र यति मात्र होस् ‘पत्रकारले समाचारमा राजनीति गर्नु हुँदैन ।’
पत्रकारका नाममा गरिने राजनीति विवेचनायुक्त हुन सक्ला तर समाचारमा या समाचार कक्षमा गरिने राजनीतिलाई भने पूर्णरुपमा अस्वीकार गरिनुपर्दछ । पत्रकार बन्नु अघि र पत्रकार भइरहँदा समाचारमा राजनीति गर्छ भने त्यो जनता, समाज, व्यवस्था र प्रचलनमाथिको अपराध हुन्छ । त्यसैले पत्रकार राजनीतिबाट होइन अपराध गर्नबाट बच्नुपर्छ । (ललितपुर पत्रकारिता नामक पुस्तकबाट)
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...