कांग्रेसका जिल्ला कार्यसमितिहरू विशेष महाधिवेशनको पक्षमा, सहभागिताका लागि धमाधम अपिल – Naya Bikalpa
January 9, 2026, Friday      Epaper

कांग्रेसका जिल्ला कार्यसमितिहरू विशेष महाधिवेशनको पक्षमा, सहभागिताका लागि धमाधम अपिल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीका विभिन्न जिल्ला कार्यसमितिहरूले औपचारिक रूपमा स्वागत जनाउँदै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन्।

अहिलेसम्म ललितपुर, कास्की, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, बाँके, उदयपुरलगायत जिल्लाका कांग्रेस सभापति तथा जिल्ला कार्यसमितिहरूले विज्ञप्ति र अपिलमार्फत विशेष महाधिवेशनको समर्थन गरेका छन्। नेताहरूका अनुसार हालसम्म ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, उदयपुरका सभापति हिमाल कार्कीलगायतले विशेष महाधिवेशनलाई ऐतिहासिक र पार्टी सुदृढीकरणका लागि आवश्यक कदमको रूपमा चित्रण गरेका छन्।

जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जारी गरेको अपिलमा वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीलाई थप गतिशील, सुदृढ र जनभावनाअनुकूल बनाउन समसामयिक नीति तथा नेतृत्वबारे निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गरिएको छ। काभ्रेले पुस २७ गते बिहान पुतलीसडकको पद्मोदय मोडमा भेला भई विशाल र्‍यालीसहित भृकुटीमण्डपतर्फ जाने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

यस्तै, जिल्ला कार्यसमिति ललितपुरले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधानअनुसार ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई विधिसम्मत रूपमा सम्बोधन गरिएको भन्दै महामन्त्रीद्वयप्रति आभार व्यक्त गरेको छ। ललितपुरले पनि उद्घाटन सत्रका दिन बाजागाजासहित कुपण्डोल–हनुमानस्थानबाट र्‍याली आयोजना गर्ने जनाएको छ।

कास्की, धनकुटा, बाँके र सिन्धुपाल्चोक जिल्ला कार्यसमितिहरूले समेत विशेष महाधिवेशनलाई पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै प्रतिनिधिहरूलाई अनिवार्य र सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएका छन्।

यसैबीच, नेता शेखर कोइरालाले भने विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’को रूपमा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन्।

विशेष महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ। स्मरणीय छ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको माग बुझाएका थिए। तर त्यसपछि हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी भएको भन्दै आह्वान गरेका हुन्।

पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित समाचार

चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
  • २०८२ पुष २४, १४: ०७

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...

कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
  • २०८२ पुष २४, १४: ०७

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...

रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
  • २०८२ पुष २४, १४: ०७

रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...