
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पार्टी पुनर्गठन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले बताएका छन्।
विशेष महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक केसीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाले कांग्रेसलाई नयाँ नीति, स्पष्ट दिशा र जनभावनाअनुकूल नेतृत्व आवश्यक भएको स्पष्ट पारे। “नेपाली कांग्रेस केवल संगठन मात्र होइन, यो देशको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्वकर्ता हो,” उनले भने, “यस्तो अवस्थामा विशेष महाधिवेशन अपरिहार्य विकल्प बनेको छ।”
उनले नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराए। सोही व्यवस्था बमोजिम गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग विधिवत रूपमा दर्ता गरिएको र हाल ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको समर्थन प्राप्त भइसकेको केसीले बताए।
महाधिवेशन प्रतिनिधिहरूको वैधानिक मागलाई बेवास्ता गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उल्लेख गर्दै उनले केन्द्रीय तहबाट भइरहेको उपेक्षा दुर्भाग्यपूर्ण र अवैधानिक भएको टिप्पणी गरे। “नियमित महाधिवेशन प्रक्रिया अवरुद्ध रहेको अवस्थामा पनि केन्द्रीय समितिले स्पष्ट जिम्मेवारी नलिनु गम्भीर विषय हो,” केसीले भने।

यही परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका महामन्त्रीद्वयले संयुक्त रूपमा विशेष महाधिवेशन आह्वान गरेको निर्णय ऐतिहासिक रहेको उनको भनाइ छ। सो निर्णयअनुसार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उनले जानकारी दिए।
संयोजक केसीले पुस २७ गते हुने उद्घाटन सत्रमा लोकतन्त्रप्रेमी सम्पूर्ण नागरिक, नेता–कार्यकर्ता, शुभेच्छुक, भ्रातृ संगठन तथा आम जनसमुदायलाई सक्रिय सहभागिताका लागि अपिल गरे। उनले शान्त, संयमित र सुव्यवस्थित ढंगले जनपरिचालन गरिने बताउँदै तोकिएका स्थान र समयमा उपस्थित हुन आग्रह गरे।
जनपरिचालनका लागि विभिन्न स्थानबाट जुलुस निकालिने व्यवस्था मिलाइएको उनले जानकारी दिए। सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव–पद्मोदय क्षेत्र, कमलपोखरी र कुपण्डोललगायत स्थानहरूबाट छुट्टाछुट्टै रुट तय गरी भृकुटीमण्डपतर्फ जुलुस अघि बढाइनेछ।
“यो महाधिवेशन केवल संगठनात्मक प्रक्रिया होइन, कांग्रेसको भावी दिशा तय गर्ने निर्णायक मोड हो,” केसीले भने, “सबै लोकतन्त्रप्रेमी नागरिकको सक्रिय सहभागिताबाट यसलाई सफल बनाउने हाम्रो अपेक्षा छ।”
पत्रकार सम्मेलनको अन्त्यमा उनले सबैलाई शान्तिपूर्ण रूपमा सहभागी भई विशेष महाधिवेशन सफल पार्न आग्रह गर्दै ‘जय नेपाल’ को उद्घोष गरेका थिए।


काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११...
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...
काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ...