जेनजी आन्दोलन र वर्तमान केन्द्रीय कार्यसमितिको दुरावस्थाका कारण विशेष महाधिवेशन अपरिहार्य : कांग्रेस नेता महेश आचार्य – Naya Bikalpa
January 10, 2026, Saturday      Epaper

जेनजी आन्दोलन र वर्तमान केन्द्रीय कार्यसमितिको दुरावस्थाका कारण विशेष महाधिवेशन अपरिहार्य : कांग्रेस नेता महेश आचार्य

काठमाडौं : जेनजी आन्दोलनको उदय र नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिमा देखिएको सांगठनिक दुरावस्थाका कारण पार्टीको विशेष महाधिवेशन अब अपरिहार्य भइसकेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताएका छन्।

नेता आचार्यले पार्टीभित्र देखिएको नेतृत्व संकट, नीतिगत अन्योल र विधानको निरन्तर अवहेलनाले कांग्रेसलाई गम्भीर मोडमा पुर्‍याएको उल्लेख गर्दै विधानअनुसार सर्वोच्च निकाय महाधिवेशन नै भएकाले त्यसैमार्फत समस्या समाधान खोजिनुपर्ने धारणा राखेका छन्।

उनका अनुसार नेपाली कांग्रेसको विधानले केन्द्रीय समिति होइन, केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा परिभाषित गरेको छ। विधानको धारा २२ ले केन्द्रीय समितिको प्रमुख जिम्मेवारी महासमिति तथा महाधिवेशनका निर्णय कार्यान्वयन गर्नु र ती निकायको बैठक नबसेको अवस्थामा आवश्यक निर्णय गरी पछि अनिवार्य रूपमा महासमिति वा महाधिवेशनमा पेश गर्नु रहेको स्पष्ट व्यवस्था गरेको छ।

आचार्यले केन्द्रीय समितिले पार्टीको कोष तथा लेखा परीक्षण प्रतिवेदन, संसदीय दलको प्रतिवेदन लगायत आफ्ना सम्पूर्ण प्रस्ताव र प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था विधानमै उल्लेख रहेको स्मरण गराए। साथै विधानको धारा १६ अनुसार कार्य समितिले प्रस्तुत गरेका विषयमा छलफल र अन्तिम निर्णय गर्ने अधिकार महाधिवेशनसँग मात्र सुरक्षित रहेको उनले बताए।

उनका अनुसार अल्पकालीन तथा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने र संगठनसम्बन्धी नीतिगत निर्णय लिने अधिकार पनि महाधिवेशनकै क्षेत्राधिकारभित्र पर्छ। यसका अतिरिक्त कम्तीमा १० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले केन्द्रिय कार्य समितिका कुनै पनि निर्णय पुनरावलोकनका लागि प्रस्ताव पेश गर्न सक्ने र त्यसमा महाधिवेशनले निर्णय गर्न सक्ने व्यवस्था विधानले गरेको छ।

यी संवैधानिक व्यवस्थाले केन्द्रिय कार्य समितिलाई नीतिगत तथा सांगठनिक विषयमा एकल रूपमा मनोमानी निर्णय गर्न नदिने र महाधिवेशनप्रति जवाफदेही बनाउने उद्देश्य राखेको आचार्यको भनाइ छ। तर पछिल्लो समय कार्य सम्पादन समितिबाट गरिएका निर्णयहरूले विधानका यी मर्यादाहरू मिच्न थालेको उनको आरोप छ।

उनले विधानअनुसार महाधिवेशनप्रति जवाफदेही हुनुपर्ने अवस्थामा बहुमत महाधिवेशन प्रतिनिधिहरूको माग र अग्रसरतालाई ‘अवैधानिक’ भन्दै प्रचार गरिनु गम्भीर त्रुटि र आपत्तिजनक भएको टिप्पणी गरेका छन्। कार्य सम्पादन समितिका निर्णयहरू अनिवार्य रूपमा केन्द्रिय कार्य समितिबाट अनुमोदन हुनुपर्ने भए पनि हाल केन्द्रिय कार्य समितिको बैठकसमेत नियमित रूपमा नबोलाइने अवस्था सिर्जना भएको उनले बताए।

आचार्यका अनुसार भाद्र २३ र २४ पछि देशको समग्र अवस्था थप जटिल बन्दै गएको सन्दर्भमा पार्टीभित्र विधानको निरन्तर अवहेलना, नीतिगत दिशाहीनता, सांगठनिक कमजोर हुँदै गएको अवस्था र नेतृत्व संकट एकसाथ गहिरिँदै गएको छ। यही समग्र परिस्थितिले नेपाली कांग्रेसलाई विशेष महाधिवेशनतर्फ जान बाध्य बनाएको उनले निष्कर्ष निकालेका छन्।

उनले विशेष महाधिवेशन नै पार्टीलाई विधिसम्मत मार्गमा फर्काउने, संगठन सुदृढ गर्ने, नीतिगत स्पष्टता दिने र नेतृत्वलाई महाधिवेशनप्रति जवाफदेही बनाउने एक मात्र वैधानिक उपाय भएको दाबी गरेका छन्।

सम्बन्धित समाचार

सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
  • २०८२ पुष २५, १५: ०२

काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११...

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
  • २०८२ पुष २५, १५: ०२

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...

पूर्वमन्त्री होमनाथ दाहालको निधन
पूर्वमन्त्री होमनाथ दाहालको निधन
  • २०८२ पुष २५, १५: ०२

काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ...