भाइकाजी तिवारीविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भाइकाजी तिवारीविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरेको आरोपमा काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) यामकुमार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानबाट उन्मुक्ति पाउनका लागि नक्कली कागजात तयार गरी प्रयोग गरिएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको जनाएको छ ।

अनुसन्धानका क्रममा कार्कीले आफूलाई कार्यालय समयबाहेक बिहान–बेलुका पार्ट टाइम काम, व्यापार–व्यवसाय तथा अध्ययन/अध्यापन गर्न अनुमति दिएको भन्दै २०६२ पुस २९ गतेको पत्र पेस गरेका थिए । उक्त पत्रमा तत्कालीन आयोजना प्रमुख तिवारीको हस्ताक्षर रहेको देखिए पनि सो कागजात कार्यालय अभिलेखमा फेला नपरेको र दर्ता नभएको पाइएको आयोगले जनाएको छ ।

त्यसैगरी, उक्त पत्रमा प्रयोग गरिएको “नेपाल सरकार” भन्ने शब्दावली मिति २०६३ जेठ ४ पछि मात्रै प्रयोगमा आएको देखिएकाले २०६२ सालको मिति राखिएको उक्त लिखत झुट्टा तथा नक्कली भएको पुष्टि भएको आयोगको ठहर छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको परीक्षण प्रतिवेदनले पनि कागजात शंकास्पद रहेको औंल्याएको छ ।

आयोगका अनुसार कार्कीले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा आय वृद्धि भएको देखाएर अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले उक्त नक्कली कागजात प्रयोग गरेका थिए । यस कार्यमा तिवारी र कार्कीबीच मिलेमतो रहेको पनि आरोपपत्रमा उल्लेख छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसुर ठहर गर्दै दुवै प्रतिवादीलाई कैद तथा जरिवाना सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

यसअघि अख्तियारले बिहीबार पनि तिवारीविरुद्ध सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८३ बैशाख ४, १६: ३४

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८३ बैशाख ४, १६: ३४

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८३ बैशाख ४, १६: ३४

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...