राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन र विपक्षीको यस्तो छ अंक गणित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
गठबन्धनका उम्मेद्वारले जित्ने सुनिश्चित

राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन र विपक्षीको यस्तो छ अंक गणित

काठमाडौं । निर्वाचन आयोगले भोलि (१२ माघ) बुधबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । आयोगले राष्ट्रियसभामा फागुनमा रिक्त रहने २० सिटमध्ये १९ सिटका लागि बुधबार निर्वाचन गर्दैछ भने १ सिट राष्ट्रपतिले मनोनित गर्ने रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान कार्य हुँदैछ ।

बुधबार हुने निर्वाचनका लागि आयोगले आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । जसमा प्रदेश १ मा दुई मतदान केन्द्र राखेको छ भने अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थल रहेका छन् ।

आयोगले प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको जानकारी दिएको हो ।

मतदाता तथा मतभार

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तह गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाताका रुपमा रहने व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्था बमोजिम प्रदेश सभा सदस्य र स्थानीय तह गाउँ तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरु यसका मतदाता हुन् ।

त्यस्तै, निर्वाचनमा १ जना प्रदेश सभा सदस्य बराबर ४८ मत र स्थानीय तहका प्रतिनिधिको १८ मत कायम गरिएको आयोगले जानकारी दिएको छ ।

यस्तो सातै प्रदेशका अंक गणित

प्रदेश नम्बर १
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीतर्फबाट अपांगता भएका वा अल्पसंख्यकमा हेमराज थुलुङ राईले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अपाङ्ता एवं अल्पसंख्यकमा सोनाम ग्यालञ्जेन शेर्पा उम्मेद्वार छन् ।

प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् भने यहाँ ९ हजार ३ सय ४८ मतभार रहेको छ ।

कूल मतभार मध्ये यस प्रदेशमा पाँच दलीय गठबन्धनसँग ४ हजार ६६८ मतभार रहेको छ भने प्रतिपक्षी दल एमालेसंग ४ हजार ५२४ मतभार रहेको छ । मतभारको हिसाबले सत्ता गठबन्धन १२६ मतभारले अघि देखिन्छ । यसरी हेर्दा नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले जित्ने निश्चित छ ।

मधेश प्रदेश

मधेश प्रदेशमा सत्ता गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ जसपाका मोहमद खालिद उम्मेद्वार छन् ।
त्यस्तै, यस प्रदेशमा नेकपा एमाले र लोसपाबीचको चुनावी तालमेल भएको छ ।

एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने आन्तरीक सहमति भएका बताइएको छ ।

मधेश प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनसँग कूल ७ हजार १९४ मतभार रहेको छ भन एमाले र लोसपाको जम्मा मतभार २ हजार ५०२ रहेको छ । यसरी हेर्दा पाँच दलीय सत्ता गठबन्धन ४ हजार ६९२ मतभार अगाडी रहेको छ ।

प्रदेशका अंक गणित हेर्दा सत्तारुढ गठबन्धन मधेश प्रदेशमा भारी मतका साथ विजयी हुने लगभग पक्का जस्तै देखिन्छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट महिलातर्फ समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल उम्मेद्वार रहेका छन् । त्यस्तै प्रतिपक्षी नेकपा एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनएको छ ।

त्यस्तै, बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले महिलातर्फ गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशको मतभारको अंक गणित हेर्दा सत्ता गठबन्धनले सहजै विजय प्राप्त गर्ने देखिन्छ । सत्ता गठबन्धनको कूल ४ हजार ८९० मतभार रहेको छ भने नेकपा एमालेसँग ४ हजार १५२ मतभार रहेको छ । यसरी हेर्दा नेकपा एमालेले कूल ७३८ मतभारले पछाडी रहेको देखिन्छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा सत्ता गठबन्धनले महिलातर्फ कांग्रेसकी कमला पन्त, दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार र अन्यतर्फ माओवादीका सुरेश आले मगरलाई चुनावी मैदानमा उतारेको छ ।

त्यस्तै, नेकपा एमाले महिलातर्फ लिला पोखरेल, दलिततर्फ अर्जुनकुमार सुनाम र पूण्यप्रसाद पौड्यालले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशको अंक गणित हेर्दा सत्तारुढ गठबन्धन यो प्रदेशमा पनि बलियो देखिएको छ । सत्ता गठबन्धनको कूल ३ हजार ८४ मतभार छ भने एमालेसँग २ हजार ५३८ मतभार रहेको बताइन्छ ।

लुम्बिनी प्रदेश

सत्ता गठबन्धनले यस प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र अन्यतर्फ कांग्रेसका युवराज शर्मालाई चुनावी प्रतिस्पर्धामा उम्मेद्वार बनाएको छ ।

त्यस्तै नेकपा एमालेलेबाट महिलातर्फ भारती उपाध्याय खनाल, दलिततर्फ कृष्ण सुनार र अन्यतर्फ रामदयाल गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस प्रदेशको मतभारको अंक गणित हेर्दा सत्ता गठबन्धन नै बलियो देखिएको छ । सत्ता गठबन्धनको कूल ४ हजार ३१४ मतभार रहेको छ भने प्रतिपक्षी नेकपा एमालेसंग कूल ३ हजार २३४ मतभार रहेको छ । नेकपा एमालेले सत्ता गठबन्धनबाट कूल १ हजार ८० मतभारले पछाडी रहेको देखिन्छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा सत्ता गठबन्धनले महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ, अपाङ्गता वा अल्पसंख्यकतर्फ माओवादीका नरबहादुर विष्ट र अन्यतर्फ एकीकृत समाजवादीका उदयबहादुर बोहोरा चुनावी मैदानमा रहेका छन् ।

त्यस्तै, नेकपा एमालेले कर्णालीमा महिलातर्फ गंगा थापा महत, अपाङ्गता वा अल्पसंख्यकतर्फ पदमबहादुर माझि र अन्यतर्फ चुडामणि शर्मालाई प्रतिस्पर्धामा उतारेको छ ।

यहाँको मतभारको अंक गणित हेर्दा गठबन्धनका उम्मेद्वारले जित्ने सुनिश्चित देखिएको छ । सत्ता गठबन्धनको कूल २ हजार ८९८ मतभार रहेको छ भने एमालेसँग १ हजार ४३४ मतभार छ ।

सुदुर पश्चिम प्रदेश

सत्ता गठबन्धनले यस प्रदेशमा महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर सार्की र अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्रलाई उम्मेद्वार बनाएको छ ।

सत्ता गठबन्धनसंग प्रतिस्पर्धा गर्न नेकपा एमालेले महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा र अन्यतर्फ डिल्लीराज भट्टलाई चुनावी मैदानमा अघि सारेको छ ।

यो प्रदेशमा सत्ता गठबन्धन एमालेभन्दा दोब्बर मतान्तरले अघि रहेको छ । सत्ता गठबन्धनसंग ३ हजार ७९२ मतभार रहेको छ भने एमालेसँग १ हजार ७८८ मतभार रहेको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ ११, १६: ४४

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ ११, १६: ४४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ ११, १६: ४४

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...