चलचित्र ‘प्रकाश’ लाई हलवालाहरुले विभेद गरेको भन्दै निर्माण टिमकाे आपति – Naya Bikalpa
April 19, 2024, Friday

चलचित्र ‘प्रकाश’ लाई हलवालाहरुले विभेद गरेको भन्दै निर्माण टिमकाे आपति

काठमाडौं । दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपति जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले आफुले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।

आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन् । एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ ।’

उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे । फिल्ममा धेरै जनाको मेहनत रहेको उनको भनाई छ । अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे । उनले भने,‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी कति हेपिएर बस्ने ? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र ?’

उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो ? भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

क्लबका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली चलचित्रलाई सबैले माय गर्नुपर्ने उल्लेख गर्दै प्रदर्शनको क्रममा राजनीतिकरण गर्न नहुने धारणा राखेका छन् । प्रकाश चलचित्रले नेपाली जनताको मन जितिसकेकोले कहाँ चलेको छ ? भनेर खोज्न सुरु गरेको सुनाए । उनले भने,‘प्रकाश चलचित्र अब जनताले कहाँ छ भनेर खोज्न सुरु गरेका छन् । जनताले हामीलाई यही चलचित्र चाहिन्छ भन्न थालिसकेका छन् ।’

उनले अभिनेता प्रदीप खड्काले २ वर्षको लामो अध्ययनपछि निकै मेहनत गरी अभिनय गरेको उक्त फिल्म उत्कृष्ट भएको दाबी गरे । नेपाली फिल्म हेर्ने नेपालीहरुको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको उल्लेख गर्दै उनले राम्रो फिल्म दर्शकले दोहोर्याएर पनि हेर्ने गरेको बताए । प्रकाश चलचित्रलाई प्रदर्शनको क्रममा कुनैपनि तवरले अवरोध र अन्याय गर्न नहुने जिकिर गरे ।

उक्त चलचित्रका अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो की भएन त्यो चाँही ठुलो कुरा भएको बताएका छन् । उनले भने,‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन् भनेर ट्यागै त लगाउन भएन नि ।’

वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाई छ । उनले ललितपुरको सबैभन्दा ठुलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने,‘साना हलहरुले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरुले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’ खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफुलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

नायक खड्काले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिईए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभुति नदेखाएको उनको गुनासो छ ।
वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने,‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले उक्त फिल्म जुम्लामा सुटिङ भएकै कारण काठमाडौंले विभेद गरेको आरोप लगाएका छन् । उनले भने,‘नेपालका हलमा भारतीय फिल्म लगाउने तर नेपाली फिल्महरु चल्न नदिने हलहरु विदेशतिरै चलाउनुुपर्ने हाम्रो माग हो ।’ नेपालका हलले ८० प्रतिशत विदेशी फिल्म चल्न दिने गरेको उनको भनाई थियो । फिल्मबाटै भारतले नेपालबाट अरवौं पैसा लैजाने गरेको भन्दै उनले नेपालीको धेरै पैसा विदेशीएको टिप्पणी गरे ।

चीनले वर्षमा २० वटामात्र विदेशी फिल्म चल्न दिने भन्दै नेपाली हलले पनि त्यसबारे सोच्नुपर्ने बताए ।
जुम्लामा फिल्मको शत प्रतिशत सुटिङ भएको भन्दै उनले फिल्म प्रदर्शन पछि जुम्लामा पर्यटकको संख्या पनि ह्वात्तै बढ्ने जिकिर गरे । शाहीले फिल्म क्षेत्रको सम्पतिको स्रोत अब आफुहरुले खोज्ने समेत चेतावनी दिए ।

त्यस्तै, प्रकाश चलचित्रका स्क्रिप्ट–राइटर विकास सुबेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको चलचित्र चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद् भएको धारणा राखे । फिल्म नचल्ने र दर्शकले कम रुचाउने आंकलन गरेका फिल्महरुले नै दर्शकको मन जित्ने उनको विश्वास छ ।

देशमा बौद्धिक चिज हेर्ने जमातको कमी भएको उनको भनाई थियो । फिल्म वितरकले नेपालीपन बोकेको चलचित्रलाई प्राथमिकता दिनुपर्नेमा त्यसको उल्टो निराशा उत्पन्न गराएको भन्दै उनले दुःखेसो पोखे । उनले भने,‘कुनै त्यस्ता तत्वहरु÷समुहहरु नेपालीपन बोकेका फिल्मलाई बाइकट गर्न हाम्रो फिल्मविरुद्ध लागेका छन् ।’

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ भाद्र १०, १६: ३७

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ भाद्र १०, १६: ३७

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ भाद्र १०, १६: ३७

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...