राष्ट्रपतिमा निर्वाचित पौडेलको उतार चडावपूर्ण र प्रेरणादायी जीवनी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रपतिमा निर्वाचित पौडेलको उतार चडावपूर्ण र प्रेरणादायी जीवनी

काठमाडौं । विहीबार भएको राष्ट्रपतिको निर्वाचनमा अत्यधिक बहुमतले विजयी भएका रामचन्द्र पौडेलको ७८ वसन्त लामो जीवन निकै नै उतार चडावपूर्ण र प्रेरणादायी छ।

स्वच्छ छवि, सादा जीवन, उच्च विचार लिएका पौडेल लोकतान्त्रिक समाजबादका एक चिन्तक र प्रयोगकर्ता हुन्। २००१ असोज २९ गते, शनिबार आमा ऋषिमाया र पीता दुर्गाप्रसाद पौडेलका पुत्ररत्तका रुपमा तनहुँ जिल्लाको मिर्लुङ्, बाहुनपोखरामा रामचन्द्रको जन्म भएको थियो।

श्रीमती सविता पौडेल र छोरा चिन्तनसँगै हाल काठमाडौं महानगरपालिका १६ बोहोराटारमा बस्दै आएका पौडेलका चार छोरी शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा छन्। मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी वसोवास भने तनहुँ जिल्लाको व्यास नगरपालिका ८, बेलथुम्की हो।

नेपाली काँगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित पौडेल तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

द्वन्द्वरत माओवादीसँग विस्तृत शान्ति सम्झौताको मस्यौदाकार समेत रहेका पौडेल सहमति र सहकार्यका पक्षपाती हुन्।

जनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्ष भन्दा बढी जेल जीवन विताएका पौडेल संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधारमध्येका एक हुन्।

संस्कृत साहित्यमा शास्त्री, नेपाली साहित्यमा स्नातकोत्तर गरेका पौडेलको राजनीतिक संलग्नता २०१६ सालमा हिमालयन छात्र संघ पोरखामा स्थापनासँगै भएको थियो। नन्दीरात्रि माविबाट उनले एसएलसी परिक्षा उत्तिर्ण गरेका थिए।

पोखरा विन्ध्यवासीनी पाठशालाबाट २०१७ असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका पौडेल २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई गिरफ्तार गरेकोमा त्यसका बिरुद्ध आन्दोलनमा सहभागी भएका थिए।

नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष भएका पौडेलले जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै आन्दोलनको नेतृत्व गरेका थिए।

२०१९ मा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा ०२० मा उपत्यका आन्दोलनमा गिरफतार उनी ०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतारमा परेका थिए।

गण्डकी छात्र संघको संस्थापक अध्यक्ष २०२३मा, सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित २०२३मा, प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४मा, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ मा भएका थिए।

नेपाली काँग्रेस तनहुँको २०३४मा सदस्य र २०३६मा जिल्ला उपसभापति भएका पौडेलले जनमत सङ्ग्रहको समयमा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए।

२०४० सालमा काँगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख भएका पौडेल २०४३मा पनि केन्द्रीय सदस्य २०६२ देखि ०६४ सम्म कांग्रेसको केन्द्रीय महामन्त्री २०६४ देखि २०७२सम्म पार्टी उपसभापति, २०६४देखि २०७०सम्म पार्टी संसदीय दलको नेता, २०७२मा पार्टीको केन्द्रिय कार्यबाहक सभापति भएर जिम्मेवारी सम्हालेका थिए ।

कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल २०७२ देखि हालसम्म काँग्रेसको ‘वरिष्ठ नेता’को रुपमा छन् ।

जेल जीवन
पौडेल भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतमा, विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष२०२१ मा हिरासतमा बन्दी जीवन विताएका थिए।

डिआईजी काण्डमा गिरप्mतार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग २०२३सालमा भेटेका पौडेल प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, थियो ।

२०२५ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, र २०२७ मा नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडाँैमा ३ महिना हिरासतमा राखिएको थियो ।

रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी, नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासतमा रहेका पौडेल २०३६ मा गिरफ्तार भइ ६ महिना हिरासत बस्नु भएको थियो।

पञ्चायती व्यवस्था अन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ । ६ महिना हिरासत बसेका पोडेल पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली काँग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार भई ९ महिना हिरासतमा परेका थिए।

आन्दोलनको तयारीको सिलसिलामा २०४६सालमा गिरफ्तार गरी बागलुङ् जेलमा ५ महिना हिरासतमा राखिएका पौडेल शाही कदमपछि २०५९मा करिव एक वर्ष नजरबन्द र हिरासतमा परेका थिए ।

पौडेल तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा २०४८सालमा तनहुँ क्षेत्र नं २ बाट २०५१मा, सोही क्षेत्रबाट २०५६मा, सोही क्षेत्रबाट संविधानसभा सदस्यमा २०६४ मा, सोही क्षेत्रबाट संविधानसभा सदस्यमा २०७०मा निर्वाचित भए । उनी  तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९ विजयी भएका छन्।

पहिलोपटक २०४८ जेठ १५ देखि स्थानीय विकास मन्त्री नियुक्त पौडेल २०५१ सम्म सो जिम्मेवारीमा थिए।  २०४९ देखि २०५१ सम्म कृषि मन्त्री नियुक्त भएका पौडेल २०५१देखि प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए ।

२०५६मा उपप्रधानमन्त्री तथा सूचना तथा सञ्चार मन्त्री र सोही वर्ष स्थानीय विकास मन्त्री एका थिए । उपप्रधान तथा गृहमन्त्रीको रुपमा २०५६ र २०५८मा जिम्म्वारी सम्हालेका पौडेल २०६३मा शान्ति तथा पुनःनिर्माण मन्त्री भएका थिए।

नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पौडेलले २०६४ देखि २०७० सम्म सो जिम्मेवारी लिएका थिए।

महेन्द्र विक्रम शाह पुरस्कारबाट सम्मानित नेता पौडेल जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान सन् २०२० प्राप्त गरेका थिए।

पौडेलले नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली काँग्रेस र नेपालको आधुनिकीकरण, नेपाली काँग्रेस के भन्छ?, आस्थाको यात्रा २०५५, नेपाली काँग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५ कृषि क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग, २०७९ र नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र किताव लेखेका छन्।

उनले नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि) कितावका लेखक पौडेलले नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् ।

 

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ फाल्गुन २६, ०७: २०

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ फाल्गुन २६, ०७: २०

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ फाल्गुन २६, ०७: २०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...