
काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई हाल ११ दलको साथ सहयोग र समर्थन भएका कारण सरकार सुविधाजनक बहुमतमा छ। तर सरकारलाई समर्थन गर्ने ११ दलमध्ये ६ वटा दलले भने गठबन्धनका पाँच ठूला दलले गरेको निर्णयप्रति असहमति देखाएका छन्।
सरकार बनेको तीन महिना भित्रमा दुई पटक विश्वासको मत लिनु पर्ने अवस्थामा रहेका प्रधानमन्त्री दाहालले पुनः वैशाख १० गतेको उपनिर्वाचनको मतपरिणामसँगै विश्वासको मत सदनसमक्ष लिनु पर्ने संकेत देखिएको छ।
खासगरी मधेश केन्द्रीत राजनीतिक गरिरहेका जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको प्रतिष्ठाको लडाइँले सत्ता गठबन्धन दल फरक फरक धारमा पुगेका हुन्।
सत्तारुढ दल भएर पनि दुई पार्टी बीचको बिबाद उपराष्ट्रपति निर्वाचनदेखि नै छताछुल्ल भएको हो । सत्ता गठबन्धन दलले जसपाले अघि सारेका उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले ममता झालाई उठाए र गठबन्धनभित्र एक मत देखिएन।
बारा क्षेत्र नम्वर २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि खाली भएको सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। खाली भएको क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव र मंसिर ४को निर्वाचनमा यादवसँग झिनो मतले पराजित माओबादीकेन्द्रका उम्मेदवार शिवचन्द्र कुसवाहलाई जनमत पार्टीमा प्रवेश गरेसँगै उम्मेदवार भएका छन्।
मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट राउतसँग पराजित यादव बाराबाट निर्वाचन क्षेत्र खाली गराएर त्यहीँबाट संसद छिर्ने दाउमा छन्। यता, सत्ता गठबन्धनकै अर्को दल जनमत पार्टीका अध्यक्ष राउत पनि आफूसँग पराजित यादवलाई जसरी भए पनि बारा क्षेत्र नम्वर २ को उपनिर्वाचनमा हराउन चाहन्छन्।
मधेश केन्द्रीत दुई दलका शीर्ष नेताको असमझदारी सम्वन्धका कारण सत्ता गष्ठबन्धनमा पनि विवाद देखिएको छ। मंगलबार मात्र सत्ता गठबन्धन भित्रका ठूला पाँच दलले उपेन्द्र यादवलाई बारा क्षेत्र नम्वर २ मा समर्थन गर्ने भनी औपचारिक निर्णय गरेको छ। सत्ता गठबन्धनका ११ दलमध्ये कांग्रेस, माओबादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजबादी) र लोकतान्त्रिक समाजबादी पार्टीले मात्र यादवलाई सघाउने घोषणा गरेका छन्।
सरकारलाई विश्वासको मत दिएको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने आगामी बैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुने निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने भएको छ। बारा २ भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले माओबादी केन्द्रबाट भर्खरै जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुसवाहलाई समर्थन गरेको छ।
सत्ता गठबन्धनका ठूला दलले गरेको निर्णयप्रति राष्ट्रिय जनमोर्चा, नेपाल समाजबादी पार्टी र आम जनता पार्टीले समर्थन नगर्ने भएका छन्। माओबादीको चुनाव चिन्हबाट सर्लाही निर्वाचन क्षेत्र २ वाट निर्वाचित नेपाल समाबादी पार्टीका एक मात्र प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव, रौतहट क्षेत्र नम्वर ३ बाट निर्वाचन आम जनता पार्टीका अध्यक्ष समेत रहेका प्रभू पनि उपेन्द्र यादवलाई नसघाउने पक्षमा छन्।
उपनिर्वाचनमा पाँच ठूला दलमध्ये ८८ सांसद भएको काग्रेस, ३१ सांसद भएको माओबादी केन्द्र, १३ सांसद भएको जसपा, १० सांसद भएको एकीकृत समाजबादी र ४ सिट भएको लोकतान्त्रिक समाजबादी पार्टी एक ठाउँमा छन्।
ती दलका कूल सांसदको संख्या एक सय ४५ हनु आउँछ । कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपनि निर्वाचित हुँदा र टेक बहादुर गुरुङ निलम्वनमा पर्दा २ सांसद कम छन भने जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपाको पनि एक सिट खाली छ।
गठबन्धन भित्रको दल राष्ट्रिय जनमोर्चाले तीन वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनमा कुन दलका उम्मेदवारलाई सघाउने भनेर औपचारिक निर्णय गरेको छैन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ बाट पार्टी अध्यक्ष रबी लामिछाने, बारा २ मा रमेश खरेल र तनहुँ १ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खरेल र वाग्ले दुबै रास्वपाका नवप्रवेशी नेता हुन्।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...