
काठमाडौं । राजनीतिक दलका उच्च नेता र उनीहरुको संरक्षणका कारण जस्तासुकै गम्भीर प्रकृतिका अपराधमा समेत छानबिन र अध्ययन गर्न नेपाल प्रहरीलाई सँधै सकस हुने गरेको छ।
त्यसको पछिल्लो उदाहरण हो, नक्कली भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाई दिने नाममा करिव ९ सय जनाबाट जनही १० लाखदेखि ५० लाख रुपैयाँ ठगी प्रकरणमा नाम जोडिएका नेताहरुलाई जोगाउन राजनीतिक दलका उच्च र शीर्ष नेताको दौडधुप।
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राजनीतिक दलका प्रभावशाली व्यक्तिहरुको संलग्नता रहेको सूचना ठगी प्रकृयाकै क्रममा थाहा नपाएको होइन। तर, जब गृहमन्त्रीमा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आए तव प्रहरीको नेतृत्वले राजनीतिक दबाब बिना नै अनुसन्धान गर्ने मौका पायो।
अनुसन्धानको क्रममा गत चैत १२ गते कांग्रेस नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका सहयोगी केशव दुलालसहित सानु भट्टराई र टंकबहादुर गुरुङलाई प्रहरीले पक्राउ गर्यो ।
दुलाल, भट्टराई र गुरुङसँगै ठगी प्रकरणमा सांसद तथा एमाले सचिव टोपबहादुर रायामाझी, उनका पुत्र सन्दीप, पूर्वगृहमन्त्री रामबहादुर थापा ’बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजीत राई र बादलपुत्र प्रतिकलाई पक्राउ गर्नु पर्ने थियो ।
राजनीतिक दबाब प्रहरीले भने पनि नभने पनि थेग्नु परेको घाम जत्तिकै छर्लङ्ग थियो। किनकी भुटानी बनाई नेपाली युवाबाट रकम उठाउने काममा सांसद टोपबहादुर र उनका छोरा सन्दीप, इन्द्रजीत, प्रदीपको संलग्नता प्रत्यक्ष थियो । तर उनीहरुलाई पक्राउ पूर्जी जारी गर्न नेपाल प्रहरीले एक महिना सात दिन कुर्नु पर्यो।
पक्राउ पूर्जी जारी गर्दै अनुसन्धानको घेरामा परेकालाई गिरफ्तार गर्न छाडेर नेपाल प्रहरीको जिम्मेवार निकायले प्रचार गरेपछि प्रहरीको अनुसन्धानको घेरामा रहेकाहरु उम्कन अनेकौं दबाब प्रहरीलाई दिन यतिवेला न्वारानदेखिको बल लगाई रहेका छन् ।
यो प्रकरणमा नीतिगत निर्णय गरी तत्कालिन गृहमन्त्रीका छोरा र सल्लाहकारलाई रकम उठाउन संरक्षकको काम गरेका गृह मन्त्रालयका सचिवहरु प्रेम राई, टेक नारायण पाण्डे, महेश्वर न्यौपाने, ठगी थाहा पाएर पनि तल्लो निकायलाई रोक्ने विषयमा हात नहाल्न निर्देशन दिने तत्कालिन प्रहरी महानिरिक्षकहरु शैलेस थापा क्षेत्री र धिरतप्रताप सिंहलाई समेत प्रहरीले अनुसन्धानको घेरामा राख्नु पर्ने देखिन्छ।
राजनीतिक दबाब यतिधेरै आएको छ कि प्रहरीले कसलाई पक्राउ गर्ने र कसलाई उम्काउने भन्नेमा बढी आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ। प्रहरीले चैत २० गते सो प्रकरणमा तीन जना पक्राउ परेको एक महिना ढिलो गरी थप आशंकित व्यक्तिमाथि पक्राउ पूर्जी जारी गरी गिरफ्तार गर्न छाडी प्रचारबाजी गर्दा अहिले आफै अप्ठयारोमा परेको छ।
इन्द्रजीत राईलाई बैशाख १९ गते र पूर्वगृहसचिव टेकनारायण पाण्डे र टोपबहादुर रायामाझीका छोरा सन्दिपलाई बैशाख २० गते पक्राउ गरेपछि प्रहरीमाथि राजनीतिक दबाब आएको देखिन्छ।
प्रहरीले टोपबहादुरमाथि पक्राउ पूर्जी जारी गरेको सूचना वाहिर ल्याएर हल्ला गर्ने काम गरेको पाईन्छ। अनुसन्धान कारबाहीका विषयमा हल्ला भन्दा सल्लाह गर्नु पर्ने प्रहरीको आन्तरिक कार्यविधि र अनुशासन पालना नगर्दा टोपबहादुरलाई पक्राउ गर्न सक्ने अवस्था कमजोर छ।
बैशाख २० गते बुधबार दिउँसो रायामाझी र उनका छोरालाई पक्राउ पूर्जी जारी भएको विषय आमसञ्चार माध्यममा वाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सक्नु पर्दथ्यो।
बुधबार दिउँसो आफ्नो गृह जिल्ला अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेका रायामाझीलाई निगरानी गर्न नसक्नुको पहिलो कमजोरी प्रहरीको देखिन्छ ।
तर, यसमा अदृष्य र खास कारण भने सरकार र राजनीतिक नेतृत्व नै हो भन्ने घाम जत्तिकै छर्लङ्ग छ ।
बुधबार दिउँसो विद्यालयको हिरक महोत्वसको प्रमुख अतिथि बनेका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुटबल आएका रायामाझीको निगरानी प्रहरीले गर्न नसकेको देखिन्छ।
सभामुख घिमिरेसँगै बुटबल आएका रायामाझी कहाँ गए होला? भनेर सभामुख वा उनको सुरक्षार्थ गएको प्रहरीले के थाहा पाएको थिएन होला र? बुटबलको एक होटलमा बस्ने योजना बनाएका रायामाझीले होटलमा नगइ किन भैरहवाबाट काठमाडौंको लागि हवाई टिकट लिए होला?
सभामुखबाट छुट्टिएर भैरहवा जाने भनेका रायामाझीले हवाई यात्रा नगरी सवारीबाटै काठमाडौं आउने भनेका थिए तर उनले प्रयोग गरेको सवारीमा चालक मात्रै प्रहरीले फेला पार्यो।
बुधबार रायामाझीबिरुद्ध पक्राउ पूर्जी जारी भएको सूचना फैलिएसँगै उनलाई जोगाउन प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटन गएका थिए।
प्रचण्ड प्रधानमन्त्री भएपछि उनीसँग भेट्न नगएका ओली बुधबार जानु र भेटेपछि ‘रायामाझी बाटोमा हिँड्दा हिँड्दै समाईहाल्नु पर्ने मान्छे होइनन’ भन्नुले उनलाई जोगाउ राजनीतिक दबाब दिएको प्रष्ट हुन्छ।
प्रधानमन्त्री दाहाललाई भेट्न एमाले नेता ओली भेट्न जानु र पक्राउ पूर्जी जारी गरिएका रायामाझीप्रति प्रहरीले सदासयता देखाएर उनलाई ‘अनदेखा’ गर्न नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको प्रपञ्च हो भन्दा अतिसयोक्ति नहोला।
ओली र दाहालको भेट हुनु र रायामाझी बेपत्ता हुनुलाई संयोग मात्र मान्न सकिन्न, यसलाई उच्च राजनीतिक षडयन्त्र भन्दा फरक नहोला। आमनागरिकको संशयलाई दूर गर्ने हो भने अव विपक्षी दलका नेता ओलीले प्रहरीको फरार सूचीमा रहेका रायामाझीलाई उपस्थित गराएर ठगी प्रकरणका पीडितलाई न्याय दिनु पर्छ।
आमनागरिकमा प्रधानमन्त्रीको दल नेकपा माओबादी केन्द्र र विपक्षी एमालेप्रति सकारात्मक धारणा पक्कै जाने छैन। रायामाझी एक जनालाई प्रहरी हिरासतमा बस्नै नपर्ने अवस्था श्रृजना गर्दा एमाले नेतृत्व र उसका कार्यकर्तालाई हर्षानुभूति त होला तर यसले आमसर्वसाधरण र पीडित तथा पीडितका परिवारको नजरमा पीडकको मतियार भएको छापलाई हटाउन सक्दैनन्।
यो प्रकरणमा रायामाझी र बादल पुत्र प्रतिक थापा पक्राउ नपर्ने हो भने राज्यप्रति र प्रमुख दुई दलप्रति नागरिकको विश्वास टुट्ने निश्चित छ।
करिव ९ सय पीडितका पीडकप्रति एमाले र सत्तामा नेतृत्व गरेको दल माओबादीको दृष्टिकोण स्पस्ट नभए पुराना दलबिरुद्ध देशव्यापी फैलिएको नकारात्मक संचारको हावाले नयाँ राजनीतिक दल र त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र पुनरुत्थानबादी दल राप्रपाको लागि राजनीति गर्ने सहज, सरल र सुविधाजनक वातावरण बन्न जान्छ।
रायामाझी र थापालाई पक्राउ गरेर पूर्वगृहसचिव महेश्वर न्यौपाने र प्रेम राई तथा पूर्वआईजीपीहरुलाई पनि अनुसन्धानको घेरामा ल्याउन सक्नु पर्छ।
प्रधानमन्त्री यति धेरै कमजोर भएर प्रहरीले पक्राउ गर्न खोजेको व्यक्तिलाई समेत भगाउने कार्यले आमनागरिकमा सरकारप्रति शंका सृजना गरेको छ।
सरकारी संचार माध्यम गोरखा पत्रको अनलाईन संस्करणले बिहीबार साँझ प्रकाशन गरेको यो समाचारले रायामाझीलाई पक्राउ गरे पनि प्रहरीले फरार भन्दै छोडेको हुन सक्ने आशंका जन्माएको छ। किनकी यो समाचारको प्रहरीले खण्डन समेत गर्न सकेको छैन ।

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीलाई एकजुट बनाउँदै आगामी निर्वाचनको तयारी सुदृढ गर्न मंसीर २४ गतेबाट विशेष...