संगीता खड्का
प्रेस काउन्सिल नेपालले विभिन्न देशका प्रेस कोउन्सिलसँगको सहकार्य ् सम्बन्ध विस्तारलाई प्राथमिकतापूर्वक अगाडि बढाईरहेको छ । विश्व प्रेस काउन्सिल सबन्ध र त्यसका नियमित कार्यक्रम अगाडि बढाउन नेपालको तर्फबाट विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्षका हेसियतले प्रेस काउन्सिल नेपाल (कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ) ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । आफ्ना अनुभव विश्वका अन्य देशका प्रेस काउन्सिलसँग साट्ने र अरुका अनुभव आफूले लिने उद्देश्यले प्रेस काउन्सिल नेपालले संस्थागत रुपमा धेरे देशका काउन्सिलसँगको सम्बन्धलाई अगाडि बढाईरहेको छ ।
२५ अक्टोबर सन् २०१७ मा कार्यबाहक अध्यक्ष श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली ब्राजिल भ्रमणमा गएको थियो । टोलीमा काउन्सिल सदस्य खिलबहादुर भण्डारी र मुख्य अधिकृत झविन्द्र भुसाल सहगाभी थिए । ब्राजिल भ्रमणका क्रममा त्यहाँको प्रेस काउन्सिलसँग भएको औपचारिक बैठक निकै महत्वपूर्ण रह्यो । बैठकमा दुई देशबीच अनुभव आदानप्रदान हुनुका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । काउन्सिलको ५ सदस्यीय टोलीले नोभेम्बर २ सन् २०१७ तारिखदेखि ८ तारिखसम्म अष्ट्रेलिया पनि भ्रमण ग¥यो । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्स्लि सदस्य गोविन्द आचार्यको नेतृतत्वको सो टोलीले अष्ट्रेलियन प्रेस काउन्सिल, अन्तर्राष्ट्रिय पत्रकार महासंघको एशिया प्यासिफिक च्याप्टर, अष्ट्रेलियन पत्रकारहरुको संस्था, नेपाली राजदूत, अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्ने नेपालीहरुसँग औपचारिक र अनौपचारिक गरी थुप्रै बैठक सम्पन्न गरेको थियो । टोलीमा काउन्सिलका सदस्यहरु सुदर्शन आचार्य, शुभेच्छाविन्दु तुलाधर, संगिता खड्का र कामु उपप्रशासकीय अधिकृत रामशरण बोहोरा सहभागी थिए । अष्ट्रेलिया भ्रमणका क्रममा भएका सबै बैठक अत्यन्तै महत्वपूर्ण रहे ।
विशेषतः अष्ट्रेलियन प्रेस काउन्सिल र प्रेस काउन्सिल नेपाल दुई साझेदार संस्था भएकाले दुई संस्थाबीचको पत्रकारिताले भोगिरहेको समस्या र उनीहरुले भोगिरहेको समस्याबीच पक्कै पनि धेरै अन्तर रहने कुरा सुरुमै अनुमान गरिएको थियो । दुई संस्थाबीच औपचारिक बैठक सुरु भएपछि नेपालको कार्यअधिकार र दुई देशका काउन्सिलहरुबीच गर्न सकिने सहकार्यका विषयमा केन्द्रीत भएर आफ्नो कुरा राखिएको थियो । हाम्रो कुरा सुनिसकेपछि उनीहरुले भ्रमण टोलीलाई उच्च प्राथमिकता दिँदै आफ्नो देशमा काउन्सिलले गरिरहेको काम, आफ्नो क्षेत्राधिकार, अष्ट्रेलियन प्रेसले भोगिरहेका समस्या आदिबारे चर्चा सहित आगामी दिनमा दुवै काउन्सिलबीच सहकार्य गर्न आफूहरु उत्साहित रहेको बताएका थिए । दुई देशका काउन्सिलबीच आ–आफ्ना कार्य क्षेत्राधिकारका विषयमा चर्चा हुँदा उनीहरु अचम्मित भए नेपालको काउन्सिलसँग धेरै अधिकार रहेछ भनेर ।
अष्ट्रेलियन काउन्सिलमा २५ जनाको बोर्ड छ । काउन्सिल सदस्य हुनका लागि इच्छुकहरुले फर्म भरेर सहभागी हुन सक्ने प्रावधान छ । सहभागीमध्ये मतका आधारमा नियुक्त, हुने छन् । उनीहरुको कार्य सञ्चालनका लागि आवश्यक बजेट अष्ट्रेलियामा सञ्चालित छापामाध्यमले नै तिरेहेका लेवीबाट चल्ने गर्दछ । त्यहाँको काउन्सिलले कसैको उजुरी नपरी स्व–अनुगमन गर्ने प्रचलन छैन । कुनै समाचारमाथि कसैले उजुरी हालेपछि मात्रै त्यो विषयमा छानविन हुने र समाचार गलत पाएमा सम्बन्धित सञ्चारमाध्यमले खण्डन छाप्नुपर्ने छ । काउन्सिलको उक्त निर्णयलाई सम्बिन्धत सञ्चारमाध्यमले अक्षरशः पालना गर्ने रहेछ । अष्ट्रेलियन काउन्सिलले छापामाध्यमको मात्रै आचारसंहिता हेर्ने रहेछ । त्यति धेरै विकसित र नेपालभन्दा ५६ गुणा ठूलो देशमा औलामा गन्न सकिने सञ्चारमाध्यम हुनु र गलत समाचार दिनुहुन्न भन्ने नैतिक मूल्य बोकिदिँदा आचारसंहिता हननका घटना बिरलै मात्र आउँदा रहेछन् ।
नेपालमा पत्रकारिताले भोगिरहेको समस्या बारे उनीहरुको जिज्ञासा मेटाइरहँदा हामी आफैँलाई लज्जाबोध भइरहेको थियो । एकले अर्कोलाई खुइल्याउनका लागि समेत पत्रकारिता सुरु गर्ने परीपाटी छ । एकले अर्कालाई लगाएको आरोप न त प्रमाणित हुनुपर्दछ न तथ्यमा आधारित नै हुनुपर्दछ । ठूला भनिएका सञ्चारमाध्यमदेखि स्वरोजगारको रुपमा खोलिएका सञ्चारमाध्यमले समेत बिना प्रमाण आग्रह–पूर्वाग्रह राखेर समाचार दिने चलन छ । नेपाली पत्रकारितामा भएका विकृति त उनीहरुका सामुन्ने भन्ने कुरा भएन । सञ्चारमाध्यमको संख्या, प्रेस काउन्सिलमा पर्ने उजुरी र काउन्सिलको अधिकारका विषयमा उनीहरुले निक्कै जिज्ञासा राखेका थिए । नेपालमा यतिधेरै सञ्चारमाध्यम भएकोमा आश्चर्य प्रकट गरेका थिए । संख्यात्मक रुपमा सञ्चारमाध्यम धेरै भए पनि हाम्रो सञ्चारमाध्यमको हविगत के छ, त्यो हामी आफैंलाई थाहा थियो तर धेरै सञ्चारमाध्यम भएको विषयलाई गर्वकै रुपमा लिनुपर्ने थियो ।
अष्ट्रेलियन काउन्सिलसँग भन्दा नेपालको प्रेस काउन्सिलसँग धेरै अधिकार रहेको कुरालाई उनीहरुले नैतिक रुपमा हेरेका थिए । विकसित देशमा एकातिर कानुन कडा छ भने अर्कोतिर नैतिक मूल्यमान्यता छ । एउटा नागरिकले के गर्न हुन्छ वा के गर्न हुन्न भन्ने कुरामा प्रत्येक नागरिक सचेत छन् । त्यस्तो देशमा स्वभाविक रुपमा केही ठूला विषयमा योजनाबद्ध रुपमा गरिने लबिङबाहेक सामान्य विषयमा गाली–गलौज वा आरोप–प्रत्यारोपको गुञ्जायसै रहन्न । यसकारण पनि उनीहरुकोमा कम उजुरी पर्दछ तर हामी कहाँ सही मूल्य–मान्यतामा गरिने पत्रकारिताभन्दा आग्रह–पूर्वाग्रहका आधारमा गरिने पत्रकारिता बढी भएकोले धेरै उजुरी पर्नु स्वभाविकै हो ।
हामी अन्तर्राष्ट्रिय पत्रकार महासंघसँगको छलफल पश्चात त्यहाँको सरकारी सञ्चारमाध्यम एस.बि.एस मिडियामा पनि पुगेका थियौं । एउटै सञ्चारमाध्यमभित्र रेडियो, टेलिभिजन र अनलाईन मिडिया सञ्चालित थिए । ती सञ्चारमाध्यमको विशालता अनि त्यहाँ कार्यरत पत्रकारका लागि सुविधा र उनीहरुका विशिष्टता देख्न पाइयो एकातिर त्यहाँका सञ्चारमाध्यमको कार्यकक्ष र कामको विशिष्टता अनि अर्कोतिर हाम्रो पत्रकारिताको अवस्था दुवै कुरा मेरो मानसपटलभरी छाइरहेको थियो ।
मनमनै प्रश्न गरे, हाम्रो पत्रकारितामा जति अराजकता र विकृति छ ती हुनुको कारण के होला ? मनमनै सोचें ! गरिबी ! कुसंस्कार ! दण्डहीनता ! वा अरु केही ? यी कुरा व्यक्तिगत अनुभूतिका पाटाहरु थिए । ६ दिनको छोटो समयमा दर्जनौं औपचारिक बैठकसँगसँगै बाटामा पर्ने पर्यटकीय र ऐतिहासिक स्थलको घुमघाम ! छोटो समयमा यी सबै काम भ्याउनु निकै गाह्रो थियो । सो भ्रमणको व्यवस्थापन नार्कोसी डट कमले गरेको हो । पुरा समय दिएर भ्रमणको चाँजोपाँजो मिलाउने कार्यमा नार्कोसी डट कमका सि.इ.ओ. खेम शर्मा, काउन्सिलका पूर्व सदस्य (हाल अष्ट्रेलियामा रहनुभएका पत्रकार मनऋषि धिताल), पत्रकार ऋषि आचार्य खटिएका थिए ।
यसैगरी सन् २०१७ को नोभेम्बर १६ तारिखमा भारतीय राष्ट्रिय प्रेस दिवसका अवसरमा भारतीय प्रेस परिषद्द्धारा आयोजित कार्यक्रममा नेपालको महत्वपूर्ण सहभागिता रहेको थियो । उक्त कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठसहित सहप्रशासकीय अधिकृत दीपक खनाल सहभागी थिए । काउन्सिलका तर्फबाट संस्थागत रुपमा भएका विभिन्न देशको भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपेको छ । विभिन्न देशको अनुभवबाट सकारात्मक पाठ सिक्ने र आफ्ना अरु देशसँग बाँड्ने एउटा अवसरको विस्तार भएको छ । सानो र अविकसित देश भए पनि अधिकारका क्षेत्रमा धेरै अधिकार हामीले प्राप्त गरेका छौं । मुलुक संक्रमणकालबाट विस्तारै राजनीतिक स्थिरतातर्फ उन्मूख हुँदैछ । आशा गरौं, अब पनि नेपाली पत्रकारिताको अवस्थाप्रति विश्वसामु गर्व बाँड्ने दिन आउनेछ ।
(संगिता खड्काद्वारा लिखित प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ पुस २०७४
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...