महराको ४५ वर्षे ‘प्रभावशाली’ राजनीतिक यात्राको अवसान – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

महराको ४५ वर्षे ‘प्रभावशाली’ राजनीतिक यात्राको अवसान

काठमाडौं । ‘कृष्णबहादुर महरा’ विगत दुई दशकदेखि नेपालको राजनीतिमा एक चर्चित, प्रभावशाली र शक्तिशाली नेताको रुपमा पहिचान बनाई सकेका व्यक्ति हुन्।

आफ्नो पद, जिम्मेवारी, हैसियत र योग्यतालाई दुरुपयोग गर्दा माओबादीका निर्विकल्प ‘सेकेन्ड म्यान’ महराको ४५ वर्षे लामो राजनीतिको अवसानको यात्रा निश्चित भएको छ।

सत्ता र शक्तिमा रहँदा बारम्बार बिबादमा आए पनि माओबादी ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’को सदावहार विश्वास पात्र महराको माओबादी सत्ताको नेतृत्व गर्दा होस् वा सत्ता साझेदारीमा होस्, सहभागिता अनिवार्य जस्तै थियो।

महराले पार्टी र सत्तामा बारम्बार अवसर पाईरहनु, उनको योग्यता हो वा माओबादी प्रचण्डको बाध्यता हो भन्ने कुराको चुरो अहिलेसम्म पत्ता लागेको छैन।

तर, यत्ति चाहीँ हो– उनी कम बोल्ने, नरम वोल्ने, ‘डिल’ गर्न सक्ने माओबादीका नेताहरुमा बौद्धिक एवम् प्रचण्डका विश्वास पात्र भने पक्कै हुन्।

माओबादीमा निर्विकल्प नेता महरा २०७६ असोजमा प्रतिनिधिसभाको सभामुख हुँदै गर्दा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि गरेको दुर्व्यवहार प्रकरणमा १३३ दिन जेल बसेर निस्कँदा पनि माओबादीको उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारी पाए।

एउटा विवादस्पद घटना सेलाउन नपाउँदै महरा गत वर्ष पुसमा सुन तस्करी प्रकरणमा नराम्रोसँग मुछिए र आजै मात्रै प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको छ।

उनका छोरा राहुल इलेक्ट्रोनिक सिगरेट (भेप)बाट सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि हाल थुनामा छन्।

पार्टीभित्र र अन्तरपार्टी सम्वन्धमा मात्रै होइन, राष्ट्रिय र अन्तराष्ट्रिय सम्वन्ध स्थापित गर्न सक्ने क्षमता भएका महराको यति लामो राजनीतिक यात्रा अवसानको एक्सन भने आफूलाई शक्ति र सत्ताको सिँढी चढाउने ‘सुप्रिमो’ प्रचण्ड नेतृत्वको सरकारले चाल्नु पर्याे।

मतदाता र धेरै राजनीतिक सहकर्मीका नजरमा एम.सरको छाप छाडेका महराको राजनीतिक अन्त्य र अवसान निष्कृयताले नभई विवादस्पद कर्मले भयो।

शक्ति आरोहणको प्रारम्भ

दुर्गम पश्चिम पहाडी जिल्ला रोल्पामा जन्मिएका महरा मध्यम वर्गिय परिवारमा हुर्किएर एसएलसी पास गरेसँगै उच्च शिक्षा अध्ययनमा लागे।

२०३५-०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका महरा २०३९ मै वामपन्थी झुकाव राख्ने नेपाल शिक्षक संघ रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बने । २०३९ देखि २०४१ सम्म अनेरास्ववियूको केन्द्रीय सदस्य भएका थिए।

पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी यूनियनको पहिले कोषाध्यक्ष र पछि उपाध्यक्ष भएका महराले २०४७ सालसम्म माध्यमिक तहको गणित र विज्ञान शिक्षकको रुपमा काम गरेर आफ्नो नाम कमाएका थिए।

तत्कालिन नेकपा मसालसँग आवद्ध महरालाई संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाइयो र उनी ३२ वर्षे लक्का जवानमै प्रतिनिधिसभाको प्रखर सांसदको रुपमा २०४८ मा चर्चा कमाए। २०४८मा महरासँगै जनमोर्चाका ९ जना निर्वाचित भएका थिए।

२०५२ मा प्रचण्ड नेतृत्वको नेकपा माओबादीसँग आवद्ध भएका महराले ‘जनयुद्ध’ शुरुवात हुँदा पश्चिमाञ्चल क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारी पाएका थिए।

जनयुद्धमा प्रचण्डको विश्वास जितेसँगै महरा २०५३ मै माओबादीको केन्द्रीय सदस्यमा वढुुवाको अवसर पाए। आफ्ना धेरै समकालिनलाई पछि पार्दै महरा २०५५मा पोलिटव्युरो सदस्य बने।

कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकारसँग युद्धविराम गरी वार्ता गर्न माओबादीले २०५८ मा महरालाई वार्ता टोलीको संयोजक बनाएको थियो। उनी त्यसैवेला पार्टी प्रवक्ता समेत थिए।

२०६० मा माओबादीले युद्धविरामी गरी बनाएको माओबादी वर्ता टोलीको महरा फेरि प्रवक्ता भए। २०६२-०६३को जनआन्दोलनपछि बनेको सरकारसँग वार्ता गर्न गठित माओवादी वार्ता टोलीको संयोजक महरा बने।

उनी २०६३ मा गठित व्यवस्थापिका संसदको सदस्य, पार्टी संसदीय दलको नेतासँगै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री भए।

२०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा उनी फेरि सूचना तथा सञ्चार मन्त्री भए। झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ मा महरा गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बने।

२०७१ मा भएको माओबादीको अधिवेशनबाट महरा माओबादीको शक्तिशाली पद महासचिव निर्वाचित भए। २०७३ मा शुरुमा अर्थ र २०७४ मा परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीको अवसर पाए।

माओबादी अध्यक्ष प्रचण्डपछि मर्यादाक्रममा पछि रहेका नारायणकाजी श्रेष्ठ चुनाव जित्न नसकेपछि महराले सदवहार अवसर पाउने गर्दथे। त्यसैले होला २०७४ मा एमालेसँगको तामेलपछिको प्रतिनिधि सभाको निर्वाचनपछि उनी सभामुख चयन भए।

२०६४ मा दाङको क्षेत्र नम्वर २, २०७० मा रोल्पावको क्षेत्र नम्वर १ बाट संविधानसभा निर्वाचनमा निर्वाचित भएका महरा २०७४मा दाङको क्षेत्र नम्वर २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

माओबादी नेतृत्वको आशिर्वादका कारण वारम्बार पार्टी प्रवक्ता र विदेश विभाग प्रमखको जिम्मेवारी पाएका महराले अवसरबाट हालसम्म टाढिनु परेको थिएन।

तर, उनको विवादस्पद कर्मको परिणाम स्वरुप उनी सुन तस्करी प्रकरणको आरोपमा प्रहरीको चिसो छिँडीमा सीमित हुनुपर्ने देखिएको छ ।

राजनीतिक अवसानको शुरुवात

माओवादी लडाकुको शिविर व्यवस्थापनको लागि शान्तिकोषबाट निकासा भएको ५२ करोड रुपैयाँ हिनामिना गरेको उनीमाथि आरोप छ। महालेखा परिक्षकले समेत सो खर्चको लेखापरिक्षण नभएको भन्दै प्रश्न उठाएको थियो ।

२०६७ मा चिनियाँ खुफिया संस्थाका प्रतिनिधिसँग पार्टीको लागि भन्दै ५० करोड रुपयाँ डिल गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका थिए।

सभामुख जस्तो गरिमामय पदमा रहेको बेला २०७६साल असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै उनको चर्को आलोचना भएपछि असोज १४मा राजिनामा दिए।

तत्कालिन प्रधानमन्त्री तथा नेकपा आध्यक्ष केपी शर्मा ओलीको निर्देशनमै उनलाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको थियो। सोही अभियोगमा पुर्पपक्षका लागि थुनामा परेका महरा अदालतको आदेशपछि २०७६ फागुन ५ गते रिहा भएका थिए।

प्रचण्डले वारम्बार सरकारको समिकरण परिवर्तन गरिरहँदा कहिले छिमेकी चीन र कहिले भारतसँग सम्वन्ध गाँस्न र विस्तार गर्न भूमिका खेलेका महराको राजनीतिक मौनतासँगै अवसान अवश्यम्भावी बनेको छ।

पार्टीको आर्थिक स्रोत जोहो गर्ने नाममा नाजायज आर्जन र संकलनमा केन्द्रित भएका महराको त्यो शिक्षकको सम्मान अब विवादस्पद राजनीतिकर्मी भयो, जतिवेला उनले तस्करीको सुन छुटाउन २२ पटकसम्म भन्सारका कर्मचारीलाई फोन गरेर दबाब दिए।

सत्ता र शक्तिको आडमा सँधै कानूनको दायराबाट उम्कँदै गरेका महरालाई कारबाहीको लागि सरकारद्धारा गठित सुन तस्करी जाँचवुझ आयोगको प्रतिवेदनले दोषी ठहर गर्दै मुद्धा चलाउन सिफारिस गरेपछि उनी यो अपराधबाट उम्कन करिव करिव असम्भव देखिएको छ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० चैत्र ५, २०: ०४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० चैत्र ५, २०: ०४

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० चैत्र ५, २०: ०४

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...