‘यस्तो पनि हुँदो रैछ, जीन्दगीमा कहिले–कहिले…’ प्रधानमन्त्रीले किन गाए फत्तेमानको यो गीत? – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि निरास दाहाल

‘यस्तो पनि हुँदो रैछ, जीन्दगीमा कहिले–कहिले…’ प्रधानमन्त्रीले किन गाए फत्तेमानको यो गीत?

काठमाडौं। देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच नयाँ समिकरण बनाएर सरकार निर्माण गर्ने निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरास भएका छन्।

एमालेका मन्त्रीहरुले आफूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर बुधबार साँझ सामुहिक राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहालले यादव खरेलको गीत ‘यस्तो पनि हुँदो रहेछ, जीन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु यौटा भुल गरेँ…’ गाएर सुनाए।

एमालेको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका रघुबीर महासेठसहित आठ जना मन्त्रीहरुको एक–एक गरेर राजीनामा बुझेपछि दाहालले धेरै टिप्पणी गरेनन् र आफ्नो प्रतिक्रिया भावानात्मक संवेगमा बगेर अभिव्यक्ति दिए।

उनले एउटा कुरा मात्र भन्छु भन्दै प्रसिद्ध गायक फत्तेमान राजभण्डारीले गाएको नातीकाजीले संगित भरेको यादव खरेलको गीत गाएका हुन्। प्रधानमन्त्री दाहालले सो राजीनामा आफूले विहीबार मात्रै स्वीकृत गर्ने बताएका थिए।

दाहालले फत्तेमानको यो गीत सम्झनुको अनेक कारणहरु हुनसक्छन् । तीमध्ये दाहालले राजनीतिक निर्णय लिनु पर्दा नेपाली कांग्रेसलाई धोखा दिँदै एमालेलाई विश्वास गर्ने र एमालेबाटै फेरि धोखा पाउनु नै हो।

शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकालाई अवमुल्यन गर्दै उनलाई राष्ट्रपति बन्नबाट बन्चित गर्नु दाहालको पहिलो भूल थियो।

दोश्रो भूल – कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा बसेर २०७४ कात्तिक १७ गते विपक्षी दल नेकपा एमालेसँग समिकरण गर्दै पार्टी एकीकरणको घोषणा गर्नु।

तेश्रो भूल – गत फागुनमा सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सत्ताबाट निकालेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्ताको सहयात्री बनाउनू।

दाहालले जति पटक कांग्रेसलाई धोखा दिँदै एमालेसँग सहकार्य गरे, त्यति नै पटक एमालेबाट धोखा पाइरहेका छन्।

२०७२ असोजमा एमालेसँगको समिकरणमा आलोपाले प्रधानमन्त्री बन्ने सम्झौता दाहालले गरेका थिए। तर २०७३ मा दाहाललाई एमालेले सत्ताको नेतृत्व दिन चाहेन र धोखा पाए । धोखा पाएका दाहालले फेरि कांग्रेसको समर्थन र सहयोगमा प्रधानमन्त्री बने।

तर, दाहालले कांग्रेसलाई २०७४ मंसिरमा हुने आमनिर्वाचनको मुखमा धोखा दिँदै एमालेसँग समिकरण गर्न पुगे।

२०७५ जेठ ३ गते नेकपा एमालेसँग माओबादी पार्टी एकीकरण गरी नेकपा बनाउँदा ओलीसँगै आफू पनि दोश्रो मर्यादाक्रममा अध्यक्ष बने। तर त्यसको एक वर्ष नपुग्दै ओलीबाट धोखा पाएको भन्दै पार्टीमा विद्रोह गर्दा ओलीले बहुमतको डण्डा चलाएर पेलानमा परेका थिए।

ओलीले दुई दुई पटक संसद भङ्ग गरेर संविधान च्यातेको भन्दै उनीविरुद्ध खनिएका दाहालले २०७९ को आम निर्वाचनमा कांग्रेससँग मिलेर ३२ सिट हात पारेपछि २०७९ पुस १० गते फेरि एमालेसँगै समिकरण गरी सरकारको नेतृत्व लिन सफल भए।

यसरी कांग्रेसलाई धोखा दिन बानी परिसकेका दाहालले ०८० फागुन दोश्रो साता पुनः कांग्रेसलाई सत्ता समिकरणबाट गलहत्याएर धोखा दिएका छन्।

हालै सदनको वैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए ‘प्रधानमन्त्रीज्यू, तपाईंले यसरी राजनीतिक दलहरुलाई धोखा दिँदै जाने र भोलीका दिनमा धोखा पाएकाहरु एक ठाउँमा जम्मा भए पनि तपाइँको हालत के होला?’

आखिर असार १८ गते भयो पनि त्यही – दाहालबाट धोखा पाएकाहरु र धोखा दिनेहरु कांग्रेस र एमाले एकैठाउँमा उभिएका छन् ।

प्रधानमन्त्री दाहालले यही घटनाक्रमलाई सम्झिएर हुनु पर्छ – आफूले विश्वास वा माया गरेको दल एमालेले साथ छाड्दा विरक्त भएर फत्तेमानको यो गीत सम्झिएको हुनुपर्छ।

हुन त यो गीत यादव खरेलले जीवन भोगाईलाई आधार मानेर लेखेका होलान । तर अहिले यो गीतको भावले दाहाललाई चसक्कै छोएको सहजै बुझ्न सकिन्छ।

अबको राजनीतिक यात्रामा सम्भवत दाहालले यही गीतको भावलाई सम्झिएर कांग्रेसबाट पाएको माया र प्रेमलाई धोखा दिँदै एमालेलाई माया गर्दाको परिणाम धोखा पाएँ भन्दै ‘जीन्दगीमा गरेको ठूलो भूल नै एमालेलाई साथ दिनु हो’ भन्ने निष्कर्षमा पुगेको हुनुपर्छ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८१ असार २०, १५: १०

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८१ असार २०, १५: १०

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८१ असार २०, १५: १०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...