२०३६ को जनमत सङ्ग्रह – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

२०३६ को जनमत सङ्ग्रह

जननेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाप निति अवलम्बन गरी २०३३ पौष १६ गते गणेशमान सिंह समेत दर्जर्नौ नेता कार्यकर्ताहरु सहित निर्वासनबाट स्वदेश प्रवेश गर्नुभयो । नेपाली काङ्ग्रेस र नेताहरुमाथि त्यतिबेला नेपालमा दर्जनौ मुद्दा चलिरहेका थिए । कतिपय मुद्दामा फाँसी हुनसक्ने निर्णय भइरहेका थिए । नेपालमा जस्तोसुकै अवस्था सिर्जना भए पनि त्यो भोग्ने अठोटका साथ गरिएको निर्णय थियो – राष्ट्रिय मेलमिलाप नीति ।
बी.पी. कोइराला र अन्य नेता कार्यकर्ताहरु नेपाल प्रदेशपछि एयरपोर्टबाटै जेल लगिएको थियो । गाडीबाट आएकाहरु पनि सम्बन्धित क्षेत्रमा पक्राउ परेका थिए । तर निर्वासन त्यागेर नेता कार्यकर्ताहरु स्वदेश फर्केपछि नेपालभित्र एक प्रकार छुट्टै उत्साह फैलियो । कार्यकर्ता एवं विद्यार्थीमा चेतना र प्रेरणा जागृत भएको थियो । पञ्चायती निरङ्कुशताभित्र राजनीतिक गतिविधि एक प्रकारको शिथिल जस्तै भएको थियो । २०१७ काण्डपछि राजनीतिक पार्टी र सङ्गठनहरुमा प्रतिबन्ध लागेको हुँदा सभा जुलुस । हड्ताल आदि बन्द भएका थिए ।
२०२६ मा विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतद्वारा वैधता प्रदान गरेता पनि राजनीतिक÷वैचारिक ढङ्गबाट सङगठित हुने अवस्था थिएन । २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भयो । नयाँ शिक्षा योजना लागु भएपछि पनि विद्यार्थी आन्दोलन देशव्यापी रुपमा फैलिएको हो । त्यसबेला सयौं विद्यार्थी घाइते भए । सयौं पक्राउ परेको घटना आज इतिहास बनेको छ ।
यस क्रममा २०३५ को चैत्र २४ गतेदेखि विद्यार्थी आन्दोलन हड्ताल सुरु भो । अघिल्लो दिन २३ गते पाकिस्तानका पूर्व राष्ट्रपति जुल्फीकार अली भुट्टोलाई फाँसी दिइएको घटनाबाट विद्यार्थीहरुमा निरङ्कुशता विरुद्व आक्रोस फैलियो । केही दिन अघि तात्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले एउटा पञ्च भेलामा बी.पी. कोइरालालाई फाँसी दिनुपर्छ भनेका थिए । अन्य विभिन्न कारण सहित विद्यार्थी जुलुस र हड्तालले गति लियो । सयौं गिरफ्तार भए । घाइते भए । त्रिवि र अन्य क्याम्पसहरु बन्द गरिए ।
यसैगरी २०३६ बैशाख १० का दिन अस्कल कलेजमा सम्पूर्ण विद्यार्थीहरु भेला भएका थिए । करीब तीन हजार विद्यार्थी भेलामा प्रहरी दमन सुरु भयो । मण्डले प्रवृतिका विद्यार्थीले पनि प्रहरीलाई सहयोग गरेका थिए । छात्रावासमा पसेर विद्यार्थीका सरसामान लुट्नुका साथै कैयौं विद्यार्थीलाई छतछतबाटै फ्याकिँयो । त्यस दिन करीब २०० पक्राउ परे । दर्जनौं घाइते भए ।
अस्कल काण्डपछि त्रिवि लगायत काठमाडौं उपत्यकाका सबै क्याम्पस बन्द गरिए । त्यसपछि हेटौंडा, चितवन, जनकपुर, सिरहा, सप्तरी, नवलपरासी, बारा, पर्सा आदिमा पनि विद्यार्थी दमनका विरुद्व विभिन्न आन्दोलन हड्ताल भएका थिए । बैशाख १५ गतेका दिन बी.पी. कोइरालालाई घरमा नजरबन्द गरियो भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरि जेल पठाइयो । देशभरीबाट करीब तीन सय नेता, कार्यकर्ता पक्राउ परेका थिए ।
जेठ ७ गते शाही आयोग र विद्यार्थी प्रतिनिधिका बीच वार्ता सम्झौता भयो । विद्यार्थीका धेरै माग पुरा गरिएको थियो । तर वार्ता गरेर फर्किएका नेविसंघका नेता बलबहादुर केसी. अनेरास्ववियुका शरणविक्रम मल्ल र टंक कार्कीलाई एउटा मण्डले जुलुसले कालो मोसो दलेर पिट्तै गद्दार नेता मुर्दावाद भन्दै ठेलामा राखेर घुमाएको थियो । देशभित्र आन्दोलनको चरम रुपसँगै देशविदेशका पत्रपत्रिकाले आन्दोलनको समर्थन र दमनको विरोधमा लेख्न थाले ।
अन्ततः २०३६ जेठ १० गते तात्कालिन राजा विरेन्द्रद्वारा जनमत सङ्ग्रह गराउने घोषणा भयो । यस घोषणालाई बी.पी.ले “राष्ट्रिय एकताको सबभन्दा ठूलो सफलता हो । जनताले यस महान् अवसरमा स्वतन्त्र र निर्भीकतापूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्छ ।
यो प्रजातन्त्र वा पञ्चायतको बीचको रोजाई होइन, यो प्रजातन्त्र या विनाशको रोजाइ हो । यस निर्वाचनद्वारा राष्ट्रको अस्तित्व जोगिनुका साथै प्रजातान्त्रिक एवं सुसङ्गठित राष्ट्र बन्ने अवसर मिल्नेछ । यस ऐतिहासिक कदमप्रति सबैले सहयोग पु¥याउने कुरामा विश्वस्त छु”–भन्नुभएको थियो ।
यसरी नै विभिन्न पार्टीका नेता एवं स्वतन्त्र व्यक्तित्व, पत्रपत्रिका साथै विदेशबाट समेत जनमत सङ्ग्रहको घोषणालाई स्वागत गरिएको थियो । जनमत सङ्ग्रह घोषणापछि मुलुकमा, जनतामा एक प्रकारको उल्लास र उमंग छायो । २० वर्षपछि स्वतन्त्रतापूर्वक हिँडडुल गर्न सभा समारोह गर्न बोल्न पाइएको थियो । ‘जनमत सङ्ग्रह’लाई नेपाल कम्युनिष्ट पार्टी मनमोहन समूह र पुष्पलाल समूहले समर्थन गरे पनि माले र अन्य केही समूहले बहिष्कार गरेका थिए ।
‘जनमत सङ्ग्रह’ घोषणापछि पार्टीहरुले ‘प्र’ राखेर लेख्न बोल्न पाएका थिए । प्र. अर्थात् प्रतिबन्धित । प्रनेका, प्रनेकपा आदि । यो पनि एउटा महत्वपूर्ण उपलब्धि थियो । जनमत सङ्ग्रहको घोषणापछि समाजका सबै शिक्षक, कर्मचारी, किसान, मजदूर विभिन्न संघसंस्थाहरु आन्दोलित भएका थिए । दुई दशकपछि यस्तो अवसर मिलेको थियो ।
नेताहरुले देशव्यापी रुपमा भएका सभा समारोहमा सम्बोधन गर्ने क्रम बढ्यो । २०३६ जुठ २५ गते टुँडिखेलमा बी.पी गणेशमान, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी लगायतबाट बहुदल प्रचारप्रसार अभियान सुरु भयो । बी.पी. ले साउन ४ गते विराटनगरमा असोज ४–८ सम्म पोखरा, दमौली, तनहुँ, स्याङ्जामा अनि पछि क्रमशः नेपालगञ्ज, धनगढी, बर्दिया, जनकपुर, परासी, जलेश्वर, तौलीहवा, भैरहवा, चितवन, राजविराज, वीरगञ्ज आदि क्षेत्रमा बी.पी.ले सम्बोधन गर्नुभएको थियो ।
कवि लेखकहरुद्वारा ‘सडक कविता क्रान्ति अभियान चलाइयो । जनमत प्रचारमा यस अभियानको ठूलो प्रभाव रहेको थियो । गल्ली चोकहरुमा भेला भएर कविता वाचन गर्ने हुँदा श्रोताहरु पनि प्रशस्तै भेला हुन्थ्ये । जनमत सङग्रहको घोषणाले राजाका पृष्ठपोषक÷मण्डले र यस्ता कृतत्वहरुको चित्त बुझेको थिएन । यसकारण प्रारम्भदेखि नै बितण्डा मच्चाउँदै आएका थिए ।
निर्दलीय पञ्चायती व्यवस्था रुचाउनेहरुलाई बहुदलीय शब्द नै मन परेको थिएन । त्यसो त तात्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले विभिन्न सुविधा वन फडानी, काठ तस्करी कालाबजारीलाई आयात निर्यातको सुविधा यस्तै कतिपय कुराबाट करोडौंको लगानी बहुदलको विरोधमा गरेका थिए । यतिले नपुगेर देशभरी विभिन्न आक्रमणकारी काण्डहरु मच्चाइएको थियो । यीमध्ये बी.पी. कोइरालाकै हत्या गर्ने योजना अनुसार स्याङ्जा काण्ड (२०३६ असोज ८) जलेश्वर काण्ड, बनेपा काण्ड, गोर्खा काण्ड, गुल्मी काण्ड, ताप्लेजुङ काण्ड, पाँचथर काण्ड, सुनसरी, मोरङ, इलाम, धादिङ आदि काण्डबाहेक विभिन्न ठाउँमा सभा बिथोल्ने, बहुदलीय प्रचार समितिका कार्यालय तोडफोड गर्नेजस्तो पचासौं काण्डहरु रचिए ।

निर्वाचन र परिणाम

२०३७ बैशाख २० गते जनमत सङ्ग्रहका निम्ति निर्वाचन भयो । २०३६ जेठ १० गते “पञ्चायती व्यवस्था राखी त्यसमा सामयिक सुधार गर्दै जाने बहुदलीय व्यवस्था स्थापना गर्ने यी दुई कुरामध्ये जनमत बुझ्न जनमत सङ्ग्रह गर्ने घोषणा भए अनुरुप निर्वाचन सम्पन्न गरेर जेठ १ गते परिणाम प्रकाशित गरियो । त्यतिबेलाको मतदाता सङ्ख्या ७१,९२,४५१, खसेको मत ४८,१३४८ (६६.९२ प्रतिशत), सदर मत ४४४१४१७, सुधारिएको पञ्चायतको पक्षमा २४३३४५२ (५४.७९%), बहुदलीय शासन व्यवस्थाका पक्ष २००७१६५ (४५.२१%), यसरी सुधारिएको पञ्चायती व्यवस्था (पहेलो रङ्गको मतपत्र) को विजय गराइयो । बहुदलीय व्यवस्था (नीलो रङ्गको मतपत्र) का पक्षमा हार देखाइएको थियो ।
त्यतिबेला कसैले पनि यस्तो मत परिणामको परिकल्पना गरेका थिएनन् । पञ्चायत पक्षले धेरै ठाउँमा चुनाव प्रचार समेत गर्न सकेका थिएनन् । बहुदलका पक्षका अगाडि बोल्न सक्तैनथे । बहुदलीय सभामा ५० हजारको सभा हुँदा पञ्चायती पक्षमा ५÷६ हजार पनि हुँदैन थिए ।
जनमत सङ्ग्रहको परिणामपछि बी.पी. कोइरालाको भनाई–“प्रजातान्त्रिक परिपाटी अनुसार र मैले पहिलेदेखी नै भनि आएको पनि हुँ, अहिलेको जनमत सङ्ग्रहको घोषित परिणाम जस्तोसुकै अप्रत्यासित र व्याख्या गर्न नसकिने भए तापनि म स्वीकार गर्छु । हाम्रो पक्षले प्राप्त गरेको मत बडो गहकिलो र प्रशस्त ठूलो छ । यो मत प्रजातन्त्रप्रति सम्बद्ध मत हो । म सम्बद्ध सबै पक्ष कार्यकर्ता, तरुण विद्यँर्थी वर्गको प्रशंसा गर्दछु । प्रजातान्त्रिक अधिकार र व्यवस्थाका लागि मेरो सधै प्रयत्न रहिरहनेछ ।”
गणेशमान सिंहले यस परिणामलाई “निर्लज्जातासाथ गरिएको धाँधलीको संज्ञा दिँदै सरकारी पक्षको पूर्ण सुनियोजित षड्यन्त्र हो–भन्नुभयो । कृष्णप्रसाद भट्टराईले जनमतको निर्णयले नेपाली जनताको विवेकको ठूलो अपमान भएको बताउनुभएको थियो । “जनमतको निर्णयलाई स्वीकार गर्दै यो भन्दछु–परिणाम आश्चर्यजनक र शङ्कास्पद देखिन्छ – भनेर गिरिजाप्रसाद कोइरालाको अभिव्यक्ति थियो ।

पञ्चायती निर्वाचन बहिष्कार

जनमत सङ्ग्रह परिणामपछि संविधान संशोधन भयो । जसअनुसार पञ्चायतीभित्र पनि आम निर्वाचनबाट राष्ट्रिय पञ्चायत बन्ने भयो । यसैको परिपूर्तिका लागि २०३८ बैशाख २० गते निर्वाचन तिथि घोषणा गरियो । यता पञ्चायती संविधान संशोधनको प्रायः सबै दल र नेताहरुबाट विरोध भयो । यस संविधानका आधारमा चुनावमा सहभागी नबने निर्णय गरेर नेपाली काङ्ग्रेसले बहिष्कारको बाटो रोज्यो ।
प्रजातान्त्रिक शक्तिहरुको सहायता विना हुन लागेको यो निर्वाचन निरर्थक अभ्यास हो । हामी यसमा सहभागी हुनेछैनौ । आगामी चुनावमा उठ्ने उम्मेदवारहरु दरिद्र चरित्रका हुने भएकाले मतदान गर्न नजान म आफ्ना समर्थकहरुलाई आव्हान गर्दछु ।” बी.पी. कोइरालाको यस भनाईसँगै नेपाली काङ्ग्रेसले पचहतरै जिल्लामा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन ग¥यो । काठमाडौं लगायत केही जिल्लाहरुमा बी.पी. गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका केन्द्रीय नेताहरु सहभागी भएर बहिष्कार आन्दोलनलाई सक्रिय पारेका थिए ।
बहिष्कार आन्दोलनमा सयौं नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । नेपाली काङ्ग्रेसले चुनाव बहिष्कारलाई जनतामाझ पुग्ने एउटा माध्यमका रुपमा लिएको थियो । यसले एब प्रकारको आन्दोलनको रुप लिएको थियो । निकै प्रभावकारी भयो–यो बहिष्कार आन्दोलन । यसबाट जनतामा जागरण ल्याउन ठूलो योगदान पुगेको थियो । (डा. तुलसी भट्टराईद्वारा लिखित ः वी.पी. कोइराला र नेपाली कांग्रेस)

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ मंसिर १८, ०९: ३९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ मंसिर १८, ०९: ३९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ मंसिर १८, ०९: ३९

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...