आज जनैपूर्णिमा पर्व मनाइँदै – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

आज जनैपूर्णिमा पर्व मनाइँदै


काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने शास्त्रमा उल्लेख छ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

विभिन्न थरि गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।

यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ।

यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
  • २०८३ भाद्र १२, ०७: २४

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०८३ भाद्र १२, ०७: २४

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०८३ भाद्र १२, ०७: २४

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...