निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित निर्वाचनमा आयोगलाई सबैले सहयोग गर्नुपर्छ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित निर्वाचनमा आयोगलाई सबैले सहयोग गर्नुपर्छ

१.निर्वाचनको माहौलले नेपाललाई छोपेको छ । तिहारको रमझमभित्रै परेकोले निर्वाचनले खासै महत्व पाएको छैन र पनि एकमहिनाभित्रै आम निर्वाचन हुने पक्का भएको छ । मंसिर ४गते हुने निर्वाचन नयाँ संसदको तयारी हो र त्यसबाट मुलुकले अर्को प्रजातान्त्रिक विकासको क्रम थपेको मानिने छ ।

२.आम निर्वाचन २०७९ को रौनक सुरु भएको छ र निर्वाचन आयोगको आचार संहिताले कात्तिक १८गतेबाट मात्र औपचारिकरुपमा उम्मेदवारहरुको निर्वाचन प्रचार प्रसार गर्न पाइने छ सार्वजनिक रुपमा । तर एउटा कुरामा भने नागरिक समाजले टिप्पणी समेत गर्दै आएको छ , दलहरु कुन एजेन्डामा निर्वाचनमा जाँदैछन् त ? अर्थात् एजेन्डाविहीन निर्वाचन हुँदैछ । दलहरुका असफलताहरुको गणनामा स्वतन्त्रहरुको ध्यान गएको छ र एक्लो व्यक्तिले समाजमा सुधारको प्रस्थानका लागि आवाज बुलन्द गर्न त सक्छ तर उसले कार्यक्रम तयार गरेर कार्यान्वयन गर्न सक्दैन भन्ने आवाज पनि उठेको छ ।

३.प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन अपरिहार्य तत्वको रुपमा यसकारणले लिइन्छ कि यसले शासन गर्ने व्यक्ति वा समूहको निर्णय गर्नेगर्छ । निर्धारण गर्नेगर्छ । प्रजातन्त्रको शासन प्रणाली जस्तो तय गरेको भए पनि जनतामुखी हुनेछ र त्यसमा जनताको धारणालाई प्रतिनिधित्व गराउने चलन भनेको मतदानद्वारा निर्धारण गरिने हुन्छ । चाहे राष्ट्रपतीय प्रणाली होस् या संसदको वहुमतले छानेको प्रधानमन्त्रीय प्रणाली होस्, त्यसको मुख्य केन्द्रीय तत्व भनेको संसद नै हुनेछ । त्यसकारणले मेरो विचारमा जुनसुकै प्रजातान्त्रिक प्रणाली जहिले पनि संसदको सर्वोपरितालाई स्वीकार गरेको हुन्छ नै ।

४.संसदको अवधि कसले तोक्ने ? संविधानले वा कानुनले या प्रतिनिधि सभाको नियमावलीले या निर्वाचन आयोगले ? हामीले भन्ने गरेका छाँै , संविधानसँग बाझ्ने वा नमिल्दा सबै कानुन स्वतः खारेज हुन्छन् । तर मंसिर ४ गते निर्वाचन हुने दिन आई सक्यो तर प्रतिनिधि सभाको कार्यकालका बारेमा कुनै ठोस तर्क आएको छैन । यही समीक्षकले सबैभन्दा पहिले लेखेको थियो, असोज २गते नै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त हुनुपर्छ । एउटा तर्कमात्र थियो समानुपातिकतर्फको मनोनयनको दिनभन्दा अघिल्लो दिनका लागि । तर संविधानले जे बोलेको थियो , त्योसँग कार्यकालको निर्णय मिलेन भन्ने पनि छन् । निर्वाचन आयोगको आचार संहिताले संविधान र कानुनको व्याख्या गरेको पाइयो किनभने प्रतिनिधि सभाको कार्यकाल सुरु भएको पाँच वर्ष भन्ने संवैधानिक प्रावधानको कहाँ भयो त कार्यान्वयन ? किन निर्वाचन फागुन २१को वरिपरि भएन त ? सरकार किन अलमलमा परेको थियो ? यसबारेमा बहस सुरु भएको छ र आगामी दिनमा यसबारेमा निर्वाचनभन्दा पहिले नै संसदमा छलफल गरिनु पर्ने र कानुनले स्पष्टरुपमा निर्वाचन आयोगलाई र नेपाली जनतालाई सुसूचित गरिनै पथ्र्यो , भएन ।

५.यो पटक एउटा कुरामा धेरै चर्चा छ, निर्वाचन आयोगको आचार संहितामा कडाइ । त्यसो त निर्वाचन आयोगले आफ्नो सीमाभित्र रहेरै आचार संहितालाई कार्यान्वयन गर्न थालेको होला तर पनि केही कुरामा भने नागरिक समाजले संविधान र कानुनले तोकेको भन्दा पनि कडाइ देखियो भन्ने पनि देखिएका छन् । कतिपय कानुनमा भएका कुराहरुको बेलामा जानकारी उम्मेदवारहरुलाई नगराएर र उम्मेदवारहरुलाई चेतना नभएर पनि चर्चा बढी नै भएको होला । खासगरी निर्वाचन खर्चको हिसाब किताब बेलामा नबुझाएकाहरुलाई गरिएको जरिबानाले तरंग नै ल्याएको छ र दलहरुले आफ्ना कार्यकर्ताहरु र उम्मेदवारहरुलाई बेलैमा जानकारी नदिएर व्यक्तिले जरिबानाको मारमा पर्नुपरेको देखिन्छ । एकातिर संविधान र निर्वाचन कानुनले स्थानीय तहमा समावेशीको लागि दलित महिला , महिला, जनजातिको व्यवस्था गरेकै छ अनिवार्यरुपमा र कतिपय गाउँ पालिकाहरुका वार्डमा त्यस्ता उम्मेदवाहरु पनि छैनन् होला या भए पनि जोजो हारेका होलान् , तिनलाई निर्वाचन जरिबानाको कुरा थाहा पनि थिएन होला । भएको निर्वाचन कानुनको वास्ता नगर्दा र दलहरुले त्यसमा दायित्व नलिँदा उम्मेदवारले आगामी निर्वाचनमा उठ्नै नपाउने गरी दण्डित हुनुपर्ने अवस्था देखिन्छ भने यसले आगामी निर्वाचनमा सचेतना बढ्ने त छ तर उम्मेदवार हुनेको संख्यामा न्यूनता आउन सक्नेछ । स्वतन्त्र पर्यवेक्षकहरु भन्न थालेका छन् , निर्वाचन आयोगको काम भनेको निर्वाचनमा सहजीकरण गर्ने हो र जनतामा निर्वाचनप्रति विश्वसनीयता कायम गराउने हो , हतोत्साहित गराउने पनि होइन र नेपाल सरकारलाई राजस्व वृद्धि गराउने जिम्मा पनि होइन । यसमा दोष त सांसदहरुकै हो जसले यी व्यावहारिक समस्याका बारेमा कहिल्यै सोचेनन् र कानुनमा भएको यो प्रावधानका बारेमा संसदमा छलफल नै गरेनन् । अहिले आएर त्यसको दोष निर्वाचन आयोगलाई दिन त मिल्दैन र पनि जनतामा भर्खरै मात्र यसबारेमा बहस हुन थालेको भने पक्कै हो ।

६.निर्वाचन बेलामा नै हुनुपर्छ । निर्वाचनले आगामी सरकारमात्र बनाउने होइन, नयाँ नयाँ विचारलाई देशको संसदमा प्रवेश गराएर नयाँ नेपालको विकासमा नयाँ इँट्टा थप्ने काम गर्नेछ । आखिर त्यस्तो प्रतिनिधि छान्ने काम भनेको निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र र निर्भय परिवेशमा हुने निर्वाचनले मात्र सम्भव छ । आयोगले पनि ती कुरामा बढी नै ध्यान दिने र मतदाता शिक्षामा जोड दिनु पर्छ । निर्वाचन खर्चका बारेमा सूक्ष्म अध्ययन गर्नका लागि गरिने खर्चभन्दा आयोगले जनतालाई कस्ता प्रतिनिधि छान्ने र निर्वाचन सम्बन्धी अति आवश्यक जानकारीका बारेमा आम जनतालाई सूचना उपलब्ध गराउने कुरामा बढी ध्यान दिनु पर्ने पो हो कि ?

७.निर्वाचन आयोगले निर्वाचन खर्चको जुन सीमा तोकेको छ , त्यसले के कुराको इंगित गर्छ भने त्यो सीमा नाघिनु हुँदैन तर त्यो सीमाकै वैज्ञानिक आधार पनि छैन र त्यति खर्च गर्नै नपर्ने पनि हुँदैन र ? मत किन्ने वा बेच्ने कुरालाई अपराधको श्रेणीमा कसरी लैजाने भन्ने कुरा त चेतनाले मात्र सम्भव छ र निर्वाचन शिक्षाको अत्यधिक प्रचारले मात्र सम्भव हुनेछ । मुलुकमा जनतालाई निर्वाचनका बेलामा मात्र होइन, प्रजातान्त्रिक संस्कारको विकासको क्रममा निरन्तर शिक्षाको काम होइन र ? हो नि त ।

८.निष्पक्षता अत्यन्त जटिल हुने रहेछ निर्वाचनका क्रममा । चाहे त्यो आयोगको काम कार्बाहीमा देखिने गरी भएका काममा, चाहे त्यो निर्वाचनका क्रममा गएका कर्मचारी या अधिकृतका काममा या पर्यवेक्षकको रुपमा गएकाहरुको काममा । कतिपय कुरामा निष्पक्ष छु भन्नुभन्दा पनि बाहिरबाट समेत देखिनु पर्ने रहेछ निष्पक्षता । अहिले त्यो विश्वसनीयता हामीमा अझै देखिन सकेको छैन ।

९.त्यसो त निर्वाचनको क्रमबद्ध विकासक्रममा त्यो मिल्दै जाला र निर्वाचित प्रतिनिधिहरुको विश्वसनीयतामा समेत अरु विश्वास थपिएला । स्वतन्त्र पर्यवेक्षकहरु त संवैधानिक आयोग तथा सर्वोच्च अदालतमा समेत दलगत भागबन्डाको गन्ध पाउँछन् र ती संस्थाहरुले गर्ने काममा कसले के निर्णय कसका लागि किन गरेको होला भनेर अर्थ लगाउने र व्याख्या गर्ने गरेका पाइन्छन् । कम्तीमा पनि अहिले हुन लागेको आम निर्वाचनमा त्यस्तो पक्षधरता कतैबाट पनि नदेखियोस् किनभने यसैपनि हाम्रो प्रजातान्त्रिक विकासमा अरु प्रजातन्त्रवादी देशहरुले न्यून रुचि देखाउन थालेको प्रष्टै देखिन थालेको छ ।

१०. र अन्त्यमा, अघिल्लो हप्ता र यही हप्तामा तीनजना पहिचानका लागि जीवनभर लड्ने मैञादेवी श्रेष्ठ, गौरी राणा जोशी र प्राध्यापक ओम गुरुङ् जस्ता महानुभावहरुको निधन भएको छ । कात्तिक ६गते विहानै दानवीर प्रजातन्त्रवादी नेतृ मैञादेवी श्रेष्ठको निधन भयो, उहाँ नेपाली कांग्रेसका तर्फबाट बारम्बार सांसद हुनु भएको थियो । त्योभन्दा पनि महिला शिक्षा र समाज विकासका लागि दानवीरको रुपमा परिचित श्रेष्ठले क्याम्पस तथा स्वास्थ्य संस्थाहरु खोलेर समाजको सेवा गर्नु भएको थियो । दानका लागि परिचित श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै गरी असोज ३१मा मानवशास्त्री तथा जातीय पहिचानका लागि अनवरत संघर्षरत प्राध्यापक ओम गुरुङ्को अर्बुद रोगका कारणले निधन भएको थियो । महिला अधिकारका लागि जीवनभर शिक्षामार्फत् संघर्षरत प्रजातन्त्रवादी नेतृ गौरी राणा जोशीको अमेरिकामा निधन भएको दुःखद समाचार सामाजिक सञ्जालबाट पाइएको छ । राजा महेन्द्रले जननिर्वाचित संसद र बीपी कोइरालाको सरकार विघटन गरेको विरोधमा २०१७साल फागुन ७गते राजा महेन्द्रलाई कालो झन्डा देखाएबापत जेल परेकी र पछि जेलबाट छुटेपछि सहिद स्मारक विद्यालय खोलेर सचेत नागरिक तयार गर्ने र महिला शिक्षालाई जोड दिने काम गर्नुभएकी र नेपालको प्रजातन्त्र स्थापनार्थ भएका सबै आन्दोलनमा सक्रियताका साथ भाग लिएकी गौरी राणा जोशीको निधनले नेपाली शिक्षा विकासक्रमकी एकजना लडाकुको रिक्तता थपिएको छ र उहाँको निधनमा श्रद्धासुमन व्यक्त गर्दछौँ । परमधानबासी श्रेष्ठ, राणा जोशी तथा गुरुङको आत्माले शान्ति पाओस् भन्दै श्रद्धासुमन व्यक्त गर्दछौँ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
  • २०७९ कार्तिक ७, १४: २५

१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...

मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
  • २०७९ कार्तिक ७, १४: २५

-शुकदेव दाहाल, नुवाकोट नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७९ कार्तिक ७, १४: २५

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...