काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तासीन दुई प्रमुख घटकको अडानका कारण नेपाली कांग्रेससहितको समर्थनमा गठित पूर्बवर्ती एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार एक्कासी ढल्न पुगेको थियो । त्यसपछि एमाले र माओवादीबीचको नयाँ समीकरण पनि धेरै टिक्न सकेन । कांग्रेस र एमालेवीच गत असार १७ गते भएको सात बुँदे सहमतिपश्चात ३० असारमा केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए । सहमति अनुसार ओली र शेरबहादुर देउवावीच आधा आधा समय सरकारको नेतृत्व गर्नेछन् । २०८४ को आम निर्वाचन देउवा नेतृत्वको सरकारले गर्ने सहमतिमा उल्लेख छ ।
अघिल्लो पटक धितोपत्र बोर्डका अध्यक्ष नियुक्तिको विषय जसरी पेचिलो बनेको थियो, यो पटक त्यसैगरी नेपाल राष्ट बैंकको रिक्त गभर्नर नियुक्तिको विषयले सत्तारुढ प्रमुख दुई घटक नेपाली कांग्रेस र एमालेवीच लामो समयदेखि खटपट चल्दै आएको छ । सरकार गठनको नौ महिना पूरा भएको छ । तर, दुई पार्टीका बीचमा जुन सहमति भएको थियो, त्यसमा प्रगति नभएको भन्दै कांग्रेसभित्रैबाट असन्तुष्टि बाहिर आइरहेको छ । र, यो असन्तुष्टि अझै मत्थर भएको छैन । त्यहि असन्तुष्टीका बीच चाहे प्रधानमन्त्री ओली हुन् या कांग्रेस सभापति देउवाले सधैंजसो एउटै कुरा दोहोर्याउदै आएका छन्, कांग्रेस एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहन्छ । अर्कातिर माओवादीका नेताहरुले सत्तागठबन्धनमा समस्या आएको भन्दै तत्काल सरकार परिवर्तन हुने र आफूहरुले कांग्रेसलाई समर्थन गर्ने बताउदै आएका छन् । यसैबीच, गृहमन्त्री रमेश लेखकले गभर्नर र अन्य कुनै विषयले सरकार संकटमा नपरेको प्रष्ट पारेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरकार ढल्दैन भनेर भनिरहनु परेको छ भनी प्रष्टिकरण दिनु परेको थियो ।
माओवादी अध्यक्ष दाहालले नयाँ वर्षको पूर्वसन्ध्यामा गृहजिल्ला चितवनमा पुगेर नयाँ वर्षसंगै नयाँ सरकार गठन हुने बताएका थिए । उनले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई आफूहरुले बाहिरबाटै सहयोग गर्ने र आवश्यक भएमात्र सरकारमा सहभागी हुने अभव्यिक्ति दिएका थिए । चितवनमै पुगेर प्रधानमन्त्री ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएका दाहाललाई जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताए । यसअघि फागुन ५ गते लुम्बिनी प्रदेश सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने भन्दै अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका थिए । उनले पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहो¥याएका थिए ।
कांग्रेस देउवाले सरकारको विरोधमा बोल्न आवश्यक नभएको बताएका छन् । केही कमी कमजोरी भए त्यसलाई सच्याउँदै अघि बढ्नुपर्ने भन्दै सार्वजनिक रूपमा सरकारका विरुद्धमा बोल्न आवश्य नभएको बताएका हुन् । सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दै गइरहेको बेला कांग्रेसले गत बिहीबार बोलाएको पदाधिकारी, पूर्वपदाधिकारी र संघीय सरकारमा सहभागी मन्त्रीसहितको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । यसअघि कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन फागुन २६ गते धनगढी पुगेका कांग्रेस सभापति देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको भन्दै अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारेका थिए ।
सरकारले काम गर्न सकेन भनेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने बताउन थालेका छन् । सरकार सञ्चालनका लागि गठित द्विदलीय संयन्त्रका सदस्यसमेत रहेका महामन्त्री थापाले बुधबार बाराको बडहर्वामा आयोजित कार्यक्रममा बाहिर जस्तोसुकै हल्ला भए पनि सत्यता नभएको बताएका हुन् । कांग्रेस–एमालेमा खटपटले सरकार ढल्ने चर्चा भइरहेकै बेला उनले सरकार नढल्ने दाबी गरेका हुन् । ‘सरकार ढल्दैन, २०८४ सम्मै जान्छ,’ उनले भने, ‘तर सरकारको कमीकमजोरीलाई परिमार्जन गरेर लगिने छ ।’ स्मरणीय छ, द्विदलीय संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै संयन्त्रको बैठक बहिष्कार गरेका थिए । र उनै थापाले संयन्त्रमा कुनै छलफल हुन छाडेकोमा आपत्ति जनाउँदै बिचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पहुँच भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
बुढानीलकण्ठ बैठकमा सरकारको आलोचना भएको थियो । देउवाले सरकारकै पक्षमा बोल्न आग्रह गरे पनि नेताहरू भने सरकारको आलोचना गरेका थिए । संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनलगायतका विषयमा भएको कांग्रेस र एमालेबीच सहमतिका एजेन्डामा कुनै प्रगति नभएकोमा गुनासो गरेका थिए । सरकारविरुद्ध कांग्रेस नेताहरूले खुलेरै असन्तुष्टि व्यक्त गर्न थालेपछि गत मंगलबार प्रधानमन्त्री ओली र देउवा बीच छलफल भएको थियो । छलफलपछि बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र र दुई दलीय कार्यदलको बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएको थियो ।
यसैवीच, आगामी १७ वैशाखका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकअघि बसेको पदाधिकारीसहित मन्त्रीहरुको बैठकमा सरकारका कामकारबाहीबारे छलफल भएको थियो । सरकारमा कुनै समस्या छैन, २०८४ को चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ भनेर प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति देउवाले जसरी एउटै अभिव्यक्ति दोहोर्याउँदै आएका छन् त्यसले कुनै समस्या रहेको संकेत गर्छ । अहिलेको अवस्था कालु र बाघको कथासंग मेल खान्छ । बाख्रा चराउन जाँदा जहिले पनि बाघ आयो भनि कराएर छिमेकीलाई झुक्याएर दुःख दिने कालुको बानी थियो । एकदिन साच्चिकै बाघ आयो, कालुले गुहार गुहार गरी करायो । जहिले ढाट्ने, दुःख दिने कारण हैरान भएका छिमेकी त्यस दिन गएनन् । बाघले कालुका सबै बाख्रा खायो । सरकार ढल्दैन भनेर कांग्रेस एमालेले कार्यकर्तालाई आश्वस्त पार्दै आएता पनि कालु र बाघको कथा जस्तै एक्कासी सरकार ढलेमा कुनै आश्चर्य नमाने हुन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...
कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...
धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...