
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर एउटा प्रमुख कारण भएता पनि कांग्रेसभित्रको आन्तरिक कलह अर्को प्रमुख कारण हो । हुन त लोकतान्त्रिक परम्पराको धरोहर मानिने कांग्रेसले इतिहासमा पटक–पटक यस्ता आन्तरिक मतभेद नआएका होइनन् । तर पनि पछिल्ला वर्षहरूमा देखिएको गुटगत खिचातानी, नेतृत्वप्रतिको अविश्वास र नीतिगत अस्पष्टताले पार्टीको साखमा मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाएको छ ।
कांग्रेस जस्तो जीवन्त लोकतान्त्रिक दलभित्र कहिले काँही नीतिगत विवाद हुनुलाई स्वाभाविकै मान्न सकिन्छ । ठूलो र बहुआयामिक पार्टीमा कहिले काँही यस्ता विवाद हुन्छन् नै । निर्णय प्रक्रियामा पारदर्शिता नहुनु, अवसरको न्यायोचित वितरणमा असन्तुलन तथा विचारभन्दा व्यक्तिप्रति केन्द्रित राजनीतिका कारण कांग्रेसभित्र असन्तुष्टि चुलिएको थियो । यी यस्तै असन्तुष्टीका बीच गत भदौ २३ र २४ को जेन जी विद्रोहपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस शुरु भएको थियो । पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवामाथि समयको माग अनुसार समयमै १५ औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नका लागि नयाँ पुस्ताले दवाव सिर्जना गरेको थियो । तर देउवा समयमै महाधिवेशन गर्न तयार भएनन् । फागुन २१ को निर्वाचनपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी १५ औं महाधिवेशनका लागि दवाव सिर्जना गरे । तर देउवा महाधिवेशन गर्न तयार भएनन् ।
जसको परिणाम पुस अन्तिम साता राजधानीको भृकुटीमण्डपमा भएको विशेष महाधिशेनबाट थापा सभापतिमा चयन भए । त्यसपछि को आधिकारिक भन्ने विवाद निर्वाचन आयोग हुदै सर्वोच्च अदालत सम्म पुग्यो । निर्वाचन आयोगले थापालाई आधिकारिकता दिएपछि उनैको हस्ताक्षरमा निर्वाचनका टिकट बितरण गरिएको थियो । निर्वाचनमा भएको पराजयपछि बल्झिएको विवादमा सर्वोच्चले शुक्रबार थापाको कार्यसमितिलाई आधिकारिक मान्यता दिएसंगै आन्तरिक विवाद मत्थर हुन पुगेको छ । तर पनि भावनात्मक एकताका लागि नेतृत्वको भूमिका महत्वपूर्ण हुन जान्छ । त्यसका लागि दुवै समूह बसेर आत्मसमिक्षा गर्नु पार्टा र लोकतन्त्रको भविश्यका लागि आवश्यक देखिन्छ । नेतृत्वले आलोचनालाई स्वीकार गर्दै संवादको वातावरण बनाउनुपर्छ भने असन्तुष्ट पक्षले पनि पार्टी संरचनाभित्रै बसेर समाधान खोज्ने प्रतिबद्धता जनाउनु पर्छ । सार्वजनिक रूपमा एकअर्कालाई आरोप–प्रत्यारोप गर्नु भन्दा आन्तरिक छलफल र सहमतिको बाटो खोज्नु नै बुद्धिमानी निर्णय हुनेछ । युवा पुस्तालाई अवसर दिने तथा पुराना पुस्ताका नेताहरूको अनुभवलाई सदुपयोग गर्दै वैचारिक स्पष्टताका साथ अघि बढ्दा भोलिका दिनमा कांग्रेसले गुमेको जनमत फर्काउन सक्छ ।
निर्वाचनपछि देशको भबिश्य कस्तो होला भन्ने सर्बत्र चिन्ता र चासो देखिएको छ । यस्तो बेलामा कांग्रेसले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नका लागि सबैभन्दा पहिला त पार्टीभित्र एकता हुनुपर्छ । राजनीतिक स्थिरता र सशक्त लोकतन्त्रका लागि कांग्रेसको एकता जरुरी छ । यस्तो अवस्थामा प्रमुख लोकतान्त्रिक शक्तिको रूपमा रहेको कांग्रेस कमजोर हुनु देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ । त्यसैले, आन्तरिक विवादलाई अब थप लम्ब्याउने होइन, समाधान गर्ने दिशातिर अघि बढ्नुपर्छ । तसर्थ, आम कांग्रेसजनले बुझ्नुपर्छ कि विभाजनले क्षणिक लाभ दिएता पनि दीर्घकालीन क्षति पु¥याउँछ । त्यसैले दुवै पक्षले वृहत्तर एकताको बाटो पैल्याउनु नै अहिलेको प्रमुख दायित्व हो ।
१. सर्वोच्चको आदेश पालना नेपाली कांग्रेसको आन्तरिक तथा घरायसी विवाद अदालतसम्म पुगेको थियो । २०८२ साल मंसिरभित्र गर्नुपर्ने नियमित अधिवेशन...
काठमाडौं । नेपाली कांग्रेसका दुई खेमामध्ये कुन चाहिँ आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई...
काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते...