राजनीतिक नैतिकताको जगमा जसरी पनि उभिनु पर्ने होइन र ? – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

राजनीतिक नैतिकताको जगमा जसरी पनि उभिनु पर्ने होइन र ?

१.राजनीतिमा नैतिकता
नैतिकता भनेको परम्परागत आचरण हो । कति आचरण सांस्कृतिक धरोहरका रुपमा अपनाइने चलनलाई भनिन्छ भने कति आचरण समय, परिस्थितिजन्य पनि हुन्छन् । राजनीतिमा आचरण भनेको सिद्धान्तसँग जोडिएको परम्परा हो । राजनीतिलाई सिद्धान्तले डो¥याएको हुन्छ भने निश्चित सिद्धान्त मान्नेहरुको आफ्नै आचरण तयार गरिएको हुन्छ । तर राजनीतिमा अपनाइने र अभ्यासमा ल्याइने आचरण भनेको सिद्धान्त, अभ्यास र परम्पराले निर्देशित गरेको हुन्छ ।

लोकतन्त्रको आफ्नै स्थापित आचरण हुन्छ तर कति आचरण प्रचलनमा त्यति आएका हुँदैनन् । जब समय आउँछ, सहज तरिकाले राजनीतिको डुङ्गा पार लगाउन गाह्रो हुन्छ, जटिल समस्या आउँछ, त्यतिबेला राजनीतिमा संविधानका विभिन्न धाराहरु र ती धाराहरुका, उपधाराहरुका आधारमा तयार गरिएका कानुन, यसभन्दा अघि प्रचलनमा आएका परम्पराका आधारमा राजनीतिले नैतिकताको खोजी गरेकाmे हुन्छ । त्यसैलाई नैतिकताको पालना, स्वच्छ राजनीतिक वातावरणको आधारमा आचरण पालना हुनुपर्ने भनेर मानिन्छ । त्यसैले राजनीतिलाई सबै नीतिहरुको उपल्लो नीतिका रुपमा मानिने गरिन्छ । राजनीतिको मुख्य आचरण भनेको नै सिद्धान्तको आधारमा नीति तयार गर्ने र त्यसको आधारमा गरिने सहज कामलाई नै राजनीतिमा नैतिकता भनेर भनिएको हो ।

२. नेपालको परिप्रेक्ष्यमा वर्तमानको राजनीतिक नैतिकताको मापन
जसरी खगोलको शून्य अवस्थामा वा अन्तरिक्षमा झुण्डिएका अर्बौँ पिण्डहरु आपसमा आफ्ना आफ्ना गुरुत्वाकर्षणका कारणले कहिले कहिलेदेखि चलिरहेका छन्, त्यो शून्य अक्षमा निर्जीव पिण्डहरुको परिक्रमामा एउटा संगति छ र त्यो संगतिमा लय छ, लयसँगै अलिखित अदृश्य परम्परा छ, त्यही नै प्रकृतिको नैतिकता हो । त्यस्तै राजनीतिको एउटा पाटो भनेको समाजले निर्धारण गरेको खुकुलो तर नियमबद्ध परम्परा हो, जसलाई संविधान भनौँ या कानुन नियम विनियम भनाँै कृत्रिमरुपमा चलाएका हुन्छौँ । तर ती नियमहरुको अभ्यास गर्दा प्रचलित लयभन्दा फरक तरिकाले गर्न खोज्दा त्यहाँ नयाँ नयाँ विकृतिहरुको जन्म हुन्छ र ती विकृतिहरुले जन्माउने अन्य विकृतिहरुको कल्पना न त संविधानले गरेको हुन्छ, न त संविधानमा टेकेर बनाइने कानुनमा राखिएको हुन्छ ।

खासगरी नयाँ संविधानको घोषणासँगै परम्परागत मान्यता र राजनीतिमा नयाँ विकृतिले यसरी जरा गाडेको छ कि राजनीतिमा नैतिकता भनेको के हो भनेर नयाँ परिभाषाको जरुरत परेको छ । नेपालको वर्तमानको राजनीतिक परिप्रेक्ष्यमा राजनीतिमा किन चाहियो नैतिकता भनेर सोच्न बाध्य पारेको अवस्था छ । राजनीतिक नैतिकताको मापन भनेको सत्तामा नागफणी बाँधेर कब्जा गर्नुबाहेक अरु केही पनि होइन भनेर नयाँ भाष्य तयार भएको छ । भवितव्यबाहेक, ठुला ठुला राजनीतिक दुर्घटनामा बाहेक राजनीतिक नैतिकता प्रजातन्त्रमा खुला हुन्छ र त्यसमा नैतिकताको मापन भनेको पनि परम्परागत अभ्याससँगै जनताका नयाँ नयाँ आशा अपेक्षा पूरा गर्ने संयन्त्रको नयाँ परिचालन भन्ने बुझ्नुपर्ने हुन्छ ।

३.२०७४सालको आम निर्वाचन पछिको अवस्था
त्यस्तो राजनीतिको नयाँ अध्याय संविधान सभाले बनाएको नयाँ संविधानसँगै गणतन्त्रमा आउला भनेर अपेक्षा गर्नेहरुलाई अहिलेको राजनीतिमा नैतिकताको ह्रास भएको देखेर दिक्क लागेको छ । झनझन राजनीति नैतिकतामा सबलता आउला भनेर कल्पना गर्नेहरुका लागि निराशा उत्पन्न गराएको छ । २०७४सालको आम निर्वाचनपछिका सरकारहरु बन्ने, बिग्रने र तिनको सञ्चालन, तिनले गर्ने सत्ता कब्जालाई नै हामीले राजनीतिक नैतिकताको तराजुमा तौलिने हो भने इतिहासको यो कालखण्डको भावी दिनमा कसरी, कस्तो मूल्याङ्कन गरिएला भन्ने डर लाग्न थालेको छ ।

४.समानुपातिकताले देखाएको निराशा
समानुपातिक प्रतिनिधित्वको संसदको कल्पनाले सबैले सत्तामा, संसदमा आफ्नो वर्ग र क्षमताको प्रतिनिधित्व भएको प्रत्याभूत गरिने हो तर जुनप्रकारले प्रतिनिधित्वका लागि मनोनयन भएको छ र संसदमा त्यसको परिणाम देखिन थालेको छ , त्यसलाई कस्तो राजनीतिक नैतिकताको रुपमा हेर्ने ? संसदमा सबैभन्दा ठुलो दलले समर्थन गर्नुपर्ने तर त्यो दलको न प्रधानमन्त्री हुने, त सभामुख हुने, न उपसभामुख हुने अर्थात् संवैधानिक परिषद्मा उसको प्रतिनिधित्व नरहने अनि संसदभित्रको अपजस उसले बोक्नुपर्ने ?

५. र अन्त्यमा, राजनीतिक नैतिकताको जगमा उभिएर…..
संसदीय प्रजातान्त्रिक प्रणालीमा ठुलो दलले सरकारको नेतृत्व गर्नुपर्ने, त्यो भन्दा मुनिको दलले प्रतिपक्षको भूमिका निर्बाह गर्नुपर्ने, यदि ठुलो दलले संसदमा वहुमत पु¥याउन नसक्दा अरुले सहयोग गरेर सरकारलाई स्थिरता प्रदान गर्नुपर्ने हो । २०७९को आम निर्वाचनपश्चात् नै सरकारको साँचो जसरी पनि आफैँ लिने प्रतिस्पर्धाले ल्याएको राजनीतिक विकृतिले जुन नकारात्म चरम रुप लियो, त्यसको परिणामको उपज हो अहिलेको विकृति । राजनीतिक विकृति । त्यसको पछिल्लो परिणाम हो निजामती सेवाको नयाँ कानुनका राखिएको कुलिङ्अफ पिरियडसम्बन्धी प्राबधानमा छेडखानी ।

कानुन कसरी बन्ने रहेछन् र कसरी जनता रनभुल्लमा पर्ने गरी काइते कानुन बनाइँदो रहेछ भन्ने उदाहरण ताजा छ । यदि राजनीतिमा नैतिकताको खडेरी यसैगरी कायम गरे प्रजातन्त्रप्रति नै वितृष्णा बढ्ने छ र अन्ततः नेपालबाट प्रजातान्त्रिक नैतिकता भनेको जालझेल, सत्ता कब्जा, आपसमा ठग्ने प्रवृत्ति भन्ने बुझिने छ, त्यही नै परम्परा बन्ने सम्भावना छ । बेलैमा सुधार गर्न सकिएन भने प्राप्त परिणाम पानीको फोकाझैँ बिलाएर जाने सम्भावना बढेको छ । त्यसैले राजनीतिक नैतिकताको अभ्यासगत परम्पराको आचरणलाई सक्रियताका साथ पालना जरुरी छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतले बोल्यो,अब दलभित्र एकताको मौसम आवश्यक पर्छ
सर्वोच्च अदालतले बोल्यो,अब दलभित्र एकताको मौसम आवश्यक पर्छ
  • २०८२ श्रावण २७, १४: १२

१. सर्वोच्चको आदेश पालना नेपाली कांग्रेसको आन्तरिक तथा घरायसी विवाद अदालतसम्म पुगेको थियो । २०८२ साल मंसिरभित्र गर्नुपर्ने नियमित अधिवेशन...

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०८२ श्रावण २७, १४: १२

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...

समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ
समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ
  • २०८२ श्रावण २७, १४: १२

  १. बालेन्द्र शाहको सरकार गठनसँगै नयाँ विवादहरुको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतातथा संसदीयदलका नेताबालेन्द्र शाहनेपालको संविधानको धारा ७६.१अनुसार...