गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म – Naya Bikalpa
February 25, 2026, Wednesday      Epaper

गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म

गोरखा : नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखा–२ को विकासका लागि आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

विस २०७४ सालमा गोरखा क्षेत्र नं २ को प्रदेश (ख)बाट निर्वाचित भएर गोरखाको विकासमा उल्लेख्य योगदान दिएका दवाडीले यही मंसीर २१ गते हुने निर्वाचनका लागि आफ्नो गृहक्षेत्र चोरकाटेमा पत्रकार सम्मेलन गरी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

उनले भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अनुरूप राज्यका सबै तहहरूमा भ्रष्टाचारजन्य गतिविधिहरूलाई निस्तेज गर्न नीतिगत र संरचनागत सुधार गर्ने कानूनी व्यवस्था गर्ने बताएका छन् ।

दवाडीले सांसदले प्राप्त गर्ने सरकारी सेवा सुविधा सामाजिक सेवामा उपयोग गरिने र सांसदको हैसियतमा वर्षिक रूपमा गरेको कामको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । इ गभर्नेन्स, इ फाइनान्स र इ म्यानेजमेन्टजस्ता डिजीटल प्लेटफर्महरूको उपयोग गरी सुशासनको प्रत्याभुती दिइने उनको भनाई छ ।

उनले निर्वाचन क्षेत्र भित्रका महत्वपूर्ण रणनीतिक आयोजना तथा पूर्वाधार निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल तथा परामर्श गरी आयोजना छनोट गर्ने पद्धतिको विकास गरिने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो क्षेत्रभित्र रहेका ३८ वटै वडा कार्यालयसम्म जाने मुख्य सडकहरू ५ वर्षभित्र स्तरोन्नति गर्दै कालोपत्रे गरिने, निर्माणका क्रममा रहेका र अलपत्र परेका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न दृढतापूर्वक लागिने उनले बताए ।

गोरखा नगरपालिका र अन्य पालिकाहरूलाई व्यवस्थित गर्न सडक, खानेपानी र ढल निकासलाई व्यवस्थित गर्दै डिजिटल सेवा सुचारु गर्न पहल गरिने, निर्वाचन क्षेत्रभित्रका खेलमैदानलाई व्यवस्थित गरी राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने र खेलाडीहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्थाका लागि आवश्यक कार्य गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

उनले स्कुल, कलेजहरूको गुणस्तर वृद्धिमा आवश्यक पहल गरिने, प्रत्येक गाउँपालिकामा मेघा विद्यालय स्थापनाका लागि पहल लिइने, हरेक माध्यमिक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहसँग सहकार्य गरिने उल्लेख छ ।

निर्वाचन क्षेत्रभित्र गुणस्तरीय सञ्चार तथा इन्टरनेट सेवा विस्तारका लागि पहल गरिने, नैतिक शिक्षाका माध्यमबाट नेपाली समाजको इतिहास, धर्म, संस्कार, संस्कृति, सभ्यता, मानवता, परोपकार र सामाजिक सद्भावसहितको सभ्य समाज निर्माण गर्न नीतिगत पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यसैगरी, विपन्न स्वास्थ्य सेवा कोषको व्यवस्था गरी बाल स्वास्थ्य, ज्येष्ठ नागरिक, विपन्न, शारीरिक रूपमा अशक्तहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाइने, स्वास्थ्य बिमालाई सरल, सहज र प्रभावकारी रूपमा लागु गरिने बताइएको छ । प्रसूति तथा अन्य आकस्मिक स्वास्थ्य सेवा तथा रिफरका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने उनको भनाई छ ।

दवाडीले आँपपिपल अस्पताल र निर्वाचन क्षेत्रभित्रका सबै प्राथमिक स्वास्थ्य केन्द्रहरू, हेल्थपोष्ट र स्वास्थ्य इकाइहरूको स्तरोन्नति गरी सेवा बढाइने बताए ।

मुटुरोग, क्यान्सर, दम, खोकी, मधुमेह, मानसिक रोग जस्ता समाजमा व्याप्त रहेका नसर्ने रोगहरू दीर्घ रोगहरूको गाउँटोलमा नियमित जाँचपडताल सहितको स्क्रिनिङ सेवाको माध्यमबाट समयमा नै रोगको पहिचान, रोकथाम र उपचारको व्यवस्था मिलाइने बताइएको छ ।

सुरक्षित खानपानका लागि शुद्ध पानीको व्यवस्था गरिने र पानीको मुहानबाटै शुद्धताका लागि ल्याब परीक्षण गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । यसैगरी, जमिन बाँझो नराख्न प्रोत्साहित गरी स्थानीय निकाय र प्रदेश सरकारको समन्वयमा ठोस नीतिगत व्यवस्था गर्न आवश्यक पहल गरिने बताइएको छ ।

निर्वाचन क्षेत्रभित्रका खेतीयोग्य जमिनको पहिचान गरी माटो परीक्षण गर्ने र माटो सुहाउँदो उच्च मूल्य भएको अलैँची, अदुवा, बेसार, टुसा, जौ, कफी, टिमुर, आलु, उखु, अमिलो जातका फलफुल (सुन्तला, निबुवा र कागती), जैतुन खेती, लिची, आँप, केरा खेती र स्याउ खेती लगायत नगदे बालीको पकेट क्षेत्र विस्तार, भण्डारण, बजारीकरणको व्यवस्था गरी किसानको आयआर्जनमा वृद्धिका लागि काम गरिने बताइएको छ ।

प्रतिबद्धतापत्रमा मानव–वन्यजन्तु (बाँदर, बाघ, हरिण, मृग आदि) सहअस्तित्व कायम गरी राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने लगायतका विषयमा नीतिगत व्यवस्थाका लागि पहल गरिने उल्लेख छ । यसैगरी, दरौँदी, मर्स्याङ्दी, चेपे जस्ता नदीहरूमा नदी नियन्त्रण आयोजना मार्फत दायाँवायाँको भू–भागलाई संरक्षण गरी कृषि उत्पादनमा पहल गरिने बताइएको छ ।

वैदेशिक रोजगारीमा गएका गोरखा क्षेत्र नं २ बासी, जो नेपाल फर्कन चाहन्छन् उनीहरूलाई सहुलियत ऋण उपलब्ध गराउन नीतिगत व्यवस्थाका लागि पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाको माथिल्लो भेगमा पाइने निगाला तथा बाँसजन्य वनस्पतिहरूको परम्परागत तथा आधुनिक समग्री निर्माण गरी व्यावसायीकरण र उचित बजारीकरण गरिने बताइएको छ ।

यसैगरी, लोपोन्मुख ताल तलैया, पोखरी, कुवा संरक्षण तथा नयाँ पुनर्भरण, पोखरी निर्माण गरी भूमिगत सिंचाईँ तथा खानेपानीको व्यवस्थाका लागि पहल गरिने बताइएको छ । क्षेत्रभित्र रहेका विभिन्न खेतीयोग्य टारमा केन्द्रीय स्तरको सिंचाईँ आयोजनाहरू सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिने प्रतिवतापत्रमा उल्लेख छ । निर्वाचन क्षेत्रभित्रका सबै परिवारलाई सहज रूपमा गुणस्तरीय विद्युत सेवा विस्तार गरिने उनको भनाई छ ।

प्रतिवद्धतापत्रमा निर्वाचन क्षेत्रमा रहेका विभिन्न कोट तथा आध्यात्मिक स्थललाई व्यवस्थित गरी योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्न पहल गरिने उल्लेख छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका हुँदै लमजुङको दुधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्धहिमाल हिमालचुली ग्रेट लेक सर्किट’ को विकास गरी युवाहरूलाई रोजगारसँग जोडिने बताइएको छ ।

सौरपानीको घुन्चोक पोखरीलाई पुनर्जीवन दिन आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिने घोषणापत्रमा बताइएको छ । सिरानडाँडा, निम्चेपोखरी, नागेपोखरी, दुधपोखरी र सिरानडाँडा, नागेपोखरी, नारदपोखरी, रुविनाला जाने मनास्लु पदमार्ग निर्माण गरिने बताइएको छ ।

वारपाक गाउँको पर्यटन प्रवद्र्धन गर्न भित्री वस्तीरूमा मौलिक र परम्परागत पर्यटन क्षेत्रको विकास गरिने, ऐतिहासिक सीतागुफालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न आवश्यक कार्य गरिने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रहरूमा पुग्न स्थानीय बासिन्दाहरूको सहजताका लागि पदमार्ग निर्माण गरिने बताइएको छ ।

यसैगरी, गोरखकाली रबर उद्योगसम्बन्धी प्राप्त विभिन्न अध्ययन प्रतिवेदनका सुझावहरू कार्यान्वयनको लागि पहलकदमी लिइने, ग्याजी तामाखानी अध्ययन गरी सञ्चालन तथा उत्खननका लागि आवश्यक पहल गरिने, विभिन्न किसिमका बहुमूल्य जडिबुटीको प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिने बताइएको छ । स्लेट खानी (मार्वल) पहिचान गरी उत्खनन तथा निकासीका लागि आवश्यक नीति निर्माण गर्न पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
  • २०८२ फाल्गुन १३, २०: ४०

काठमाडौं : नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी...

नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
  • २०८२ फाल्गुन १३, २०: ४०

जनकपुर : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३...

कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको – अल द बेष्ट
कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको – अल द बेष्ट
  • २०८२ फाल्गुन १३, २०: ४०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको...