
१.निर्वाचनको परिणाम आउने क्रम जारी
जस्तो अवस्थाको परिणामका कारणले भए पनि २०८४सालको नियमित आम निर्वाचन २०८२साल फागुन २१गते सम्पन्न भयो । यसका लागि नेपाल सरकारको तयारी, निर्वाचन आयोगको तदारुकताका साथ गरिएको व्यवस्थापन र मतदाताहरुको आफ्नो निर्णय गर्ने परम्पराको निरन्तरता यसपटक पनि दोहोरियो । प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन मतगणना बेलैमा सम्पन्न गरी परिणाम पनि प्राप्त भइसकेको अवस्था छ । यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६वटा दलहरुलाई राष्ट्रिय दलको मान्यता दिएको छ । स्मरणीय छ, समानुपातिकमा कुल खसेको मतको सदर मतको ३ प्रतिशत आवश्यक छ र सँगै एकजना प्रत्यक्षमा पनि जितेको हुनुपर्र्ने बाध्यता छ । प्रत्यक्षमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८,श्रम संस्कृतिले ३ र राप्रपाले १ स्थान जितेका छन् । समानुपातिकतर्फ रास्वपाले ५७, नेकांले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४स्थान पाएका छन् ।
यसरी अब रास्वपाको १८२, नेकांको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७ र राप्रपाको ५ भएको छ । एक स्थानमा म्याग्दीबाट महावीर पुन विजयी हुनुभएको छ । यसरी २७५स्थान भरिएको देखिन्छ । यी हरफ लेख्दासम्म एमालेले आफ्ना १६जनाको नाम सार्वजनिक गरेको छ र अरु दलहरुले छान्दै छन् बन्दसूचीमा रहेकामध्येबाट । पठाएका या छानेका नामहरुमा निर्वाचन आयोगको सूत्र अनुसार भए नभएको निक्र्यौल गरेर आयोगले अन्तिम निर्वाचन प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष बुझाउने छ । अनिमात्र संसदीय दलहरुको बैठक बसी आफ्ना नेताहरु छान्न पाउने छ । यसपटक एकल दल रास्वपाको वहुमत भएको संसदीय दलको नेताको नाम आधिकारिकरुपमा सार्वजनिक भएपछि सम्माननीय राष्ट्रपतिले प्रधानमन्त्रीमा मनोनयन गर्नु हुनेछ । करिब चैत्रको पहिलो हप्ताभित्र यो प्रक्रिया चलिरहने छ र दोस्रो हप्ताको पहिलो या दोस्रो दिनमा नयाँ सरकारले शपथ ग्रहण गर्नेछ । यसमा स्पष्ट नै छ, प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेपालको नयाँ प्रधानमन्त्री हुनुहुनेछ ।
२.नेकांभित्रको अवस्थाको समीक्षा..
निर्वाचनमा आएको अनपेक्षित परिणामपछि नेपाली कांंग्रेसमा दुईवटा कुरा विवादमा आएको छ— यो परिणामको उत्तरदायित्व कसले लिने ? एकथरी भन्छन्, विशेष अधिवेशनबाट आएको नयाँ नेतृत्व, सभापति गगनकुमार थापाले यसको उत्तरदायित्व लिनुपर्छ र नैतिकताका आधाारमा तत्काल राजीनामा दिनुपर्छ । अर्कोथरी भन्छन्—यदि यो नेतृत्वले निर्वाचनमा भाग नलिएर पुरानै नेतृत्वले निर्वाचनमा भाग लिएको भए यति पनि आउने थिएन र सायद कसैले पनि जित्थ्यो । पुरानै नेतृत्वको गल्तीको परिणाम नै आजको नतिजा हो र पनि जनतासम्म जाने बाटो सभापति गगन थापाको प्रयासले यतिसम्म सम्भव भयो जवकि समय छँदै थिएन । तर एउटा कुरा भने स्पष्ट देखियो, टिकट नपाउने पुराना नेता र पहिलेको नेतृत्वका पक्षधरहरु भनेर आफूलाई चिनाउने हाल पनि पदीय दायित्व रहनु भएकाहरुले भने निर्वाचनमा सक्रियता नदेखाएको नै हो । नैतिकता भनेको आफूमा निहित धारणा हो र समयको पदचाप भनेको आफैँले महसुस गर्ने कुरा हो । समयले परिणाम त दिने नै भयो ।
यसमा नेपाली कांग्रेसमा निष्पक्षताका साथ समीक्षा जरुरी छ र त्यसबाट आउने परिणामलाई आगामी रणनीति बनाउनु आवश्यक छ भन्ने राजनीतिक पर्यवेक्षकहरुको धारणा छ । के पनि सत्य हो भने आजका सभापति गगन थापा यसअघि पनि महामन्त्री हुनुहुन्थ्यो र सभापति शेरबहादुर देउबाको नेतृत्वमा पार्टी सञ्चालन गरिरहनु भएको थियो । संसदमा एकाध सांसदहरुले दलको भावना व्यक्त गर्नेमा तत्कालीन माननीय गगन थापा खरोसँग प्रस्तुत हुनुहुन्थ्यो । अहिले के पनि स्पष्ट भएको छ भने कार्यकर्ताले मात्र होइन, आम मतदाताहरुले पनि गठबन्धन संस्कृतिप्रति वितृष्णा राखेकै हुन् र गठबन्धन गरेर एकअर्कालाई पछार्ने, उठाउने, उचाल्ने पात्रहरुलाई छानी छानी हराएकै हुन् । दल भनेको सामूहिक र एकल व्यक्तित्वको सम्मिश्रण पनि हो । नेकांको अवस्था भनेको पुननिर्माणको अवस्था हो जसले हिउँमा छोपिएको दुबोको मल त्यही हिउँ पग्लेर आउने पानी नै हुन्छ भनिन्छ । प्रजातन्त्रका मूलभूत सिद्धान्तप्रतिको प्रतिबद्धतालाई जहिले पनि नेतृत्वले व्यावहारिकरुपमा समेत स्वीकार गरी अगाडि बढ्नु आवश्यक छ । नेतृत्व त आगामी नियमित अधिवेशनले छान्ने छ अर्को चार वर्षका लागि ।
एउटा निर्वाचन पर्यवेक्षकका आँखामा रास्वपाको संगठन, ब्रान्डभन्दा काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाहको नेतृत्वप्रति विश्वास गर्ने जनमत धेरै देखियो । जनताको आदेशलाई शिरोपर गरी आगामी रणनीति र संसदमा सक्रिय , सकारात्मक अनि रचनात्मक विपक्षको भूमिकामा नेपाली कांग्रैस, एमाले र श्रम संस्कृतिको भूमिका हेर्न चाहेका छन् नेपाली जनताले । नेपाली कम्युनिस्ट पार्टीका बारेमा जनताको धारणा अवसरवादी नेताहरुको जमघट जस्तो मानेका छन् किनभने अघिल्लो संसदमा तत्कालीन नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री भइरहनका लागि गरेका गठबन्धनलाई देखाउँछन् । अनि नेकां र एमालेको दुई तिहाईको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको देखेका छन् ।
३.र अन्त्यमा, आगामी सरकारका बारेमा
अहिलेसम्मको राजनीतिक विकासक्रम हेर्दा भावी प्रधानमन्त्री बालेन्द्र शाह नै हुनुहुनेछ । त्यो सरकार रास्वपाको एकल सरकार हुनेछ । जुनजुन बाचा गरेर निर्वाचन जितिएको हो, तीती बाचा एकएक गरी पूरा गर्दै जानु आवश्यक छ । कुनै पनि प्रजातान्त्रिक सरकारका लागि १०० दिन उसका कामहरुको सुरुवात गर्ने समय मानिन्छ र त्यसैलाई मधुमास भनिएको छ अर्थात हनीमुन पिरियड । संसदभित्रका विपक्षीहरु, नागरिक समाज र आम मतदाताहरुले हेर्ने भनेको प्रजातन्त्रका मानकहरुलाई सुरक्षा गर्दै जनसेवा गर्नु नै हो । निरन्तरको सजगता अबको पालो हाम्रो । हामी जनताको । त्यसैले नबन्दै नकारात्मक धारणा व्यक्त गर्नुपर्ने केही आवश्यक छैन । समयले सबैको परीक्षा लिएको हुन्छ र परीक्षापछि त परिणाम आउँछ नै ।
काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् ।ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् ।...
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो...
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) यतिबेला नयाँ सरकार...