
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित संवाद अभियान सुरु गरिएको बताएका छन्। सभापति थापाले पार्टीका सबै तहका नेता–कार्यकर्तासँग निरन्तर संवाद गर्दै बृहत्तर एकता निर्माणमा आफू सक्रिय रहेको बताएका छन्।
बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै १५औँ महाधिवेशनमा प्रवेश गर्ने लक्ष्य राखिएको स्पष्ट पारे। “सबै नेताहरूसँग संवाद गरिरहेको छु, सबैलाई समेटेर अघि बढ्छु,” उनले भने, “पार्टीभित्र मात्र होइन, वर्षौँदेखि कांग्रेसलाई मतदान गर्दै आएका समर्थकहरूको भावना पनि बुझ्न जरुरी छ।”
थापाले पार्टी सदस्यता र मत व्यवहारबीच स्पष्ट भिन्नता हुनुपर्ने धारणा राखे। उनका अनुसार क्रियाशील सदस्यले पार्टीको विधानअनुसार आचरण गर्नुपर्ने भएकाले चुनावमा अन्य दललाई मत दिन नहुने बताए। “यदि पार्टीको विचारसँग असहमति छ भने सदस्यता त्याग्न सकिन्छ, तर सदस्य भएर अर्को पार्टीलाई मत दिनु उचित हुँदैन,” उनले भने। यद्यपि आम मतदाताले आफ्नो स्वेच्छाअनुसार मतदान गर्न पाउने अधिकारमा कुनै हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो।

सभापति थापाले कांग्रेसलाई ऐतिहासिक सन्दर्भसँग जोड्दै पुनः सशक्त बनाउने लक्ष्य अघि सारे। उनले २००७ सालको जस्तो क्रान्तिकारी, २०४६ सालको जस्तो लोकप्रिय र २०७० सालको जस्तो भरोसायोग्य पार्टी बनाउने लक्ष्य दोहोर्याए। “देशलाई सम्हाल्न सक्ने शक्ति कांग्रेससँग छ भन्ने सन्देश दिनुपर्छ,” उनले जोड दिए।
निर्वाचनपछिको अवस्थाबारे बोल्दै थापाले हारप्रति निराश हुनुभन्दा भविष्यतर्फ केन्द्रित चिन्तन आवश्यक रहेको बताए। “हामीसँग दुई विकल्प छन्—चिन्ता गर्ने वा चिन्तन गर्ने,” उनले भने, “चिन्ताले दोषारोपण बढाउँछ, तर चिन्तनले समाधानको बाटो देखाउँछ।” उनका अनुसार कांग्रेस अहिले आत्मसमिक्षा गर्दै नयाँ कार्यदिशा तय गर्ने चरणमा छ।
उनले निर्वाचनको नतिजालाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै कहिलेकाहीँ देशको दीर्घकालीन हितका लागि पार्टीले हार स्वीकार्नुपर्ने अवस्था आउन सक्ने बताए। “हार–जित प्राविधिक विषय हुन्, तर लोकतन्त्रलाई सही ट्र्याकमा राख्नु महत्वपूर्ण हो,” उनले उल्लेख गरे।
विधिको शासन र पारदर्शितामा जोड दिँदै थापाले २०४८ सालयता सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्तिको छानबिन हुनुपर्ने धारणा राखे। दोषी ठहरिएमा त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको माग छ। “राज्यले अनुसन्धान गर्छु भन्छ भने प्रधानमन्त्रीदेखि लिएर पार्टी सभापतिसम्म सबैले सहयोग गर्नुपर्छ,” उनले स्पष्ट पारे।

उनले पार्टीभित्र वा बाहिर कसैले पनि अनुसन्धान प्रक्रियामा अवरोध गर्न नहुने भन्दै कांग्रेस विधिको शासनप्रति प्रतिबद्ध रहेको बताए। “यदि म स्वयं छानबिनको दायरामा परेँ भने पनि कसैले विरोध गर्नु हुँदैन,” उनले भने, “तर राज्य पक्षले पनि निष्पक्ष र पारदर्शी ढंगले प्रक्रिया अघि बढाउनुपर्छ।”
थापाले पछिल्लो समय सार्वजनिक भएको गौरी बहादुर कार्की आयोग को प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको टिप्पणी गर्दै हालै भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरे।
उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ पुस्ता, निष्क्रिय समर्थक तथा छुटेका मतदातालाई पुनः आकर्षित गर्नुपर्नेमा जोड दिए। विशेष महाधिवेशनको बहस समाप्त भएको उल्लेख गर्दै अब सम्पूर्ण ध्यान १५औँ महाधिवेशनको तयारीमा केन्द्रित गर्नुपर्ने उनले बताए।
सभापति थापाका अनुसार कांग्रेस अब हार–जितको गणनाभन्दा माथि उठेर देश र लोकतन्त्रको स्थायित्वका लागि जिम्मेवार ढंगले अघि बढ्नुपर्ने चरणमा प्रवेश गरेको छ।

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय रात्रिकालीन खेलमा नेपाल पाहुना टोली युएईसँग पराजित भएको छ। वर्षाले छोट्याइएको...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...